विराटनगर । जेन–जीको नाममा भएको ध्वंसात्मक आन्दोलन र होस् गुमाएको सरकारका कारण भएको धनजनको क्षतिले मोरङ सुनसरी औद्योगिक कोरिडोर भनेर चिनिएको आर्थिक नगरीमा अहिले अर्थको कुरा नै हराएजस्तो देखिन थालेको छ ।
मुलुकलाई धान्न सक्नेगरी राजस्व संकलन गर्ने भन्सार नाका र आन्तरिक राजस्व कार्यालय समेत रहेको विराटनगरमा अहिले यी कार्यालयका आफ्नो भग्नावशेष मात्रै रहेपछि यहाँ अर्थको कुरा नै हराउन पुगेको छ । गत भदौ २३ गते साँझबाट जेन–जी आन्दोलनको प्रभाव विराटनगरमा नराम्रो गरी परेको छ । जेन–जीहरुले दिउँसोसम्म शान्तिपूर्ण प्रदर्शन गरी कार्यक्रम समापन गरेर फर्किएका थिए । तर पुनः भदौ २४ गते मंगलबार विराटनगरमा रहेका विभिन्न सरकारी निकाय, दलका पार्टी कार्यालय, मन्त्री नेताका घर पनि निसानामा परे । धनजनको सुरक्षाका लागि खटेका सुरक्षा संयन्त्र परिस्थितिलाई नियन्त्रणमा लिन कस्सिएपछि निषेधाज्ञा र कफ्र्युका बीच आर्थिक नगरी विराटनगरमा भएको तोडफोड र आगजनीले अहिले अर्थको चलखेल नै हराएको छ । जेन–जीका नाममा एउटा उग्र जमातले सार्वजनिक संरचनाका घरमा तोडफोड र आगजनी गरी क्षति पुर्याएका छन् । यहाँ व्यापार, व्यवसाय र उद्योगधन्दाहरु समेत बन्द भएका छन् ।
केन्द्र सरकारको नेतृत्वकर्ताको राजीनामापछि स्थानीय प्रहरी प्रशासन केही अन्यौलमा पर्दा सो समयलाई जेन–जीको नाममा यहाँको सरकारी कार्यालय र व्यक्तिका घर तथा संरचनामा झन् क्षति पुर्याउने कार्य भएको छ । आगलागी र तोडफोड भइसकेका सरकारी कार्यालय वा व्यक्तिका घरबाट कतिपयले सामान चोरेर र लुटेर समेत लगेका दृश्यहरु देखिएका छन् । यस्ता हर्कतले माथिका नेता मन्त्री मात्र चोर भ्रष्टाचारी नभई तलका मानिस पनि गतिला नभएको पुष्टि भएको छ । अरूलाई औँला देखाउनेले आफूतर्फ पनि चोर औँला फर्काएका छन् । अहिले आठ अर्बभन्दा बढी नै राजस्व उठाउने आन्तरिक राजस्व कार्यालय विराटनगर र २५ अर्बभन्दा बढी राजस्व उठाउँदै आएको विराटनगर भन्सार कार्यालय आफैँ थला परेका छन् । कार्यालय सञ्चालन गर्ने ठाउँ जलेर ध्वस्त भएका र बचेका केही संरचना जलेर नचिनिने अवस्थामा छन् । अब यी कार्यालयले कसरी कार्य सञ्चालन गर्ने भन्ने अन्यौलता भएको कुरा आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुुख कर अधिकृत केशव प्रसाद उप्रेतीले आर्थिक दैनिकलाई बताएका छन् । आगजनी र तोडफोडपछिको दुुई दिन कार्यालयको फिल्डमा बसेर फर्किने गरेको जानकारी पनि प्रमुख उप्रेतीले गराएका छन् ।
मोरङ सुनसरी औद्योगिक कोरिडोरका व्यवसायीले यस्तोमा व्यापार व्यवसाय फस्टाउँछ भन्नु बेकार भएको जवाफ दिएका छन् । उद्योगी व्यवसायी मुलुकको पछिल्लो घटना क्रमले आजित भएको बताउँछन् । आन्दोलन र दमन यस्तो पनि हुन्छ ? दुवै पक्ष होस् नभएका र कसैप्रति उत्तरदायी नरहेको उनीहरुको भनाइ छ । मुलुकको प्रमाण र इतिहास बोकेका सार्वजनिक सम्पत्ति अनि व्यक्तिका घर नै असुरक्षित भएपछि यस्तो मुलुकमा व्यापार व्यवसाय र उद्योग फस्टाउँछ भन्नु बेकार भएको उनीहरुको तर्क रहेको छ ।
जेन–जीको नाममा भड्काउ आन्दोलन गर्नेहरुबाट जेन–जी, सरकार र मुलुक कसैलाई पनि हित नभएको यहाँका उद्योगी व्यवसायीको भनाइ छ । मुलुकको राजधानी काठमाडौं केन्द्रित आन्दोलनमा दिशा गुमाएका जेन–जी र नेपाल सरकारको अत्यधिक बल प्रयोगको परिणाम समग्र मुलुक नै अन्यौलमा परेको उनीहरुको तर्क छ । यस्ता हर्कतले मुलुक अबको दश वर्ष उठ्नै नसकिने गरी थला परेको उद्योगी व्यापारीको छाता संगठन उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताए ।