जेन-जी आन्दोलनमा भदौ २३ र २४ गते मारिनेको संख्या ५१ पुगेको छ। प्रदर्शनका क्रममा मृत्यु भएकामा ३ जना प्रहरी, १ भारतीय नागरिक र बाँकी नेपाली युवाको संख्या ५१ पुगेको नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापाले जानकारी दिए ।
पहिलो दिनको प्रदर्शनमा १९ जना जेन-जीको मृत्यु भएको थियो भने पछि उपचारका क्रममा घाइते भएकाहरूको मृत्यु हुँदा शुक्रबारसम्म् मृतकको संख्या ५१ पुगेको हो।
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन-जी प्रदर्शनमा घाइते भएका २९९ जनाको उपचार जारी रहेको जानकारी दिएको छ। देशभरका ३३ अस्पतालमा उनीहरूको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । झापाको बीएनसी अस्पतालमा सबैभन्दा धेरै ५३ जना घाइते उपचाररत छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) मा ३५ जना, ट्रमा सेन्टरमा ३२ जना, बानेश्वरमा रहेको निजामती कर्मचारी (सिभिल) अस्पतालमा २३ जना, त्रिवि शिक्षण अस्पतालमा २५ जना र नेपाल पुलिस अस्पतालमा २८ जना घाइतेको उपचार चलिरहेको छ। अहिलेसम्म घाइतेमध्ये १ हजार ४६५ जना डिस्चार्ज भइसकेको पनि मन्त्रालयले जानकारी दिएको छ।