धनगढी । सुदूरपश्चिममा नेताहरूका आलिसान महलमा तोडफोड र आगजनी गरिएको छ । भ्रष्टाचार गरेर बनाइएका आलिसान महलमा नयाँ पुस्ताको जेन–जी समूहले तोडफोड र आगजनी गरेको हो ।
मंगलबार ठूला नेता, केही जनप्रतिनिधि, राजनीतिक आडमा अकूत सम्पत्ति आर्जन गरेका व्यापारी लगायतका निवासमा समेत जेन–जी समूहले तोडफोड र आगजनी गरेको छ । यता कैलालीको अत्तरीया क्षेत्रमा रहेका पार्टीका कार्यालय, नेता, जनप्रतिनिधिका घर र गोदावरी नगरपालिकाको भवनमा पनि तोडफोड र आगजनी गरिएको छ ।
नगरपालिका कार्यालय ध्वस्त नै पारिएको छ । नगरपालिका कार्यालयभित्रै आगजनी गर्नुका साथै नगरपालिका परिसरमा रहेका मोटरसाइकलमा समेत आगजनी गरिएको छ । आगजनी र तोडफोडपछि नगरपालिका कार्यालय पूरै तहसनहस भएको छ ।
ठूलो संख्यामा रहेका जेन–जीहरूले गोदावरीमा एमाले नेता लेखराज भट्टको घर जलाएर ध्वस्त पारेका छन् । भट्टको घरभित्र रहेका सामान बाहिर फालेर पूरै घरमा आगो लगाएको हो । घर आगोले दनदनी बलिरहेको भए पनि आगलागी भएको लामो समयसम्म दमकल समेत पुग्न नसक्दा ठूलो क्षति भएको स्थानीयले बताए ।
यस्तै, गोदावरीका मेयर वीरेन्द्र भट्टको घरमा पनि आगजनी गरिएको छ । अत्तरीया बजारको घना बस्तीमा रहेको भट्टको घरमा तोडफोडपछि आगजनी गरिएको हो । यस्तै, गोदावरी नगरपालिकाका पूर्वमेयर हरिसिंह साउदको घरमा पनि तोडफोड गरिएको छ ।
गोदावरीको वडा नम्बर २ का वडा सदस्य देवराज भट्टको घरमा पनि तोडफोड गर्दै घरभित्र रहेका सामान बाहिर फालेर आगजनी गरिएको छ । सो समूहले नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ४ का सभापति वसन्त रोकायाको घरमा पनि तोडफोड गरेको छ ।
जेन–जीले अत्तरीयामा रहेका तीन ठूला पार्टीका कार्यालयमा पनि तोडफोड गर्नुका साथै कार्यालयमा रहेका फर्निचर र कागजातमा आगजनी गरेका छन् । अत्तरीयाको दुर्गा मन्दिर परिसरमा रहेको नेकपा माओवादी पार्टी कार्यालय, वन खेतमा रहेका नेपाली काँग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड गरिनुका साथै कार्यालयका सम्पूर्ण सामान जलाएर नष्ट गरिएको छ ।
अत्तरीया उद्योग वाणिज्य संघको कार्यालयमा पनि तोडफोड र आगजनी गरिएको छ । उता सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा दर्जनौँ संरचनामा आगजनी र तोडफोड भएको छ । सयौँको संख्यामा प्रदर्शनमा सहभागी जेन–जीले पार्टी कार्यालय, सरकारी कार्यालय र सवारीसाधनमाथि आगजनी गरेका थिए ।
प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नियन्त्रणमा लिएर तोडफोड सुरु गरेका उनीहरूले सरकारी कार्यालय निसाना बनाएका थिए । उनीहरूले प्रदेश प्रमुखको कार्यालयमा आगो लगाउँदै दुईवटा गाडी समेत जलाएका छन् । धनगढीकै टेम्पल रिसोर्टमा पार्किङ गरिएका आधा दर्जन सरकारी गाडीमा पनि आगजनी गरिएको छ ।
प्रदर्शनकारीहरूले सुदूरपश्चिम प्रदेशसभा सचिवालयको भवनमा प्रवेश गरेर त्यहाँ समेत आगो लगाइदिएका छन् भने मोटरसाइकल, फर्निचरलगायतका सामान जलाएका छन् । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोष तथा लेखा नियन्त्रण कार्यालयमा पनि तोडफोड र आगजनी गरिएको छ । उनीहरूले धनगढीमा रहेका नेकपा एमाले र नेपाली काँग्रेसको पार्टी कार्यालयमा समेत आगो लगाएका छन् ।
जेन–जी आन्दोलनका क्रममा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले धनगढीस्थित प्रदेश प्रमुखको कार्यालय परिसरमा प्रवेश गरी तोडफोड तथा आगजनी गरेका छन् । आन्दोलनकारीहरूले कार्यालयतर्फ अगाडि बढेर ढुंगामुढा गर्नुका साथै कार्यालयभित्र रहेका कागजात र सामग्रीमा समेत आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीका कारण कार्यालयमा रहेका महत्वपूर्ण कागजात र उपकरणमा क्षति पुगेको छ ।
आक्रोशित जेन–जीहरुले छानछानी सरकारी कार्यालयमा तोडफोड र आगजनी गरे पनि सुरक्षाकर्मी भने मुकदर्शक भएर हेर्न बाध्य भएका थिए । जिल्ला प्रशासन कार्यालयले दिउँसो साढे १२ बजेदेखि कर्फ्यु आदेश जारी गरेको भए पनि त्यसको कुनै प्रभाव पर्न सकेन । आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा समेत आगजनी गरेका छन् ।
जेन–जीको आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित घरमा आगजनी गरिएको छ । यसैबीच, कैलाली कारागारका सबै कैदीबन्दी निस्किएका छन् । आन्दोलनमा उत्रिएका जेन–जीसहितका प्रदर्शनकारीले कारागार कब्जा गरेपछि उनीहरू निस्किएका हुन् । सो कारागारमा केही समयअघि मात्रै दुई समूहबीच झडप भएको थियो । त्यतिबेला पनि कैदीबन्दीले नियन्त्रणमा लिएका थिए ।
जेन–जी समूहका युवाहरूले घोडाघोडी नगरपालिकाको कार्यालय पूर्णरूपमा तोडफोड गर्दे आगजनी गरेका छन् । त्यसको साथै वडा नम्बर १, २, ३ र ४ वडा कार्यालयमा आगजनी गरेका छन् । उनीहरुले नगरप्रमुख बस्ने निवास र प्रमुख प्रशासकीय अधिकृत बस्ने निवासमा तोडफोड गर्दै आगजनी गरेका छन् ।
कञ्चनपुरमा भएको जेन–जीको आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलको घरमा पनि तोडफोड आगजनी गरिएको छ । जेन–जी समूहले एमाले पोलिटब्युरो सदस्य समेत रहेका पूर्वमुख्यमन्त्री रावलको भीमदत्त नगरपालिका–६ ऐठपुरमा रहेको घरमा आगजनी तोडफोड गरेका हुन् । आन्दोलनकारीले भित्रै पसेर सामान तोडफोड गर्दै नाराबाजी गरेका थिए ।
यसैबीच, गृहमन्त्री रमेश लेखकको बेदकोट नगरपालिका–८ मा रहेको निवासमा पनि तोडफोडका साथै आगजनी गरिएको छ । डडेल्धुरामा पनि जेन–जीले दिनभरि प्रदर्शन गरेका थिए । जिल्ला प्रशासन कार्यालय घेराउ गरेका त्यहाँका प्रदर्शनकारीले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरूले एमाले पार्टी कार्यालयमा पनि तोडफोड गरेका छन् ।
उता दार्चुलामा पनि पार्टी कार्यालयमा तोडफोड र आगजनी गरिएको छ । बैतडीमा पनि जेन–जी पुस्ताले प्रदर्शन गरेका छन् । जेन–जी पुस्ताले गरेको आन्दोलनमा सरकारले गरेको दमनको विरोध गर्दै युवा विद्यार्थीहरु स्वस्फूर्तरुपमा प्रदर्शनमा उत्रेका थिए । त्यसैगरी, बुधबार पनि जेन–जी पुस्ताले जिल्ला प्रशासन कार्यालय कैलालीको भवनमा पनि आगो लगाएका छन् ।