काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका वडा नं ३० लाई कार्यालय सञ्चालन गर्नको लागि टेबल कुर्सी हस्तान्तरण गरेको छ । जेन–जीको भ्रष्टाचारविरुद्धको आन्दोलनका क्रममा उक्त कार्यालयका सम्पूर्ण उपकरण तथा फर्निचरहरू जलेर नष्ट भएका थिए ।
कामना सेवाको ढुङ्गेपाटन शाखाकी शाखा प्रबन्धक लक्ष्मी ढकालले वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीलाई उक्त फर्निचरहरू हस्तान्तरण गरेकी हुन् । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष दुर्गा प्रसाद सुवेदीले आन्दोलनका क्रममा क्षति पुगेका संरचनामा सहयोग गरी कार्यालय सञ्चालन गर्न सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिँदै अन्य सरोकारवालाहरूलाई पनि पुनःनिर्माणमा जुट्न आह्वान गरे ।
बैंकले आन्दोलनका क्रममा कार्यालयका उपकरणसहित सम्पूर्ण भौतिक संरचना जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, कास्कीलाई आवश्यक कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । कार्यालय पूर्णरुपमा जलेर नष्ट भई कार्यालय सञ्चालन नै असम्भव हुने अवस्थामा रहेकोमा तत्काल आवश्यक पर्ने कम्प्युटर र प्रिन्टर बैंकका पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी हरिबहादुर बस्नेतलाई हस्तान्तरण गरे ।
बैंकले आन्दोलनका क्रममा क्षतीग्रस्त भएका विभिन्न वडा कार्यालय, मालपोत कार्यालय, प्रहरी कार्यालयहरू पुनःनिर्माण, मर्मत सम्भार तथा आवश्यक सामाग्री हस्तान्तरण गर्न थालेको छ ।