दोलखा । जेन–जी प्रदर्शनमा दोलखाका दुई जना युवायुवतीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरूमा वैतेश्वर गाउँपालिका–८ की २६ वर्षीया स्वस्थानी खड्का र शैलुङ गाउँपालिका मागापौवाका २२ वर्षीय अभिषेक चौलागाईं रहेका छन् ।
वैतेश्वर–८ की खड्काको पोखरास्थित हिमालय अर्गनाइजेसनमा आन्दोलनकारीले गरेको आगजनीमा परेर मृत्यु भएको हो । उनी उक्त कम्पनीमा काम गर्दै आएकी थिइन् । उनको शवलाई बिहीबार काठमाडौं ल्याएर पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको वैतेश्वर–८ वडा अध्यक्ष शान्तबहादुर जिरेलले जानकारी दिए । वडा अध्यक्ष जिरेलका अनुसार आन्दोलनकारीले उक्त कम्पनीमा ढुङ्गामुढा गर्दै आगजनी गरेपछि स्वस्थानी घरमा फसेकी थिइन् ।
यता शैलुङका अभिषेकको भने जेन–जी आन्दोलनका क्रममा काठमाडौंमा गोली लागेर मृत्यु भएको थियो । सोमबार बिहान घरबाट निस्किएका अभिषेक बेपत्ता भएपछि खोजी गर्ने क्रममा बुधबार राति उनको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्मा फेला परेको पारिवारिक स्रोतले जनाएको छ । उनको टाउकोमा गोली लागेर क्षतविक्षत भएको पाइएको छ । महाराजगञ्जमा भएको आन्दोलनका क्रममा उनी गोली लागेर ढलेपछि शवलाई शिक्षण अस्पतालमा लगेर राखिएको थियो । भक्तपुरको दुवाकोट बस्दै आएका अभिषेक प्रहरी जवान दिनेश चौंलागाईका एक मात्र छोरा थिए ।
त्यसैगरी उक्त आन्दोलन परेर दोलखा अन्य चारजना घाइते भएका छन् । घाइते हुनेमा विनय काफ्ले, कुमार लामा, अनिल तामाङ र रुपेश कार्की रहेका छन् । तामाकोशीका विनय काफ्लेलाई गोली लागेको थियो । उनको काठमाडौंमा उपचार भइरहेको छ । जेन–जी आन्दोलनमा दोलखाका दुईसहित देशभरका ३४ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी घाइतेहुनेहरूको संख्या एक हजार तीन सय ६८ जना रहेकोे छ ।