यो संसारमा सधैँ समय एकैखालको हुने रहेनछ । समयको चक्र घुमिरहेजस्तै मानिसको जीवनमा पनि अनेक उतार–चढाव आउँदो रहेछ । आज मेरो चिज भोलि अर्काको हुने रहेछ । यो पद, प्रतिष्ठा, धन–दौलत अनि यो आफ्नै भनिएका माल–सम्मान सबै एकछिनको रहेछ । आज पाएको मान अनि सम्मान एकैछिनमै पनि गुमेर जाने रहेछ । आजको धन–दौलत त भोलि हातको मैलो हुने रहेछ । आजको स्वस्थ जीवन भोलि रोगको घर हुने रहेछ । हुने–खाने हुँदा आफन्त पनि आफ्नै हुने रहेछन्, अनि आफू कमजोर हुँदा टाढा हुने रहेछन् । आज घर–गृहस्थी सबै हुँदा पनि त्यही मानिस भोलि घरबारविहीन हुने रहेछन् । यो अनुहारको एकछिनको सौन्दर्य केही समयपछि कुरुप हुने रहेछ । त्यसैले एक किसिमले हेर्दा संसारमा सबै दिन उस्तै हुने रहेछ । प्रत्येक दिन एक इतिहास बन्ने गरी आउँदो रहेछ ।
आजको केही नहुने मानिस भोलि पद–प्रतिष्ठामा ठूलो मानिस वा धनवान् हुने रहेछ । आज सानो स्तरको मानिस भोलि ठूलो हुने रहेछ । तर यो मान–प्रतिष्ठा, धन–दौलत सबै कुरा क्षणिक रहेछन् । जीवनको यात्रा क्षणिक भएको जस्तै यी सबै कुरा पनि क्षणिक रहेछन् । समयसँगै अनेक परिवर्तन हुने रहेछन् । यहीअनुरूप नेपालमा पनि धेरै परिवर्तन भए । धेरै पटक राजनीतिक उथल–पुथल भए । राणा शासन, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र हुँदै नयाँ युवाको नयाँ आन्दोलन भयो । सोहीअनुरूप यही भदौ २३ गते अर्थात् ८ सेप्टेम्बरमा भएको ‘न्भल श्’ को आन्दोलनले कडा रूप लियो । यसले आजसम्म नभएको आन्दोलनको नयाँ रूप लियो । यस आन्दोलनले देशमा धेरै परिवर्तन हुने देखिएको छ र यसले धेरै धनजनको क्षति पनि भयो । अनाहकमा बालबालिकासहित धेरै मानिस मरे । यो अत्यन्तै दुःखद खबर हो । धन त भोलि आउला तर जानको क्षति कहिल्यै आउँदैन । बाबु–आमा र आफन्तलाई जिन्दगीभर शोक पर्यो । देशका सबै मानिस शोकमा डुबे । अत्यन्तै वीभत्स तरिकाले धेरैको ज्यान गयो । अन्तर्राष्ट्रियरूपमा नेपालमा भएको घटनाको चर्चा प्रमुख समाचार बन्यो । जेलहरू फुटाइए, कैदीहरू भागे, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालयदेखि राष्ट्रपति भवन जलाइयो । नेताको घर ध्वस्त भए । त्यसको साथै व्यक्तिगत घर–सम्पत्ति समेत जलाइयो र व्यावसायिक भवन, नगरपालिकाहरू तथा होटल र भाटभटेनी सुपर स्टोरसमेत जलाएको कारणले देशमा दोस्रो दिन एक किसिमको आतङ्कजस्तै भयो । यो सम्पत्ति, धनजन, घरबार जलाउने र मानिसलाई जिउँदै जलाउने कार्यले आम मानिस आतंकित भए । जेल फुटाउने, सरकारी भवन जलाउने, व्यापारिक सम्पत्ति र निजी घरहरूमा आगजनी गर्नेजस्ता अमानवीय तथा आपराधिक गतिविधिहरू आन्दोलनको नाममा अन्य अराजक तत्व वा असामाजिक समूहले गरेका हुन् भन्ने दाबी गरिएको छ । जेन–जीको तर्फबाट जारी वक्तव्यमा पनि आफ्नो आन्दोलन सुधार, समानता र शान्तिपूर्ण परिवर्तनको पक्षमा रहेको कुरा स्पष्ट गरिएको छ । यसरी हेर्दा, आन्दोलनकै नाममा अराजक गतिविधि गर्नेहरूको पहिचान छुट्टै गरेर छानबिन गर्नुपर्ने माग उठिरहेको छ । तर कसले यस्ता गतिविधि गर्यो त्यसको अनुसन्धान अत्यन्तै छिटो गर्नु आवश्यक छ ।
समयअनुसारको परिवर्तन मानिसले चाहन्छ तर हिंस्रक तरिका अपनाउनु जसले गरे पनि अमानवीय कार्य हो । मार्ने–मार्ने र जल्ने–जलाउने कार्य न त राज्यतर्फबाट हुनु ठीक हो न त जनताको पक्षबाट । आन्दोलन शान्त हुनुपर्छ । जङ्गली पारालाई ल्याउनु भनेको अन्तर्राष्ट्रिय स्तरमा घोर बदनामी हुनु हो । नेपाली वीर छन् तर देशलाई आगो लगाउने वीर कदापि स्वीकार्य हुने छैन । मानिस मरेर सत्ता हात पार्नु वा मानिस मरेर सत्ता टिकाउनु कहिँकतैबाट पनि स्वीकार्य हुने छैन । मानिस मरेर सरकारले गल्ती गर्यो वा सम्पत्ति जलाएर जुनसुकै आन्दोलनकारीले जलाए पनि त्यो अत्यन्तै अनुचित कार्य हो ।
नेपालमा कहिल्यै पनि राजनीतिक स्थिरता भएन । राजनीतिक आन्दोलन मात्रै भए तर देशमा विकास हुने परिवर्तन कहिल्यै भएन । जनताले सधैँ दुःख मात्र भोग्नुपर्यो । न त आम जनतालाई हुनेगरी जीवन–जिउने सुविधा पाए, न शिक्षा–स्वास्थ्यमा राम्रा सुविधा भए, न त ठूलो आर्थिक क्रान्ति नै भयो । भएका उद्योग–धन्दा सबै चौपट भए । रोजगारी र स्वरोजगारीसँगै व्यवसाय सबै अस्तव्यस्त भए । नागरिकको आवाज दबियो । संसारको विकास देशका युवाले देख्दै गए तर आफ्नै देश सधैँ दुःखमै डुबेको देखेर नै यो अवस्था आउनुको प्रमुख कारण हो । तर आन्दोलनको नाममा भएको कुनै पक्षको अनियन्त्रित भिडले गरेको भौतिक क्षति र आगजनीले देशमा भएको नोक्सानीको त मूल्यांकन गर्न सकिँदैन र यसलाई पुनर्निर्माण गर्न पनि नेपालकै बजेटबाट गर्नुपर्ने र त्यसका लागि उचित कालिगढ पनि नहुनाले हाम्रो कतिपय आफ्नै अस्तित्व नै खरानी भएको छ ।
यसको साथै अन्तर्राष्ट्रियरूपमा पनि नेपाल असफल देश, विकास हुन नसकेको देश र भ्रष्टाचार भएको देशमा सूचीबद्ध भएको छ । यसको दीर्घकालीन असर नेपालले धेरै समयसम्म भोगिरहनुपर्नेछ । त्यसको साथै महत्वपूर्ण भवन जलेपछि महत्वपूर्ण कागज पनि सँगै जलेका छन् । हाम्रो अस्तित्व यस्ता कारणले विस्तारै मेटिँदै छ । यो भयावह स्थितिले गर्दा आम जनता पनि अत्यन्तै त्रसित भएका छन् । सार्वजनिक सम्पत्ति जलाउनुको साथै व्यक्तिगत सम्पत्ति पनि जलाउने र आम जनताको घरमा पनि लुटपाट भएको कारणले गर्दा जनता अत्यन्तै त्रसित भएका छन् । बच्चाहरूको मनोविज्ञानमा पनि गम्भीर असर परेको छ ।
यसको साथै विदेशमा बस्ने नेपालीलाई पनि देशको चिन्ताले धेरै सताएको छ । धेरै कुरा परिवर्तन भए पनि नेपालको छवि विश्व समुदायमा धमिलिएको छ । अब यसलाई जोगाउनु हाम्रा युवाको कर्तव्य हो । बेलामा सोचौँ अनि अगाडि बढौँ ।
देश त यसै जल्यो, सबैलाई लागेको छ कि परिवर्तन केही कुरामा पक्कै हुने भयो । अब जे–जे भयो भयो, भइसकेको कुरा इतिहास भयो । पर्नेलाई परिसक्यो, बितेका कुराहरू फर्केर आउने छैनन् । तर जलेको मन कहाँ बग्ने त ? कयौँको घर उजाडियो । चाहे त्यो नागरिक होस् वा प्रहरी, आन्दोलनकारी वा बाटुवै किन नहोस् । पर्नेलाई चोट पर्यो तर यसको बदलास्वरूप अब नयाँ केही हुनु जरुरी नै छ ।
जनताले परिवर्तन चाहन्छ तर शान्तसँग बाँच्न पाउने अधिकार जनताको नै हुनुपर्छ । शान्तसँग बाँच्न पाए भने खोले–खाएर पनि बस्छ तर पीडामा बस्न सक्दैन मानिस । शान्तसँगै सम्पन्नता चाहन्छ मानिसले । त्यो हो स्वास्थ्य, शिक्षा र अधिकार । बास नभएकालाई बास, गास नभएकालाई गाँस र जस्तो भए पनि रोजगारी केही न केही आफ्नै क्षमताअनुसार पाउनै पर्छ । उद्योग–धन्दा सञ्चालन हुनैपर्छ । सबैले आफ्नै क्षेत्रमा काम गर्न पाउनै पर्छ ।
बितेका कुरालाई लिएर पीडामा बस्नुभन्दा अब मिलेर देश बनाउनुपर्छ । रातपछि दिन आउँछ । दिनपछि फेरि रात पर्छ । रात परेको बिहान हुने हो र दिन आउने हो । सधैँ रात कहिल्यै हुँदैन, त्यसैले यस्ता अवस्थाहरूमा सबैले सुरक्षित भएर बसौँ, संयमित होऔँ । आराजक काम कसैले नगरौँ । एकले अर्कालाई सहयोग गरौँ । अब देश बनाउनको जिम्मा हाम्रो हो । संसारले काँचुली फेरिसकेको छ । अब हामीले पनि फेर्नै पर्छ । संसारमा विकासको मूल फुटिसकेको छ, हामी पनि विकासको मूल फुटाउने हातेमालो गरौँ ।
देश जल्नु जेल सक्यो, अब थप नजलौँ । जनतालाई शान्तिको प्रत्याभूति दिऔँ । कसैको डरमा कोही बस्न नपरोस् । एउटा स्वतन्त्र नागरिक भएर बाँच्न पाउनुपर्छ । समयको चक्र हो, घुमिरहन्छ । तर अब राम्रो चक्रमा मात्रै नेपाल घुमोस् । कुनै पनि अन्य चक्रको बोझमा नफसोस् । परिवर्तन र क्रान्तिको नाममा सधैँ देशमा अशान्तिको वातावरण नबनोस् । कूटत्वको प्रवेशले नत्र देश बरबादीतर्फ धकेलिन्छ । यसो हेर्दा बाहिरी तत्वलाई त हाम्रो देश जलेको राम्रो लाग्ला, ती हाम्रा शत्रु हुन् । नेपाल हाँस्नुपर्छ, अब नेपाल आमालाई बचाउन एक थोपा रगत पनि यो धरतीमा नझरोस् ।
एक झिल्का आगो कतै नदेखियोस् । आगो दन्केर खरानी हुने हो, देश बन्ने होइन । बन्दुकको नाल तेस्र्याउँदैमा शान्ति आउने होइन । अब शान्तिको सन्देश छर्ने बेला आएको छ, शान्तिको गीत गाउने बेला भएको छ । देशलाई अब सहिद चाहिएको छैन, देशलाई कर्म–योद्धा चाहिएको छ । असल मार्गनिर्देशक चाहिएको छ । देशलाई लुट्ने होइन, अब एकजुट गराउने चाहिएको छ । कसैलाई होच्याउने होइन, दबाउने होइन । नागरिकको आवाज गुञ्जिनुपर्छ र नारा पनि देश विकासकै हुनुपर्छ ।
निष्कर्ष
‘बनाउँछु’ भनेर अगाडि बढ्न चाहनेले निःस्वार्थरूपमा देशलाई अगाडि बढाउने काम गरौँ । भ्रष्टाचारको अन्त्य गरौँ । दोषीलाई कारबाही गरौँ, निर्दोषलाई न्याय दिऔँ । ठग र देशद्रोहीको पहिचान गरी यसलाई जरैदेखि उखेल्ने काम गरौँ । जसले बनायो पनि देश बन्नै पर्छ । राज्य संयन्त्रले पनि दोषीलाई उम्काउनु हुँदैन र पीडितले न्याय पाउनै पर्छ ।
बिगार्न चाहनेहरूले जहिले बिगार्न खोज्छन्, हामी सचेत हुने बेला आएको छ । हामी जोसिएको बेला कतै कुतत्व आएर हाम्रो अस्तित्व समाप्त पार्न खोज्छन्, त्यसका लागि सचेत होऔँ । आवेशमा आएर होइन, संयमित हुने बेला आएको छ । देशमा धेरै कुतत्व प्रवेश गरिसकेकोले यसको पहिचान गरेर अगाडि बढौँ । अब आइन्दा यस्तो अवस्था नेपाली जनताले कहिल्यै भोग्नु नपरोस् । नेपालको आफ्नै अस्तित्व छ । कहिल्यै कसैको आधिनमा नपरेको देश, आफ्नै स्वतन्त्रतामा बाँचिरहेको देशको अस्तित्व जोगाऔँ ।
यो संकटको घडी हो, यसको पहिचान गरौँ । देश हार्दा कसैले जित्दैन, त्यसैले सबैले देशलाई जोगाऔँ । केही अनिष्ट हुनबाट जोगाऔँ । गल्ती गर्नेहरूलाई कारबाही गरौँ । मानिस नराम्रो होला, त्यसलाई कारबाही गरौँ, तर व्यवस्था खराब हुन सक्दैन । कुनै पनि व्यक्तिको गल्तीले गर्दा कलिला मुना बालबालिकाले दुःख भोग्नु नपरोस् । देश रोएको बेला हामी कदापि हाँस्नु हुँदैन । नेपाल आमाको आँसु पुछ्ने, नेपाल आमालाई मजबुत बनाएर हाँसोमा परिणत गर्ने जिम्मेवारी हरेक नागरिकको काँधमा आएको छ ।