काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज घिमिरेले युनियनपे अन्तर्राष्ट्रियको क्षेत्रीय परिषद् बैठकमा नेपाल र दक्षिण एसियाको प्रतिनिधित्व गरेका छन् । कम्पनीका अनुसार यो प्रतिष्ठित मञ्चमा एसिया–प्रशान्त क्षेत्रका अग्रणी व्यक्तिहरू भेला भई डिजिटल भुक्तानीको भविष्य र क्षेत्रीय सहकार्यका विषयमा छलफल गरिएको छ ।
कार्यक्रममा घिमिरेले क्षेत्रीय सहकार्यलाई अझ गहिरो बनाउने र भुक्तानी प्रणालीबीच आपसी पहुँच र प्रयोग बढाउने आवश्यकतामा जोड दिएको कम्पनीको भनाइ छ । उनले सुरक्षित, समावेशी र जोडिएको भुक्तानी वातावरण निर्माणको महत्वबारे आफ्नो विचार प्रस्तुत गरे ।
कम्पनीका अनुसार प्रमुख कार्यकारी घिमिरेले अष्ट्रेलियाको कमनवेल्थ बैंक, डीबीएस बैंक लिमिटेड (सिङ्गापुर), र इन्टर्नेसनल फाइनान्स संस्थाका प्रतिनिधिहरूसँगै उच्चस्तरीय छलफलमा वक्ताको रूपमा सहभागी हुँदै नयाँ भुक्तानी प्रवृत्ति, सहकार्यका अवसरहरू, र एसिया–प्रशान्त क्षेत्रमा भुक्तानी प्रणालीको विकासबारे आफ्नो दृष्टिकोण राखेका छन् । यससँगै घिमिरेले एससीटीको तर्फबाट अन्य महत्वपूर्ण संस्थागत प्लेटफर्महरू पीसीआई सुरक्षा मापदण्ड परिषद् र एससीटी–युनियनपे बोर्डमा पनि निरन्तर प्रतिनिधित्व गर्दै आएका छन् । उनको सक्रिय सहभागिताले डिजिटल भुक्तानी क्षेत्रमा एससिटीको नेतृत्वलाई मजबुत तुल्याएको छ र नेपालसहित क्षेत्रीय स्तरमा नवप्रवर्तन, सहकार्य, र दिगो विकासप्रति कम्पनीको प्रतिबद्धतालाई थप प्रस्ट पारेको कम्पनीले जानकारी दिएको छ ।