काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जेन–जी’ आन्दोलनमा क्रममा भएका घटनाक्रमले नेपालमा लगानीको वातावरणमाथि गम्भीर असर परेको जनाएको छ ।
संघले एक विज्ञप्ति जारी गरी विदेशी र गैरआवासीय नेपालीको ठूलो लगानीलाई यस्ता घटनाले गम्भीर असर पारेको जनाएको हो । संघले लामो समयदेखि नेपालमा लगानी प्रवर्द्धन गर्दै आएको स्मरण समेत गराएको छ । यस्ता किसिमका घटनाले विदेशमा रहेका नेपाली र विदेशी लगानीकर्तालाई पनि निराश बनाएको विज्ञप्तिमा उल्लेख छ । काठमाडौंसहित देशभर गत सेप्टेम्बर ८ र ९ मा भएको ‘जेन–जी’ आन्दोलन र त्यसपछिका हिंसात्मक गतिविधिप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गम्भीर चिन्ता व्यक्त गरेको हो । संघका अनुसार प्रदर्शनका क्रममा र त्यसपछि देशभर सार्वजनिक सम्पत्तिमा भएको आगजनी, तोडफोड, हिंसा र लुटपाटका घटनाले विश्वभरका गैरआवासीय नेपाली समुदायलाई स्तब्ध बनाएको छ ।
बालुवाटारस्थित संघको मुख्य सचिवालय र संस्थापक अध्यक्ष उपेन्द्र महतोको निजी निवासमा आगजनी भएको घटनाले आफूहरू थप मर्माहत भएको संघले उल्लेख गरेको छ । संघले युवाहरूको चेतनशीलता र देशप्रतिको उत्तरदायित्वलाई सकारात्मकरूपमा ग्रहण गर्ने उल्लेख गर्दै, वर्तमान सरकारविहीन अवस्थाको शीघ्र अन्त्यको माग गरेको छ । संघले सार्वभौमसत्ता, लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार सुनिश्चित गर्दै संवादमार्फत समस्याको समाधान गर्न आग्रह गरेको छ ।
महाधिवेशन स्थगित
उपयुक्त परिस्थिति नबनेकाले अक्टोबर ११–१४का लागि तय गरिएको एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन आगामी छ महिनाभित्र गर्ने गरी स्थगित गरिएको संघले जनाएको छ । संघले नयाँ मितिमा हुने सम्मेलनमा सबै पक्षको सहभागिता सुनिश्चित गर्न अपील गरेको छ । साथै वर्तमान संकटको घडीमा गैरआवासीय नेपाली संघले विदेशमा रहेका सबै नेपालीलाई विगतका तिक्तता र आपसी मतभेद बिर्सेर मातृभूमिप्रतिको जिम्मेवारी बोकेर एकताबद्ध रूपमा अघि बढ्न आह्वान गरेको छ । संघले देशको समग्र पुनर्निर्माणमा आफू पनि सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ ।