काठमाडौं । नेपालको पहिलो महिला प्रधानमन्त्रीमा सुशीला कार्कीको नाम लेखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नेपालको संविधान २०७२ को धारा ६१ अनुसार सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
राष्ट्रपतिको कार्यालयका अनुसार संविधानको पालक, संरक्षक र राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने राष्ट्राध्यक्षको अन्तर्निहित अधिकार प्रयोग गरी अहिलेको संकट निकास दिने सहमति भएकाले सोहीअनुसार निर्णय भएको हो । जेन–जी प्रदर्शनसँगै नेपालमा सत्ता कायापलट भएको हो । २४ गते प्रहरी दमनबाट चार दर्जन किशोर युवाको मृत्यु भएको थियो ।
सोही दिन प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिएका थिए । लोकतान्त्रिक गणतन्त्रपछि यसअघि सबै प्रधानमन्त्रीहरु संविधानको धारा ७६ अनुसार नियुक्त भए पनि धारा ६१ बाट कार्की पहिलोपटक प्रधानमन्त्री नियुक्त भएकी हुन् । धारा ६१ को उपधारा ४ अनुसार उनलाई पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए । उक्त उपधारामा भनिएको छ, ‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको कर्तव्य हुनेछ ।’
राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नुअघि २०७९ को निर्वाचनका प्रमुख राजनीति दलका प्रमुख नेता तथा संविधानविद्हरुसँगको परामर्श लिएका थिए ।
उनी नियुक्त भए पनि मन्त्रिपरिषद्ले पूर्णता भने पाउन बाँकी नै छ । हाललाई उनले राष्ट्रपति पौडेलबाट सबै मन्त्रालय हेर्ने जिम्मेवारी समेत पाएकी छिन् । प्रधानमन्त्री बनेलगत्तै उनले पहिलो निर्णय नै जेन–जी प्रदर्शनकारीको मागअनुसार मौजुदा संसद् विघटन गरेकी छिन् । उनको प्रस्तावमा राष्ट्रपति पौडेलले संसद् विघटन प्रस्ताव सदर गरेका थिए । यसअनुसार प्रतिनिधिसभाको आगामी निर्वाचन फागुन २१ अर्थात् ६ महिनापछिलाई तोकिएको छ ।
को हुन् कार्की ?
देशकै पहिलो महिला प्रधानमन्त्री बनेकी सुशीला २००९ जेठ २५ मा जन्मिएकी हुन् । उनले यसअघि नै नेपालको पहिलो महिला प्रधानन्यायाधीशमा आफ्नो नाम लेखाइसकेकी छिन् । उनीसँग ३१ वर्ष वकालती पेसा र नौ वर्ष सर्वोच्च अदालतको इजलासमा बिताएको अनुभव छ । निडर स्वभावले परिचित उनले २०१५ सालमा विद्यालय शिक्षा सुरु गरेकी थिइन् । २०२५ सालमा उनले एसएलसी उत्तीर्ण गरी महेन्द्र मोरङ क्याम्पसमा आईए गरेकी थिइन् ।
उनीसँग कांग्रेसी राजनीतिक पृष्ठभूमि छ । बीपी कोइराला परिवारसँग नजिकको सम्बन्ध रहेकी उनका पति दुर्गा सुवेदी हुन्, जसलाई प्रजातान्त्रिक सेनानीले चिनिन्छ । महेन्द्र मोरङबाटै २०२८ सालमा बीए पढेकी उनले २०३१ सालमा राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी थिइन् । उनले त्रिभुवन विश्वविद्यालयबाट समेत २०३४ सालमा कानुनमा स्नातक गरेकी छिन् । २०३५ माघ १७ मा सर्वोच्च अदालतबाट वकालती लाइसेल्स लिएकी उनले सोही वर्ष वकालत पेसा सुरु गरेकी थिइन् । २०४२–४६ उनको प्राध्यापन काल हो ।
२०६१ मा वरिष्ठ अधिवक्ता, २०६५ मा अस्थायी न्यायाधीशसँगै सर्वोच्च अदालत प्रवेश गरेकी थिइन् । त्यसपछि २०६७ मा उनी स्थायी न्यायाधीश बनिन् भने २०७३ वैशाख २ मा सर्वोच्चको कायममुकायम प्रधानन्यायाधीश बनेकी थिइन् । सोही वर्ष असार २७ मा उनी पहिलो महिला प्रधानन्यायाधीश बनेकी उनले २०७४ जेठ २४ सम्म नेतृत्व गरिन् । वैशाख १७ मा कांग्रेस र माओवादी केन्द्रले उनलाई महाभियोग लगाउन संसद् सचिवालयमा प्रस्ताव दर्ता गरे पनि सफल भएन । सर्वोच्चकै न्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले उक्त प्रस्तावलाई निष्प्रभावी बनाइदिएको थियो । जेठ २३ मा उनी सेवानिवृत्त भइन् ।
जनता बचून् भन्दै राष्ट्रपतिको बधाई
कार्कीलाई प्रधानमन्त्रीको सपथ खुवाएलगत्तै राष्ट्रपति पौडेलले बधाई दिएका थिए । सो क्रममा उनले ‘बधाई धेरै तपाईं सफल हुनुस् देश सफल होस्, जनता बचून्’ भन्दै बधाई दिएका थिए ।
चौतर्फी दबाबका बीच पौडेल उनलाई प्रधानमन्त्री बनाउन बाध्य भएका थिए । जेन–जी प्रदर्शनले सरकार अपदस्थ भएपछि प्रदर्शनकारीले कार्कीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । तर संसद् विघटनलाई लिएर निकै ढिला गरी कार्की प्रधानमन्त्री बनेकी थिइन् ।
कार्कीको शपथग्रहण समारोहमा परम्परा तोडिएको थियो । निवर्तमान प्रधानमन्त्रीले पद हस्तान्तरण गर्नुपर्नेमा शुक्रबार त्यसो भएन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठमात्रै समारोहमा सहभागी भए ।
देशभित्र र बाहिरबाट बधाई
प्रधानमन्त्री नियुक्त भएपछि कार्कीले देशभित्रबाट र बाहिरबाट बधाई पाएकी छिन् । उनलाई प्रस्ताव गर्ने जेन–जी समूहसहित कुलमान घिसिङ, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायतले बधाई दिएका थिए भने पहिलो महिला प्रधानमन्त्री भएकाले विभिन्न व्यक्तित्वहरुबाट बधाई मिलेको थियो ।
देशबाहिरबाट जापान, भारत, बंगलादेश, बेलायत, संयुक्त राष्ट्रसंघ, युरोपेली संघले समेत कार्कीलाई बधाई दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त कार्कीको खुलेर प्रशंसा गरेका छन् । त्यसैगरी, तिब्बतका निर्वासित धर्मगुरु दलाई लामा समेतबाट कार्कीले बधाई तथा शुभकामना पाएकी छिन् । उनको शपथ समारोहमै विभिन्न देशका कूटनीतिज्ञहरुको उपस्थिति भएको थियो ।
सिभिल अस्पताल पुगिन्, त्यसपछि प्रहरी कार्यालय
प्रधानमन्त्री भएको भोलिपल्ट कार्की जेन–जी प्रदर्शनका क्रममा घाइतेको अवस्था बुझ्न प्रदर्शनस्थलनजिकैको सिभिल अस्पताल पुगेकी छिन् भने त्यसपछि क्षतिग्रस्त काठमाडौंका विभिन्न प्रहरी कार्यालयको अनुगमन तथा निरीक्षणमा गएकी छिन् ।
उनले शनिबार घाइतेको उपचारको अवस्था बुझेकी हुन् । त्यसैगरी, आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग कोटेश्वर कार्यालयको अनुगमन तथा निरीक्षण समेत गरेकी छिन् ।
सो क्रममा उनले उच्च मनोबलका साथ काममा फर्किन प्रहरीलाई आग्रह गरेकी थिइन् । हालसम्म जेन–जी प्रदर्शनका क्रममा मृत्यु हुने संख्या ५१ पुगिसकेको छ भने सयौँ घाइतेको उपचार जारी छ ।