काठमाडौं । नेपाल उद्योग परिसंघले निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग आग्रह गरेको छ । परिसंघले एक विज्ञप्ति जारी गरी हालै देशभर जेन–जीका नाममा भएको ध्वंसात्मक आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाटका घटना हुनु अत्यन्तै दुःखद् र चिन्ताजनक भएको जनाएको छ ।
यस्ता घटनाले उद्योगी तथा व्यवसायीहरुलाई त्रसित बनाएको र यसले दीर्घकालीनरुपमा लगानी तथा रोजगारीमा नकारात्मक असर पार्ने चेतावनी परिसंघले दिएको छ । ‘लगानीकर्ता निरन्तर त्रासमा रहनुपर्ने स्थिति उत्पन्न भएमा त्यसको प्रत्यक्ष असर स्वदेशी तथा विदेशी लगानी, रोजगारी र समग्र अर्थतन्त्रमा पर्न जान्छ,’ परिसंघको विज्ञप्तिमा भनिएको छ । निजी क्षेत्रलाई सुरक्षित वातावरणमा व्यवसाय सञ्चालन गर्न दिनु अत्यावश्यक भएको भन्दै परिसंघले सरकारलाई निजी क्षेत्रको सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ ।
परिसंघका अनुसार हालको अवस्थाले सार्वजनिक तथा निजी संरचनाको पुनर्निर्माणमा खर्बौंको लगानी आवश्यक पर्ने देखिएको छ । राज्यको स्रोत मात्रले यति ठूलो क्षतिको पुनर्निर्माण सम्भव नभएको परिसंघको ठहर छ । ‘राज्यको प्रमुख आयस्रोत नै निजी क्षेत्र भएकाले निजी क्षेत्रलाई त्रासमुक्त वातावरणमा व्यवसाय सञ्चालनको सुनिश्चितता अत्यावश्यक छ,’ परिसंघले उल्लेख गरेको छ । कोभिड–१९ महामारीपछिका तीन वर्ष तथा त्यसपछिका नियामकीय कठोरताका कारण देशको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको परिसंघले जनाएको छ । हालको जस्तो असहज वातावरणमा उद्योग–व्यवसाय सञ्चालन हुन सकेन भने समग्र अर्थतन्त्रको विकासमा बाधा पुग्ने परिसंघको चेतावनी छ ।
परिसंघले युवा पुस्ताले व्यक्त गरेका सुधारका मागलाई सम्मान गर्दै मुलुकलाई नयाँ दिशातर्फ लैजाने कार्यमा निजी क्षेत्र प्रतिबद्ध रहेको जनाएको छ । परिसंघले देशमा सुशासन, भ्रष्टाचार नियन्त्रण र पारदर्शिता कायम गर्ने युवा पुस्ताको आकांक्षालाई सकारात्मकरुपमा लिई देशले नयाँ चरणमा प्रवेश गर्ने विश्वास लिएको छ । ‘विद्यमान अन्यौलतालाई चिर्दै अगाडि बढ्नुपर्ने आम नेपालीको चाहनाअनुसार मुलुकमा शान्ति र सुव्यवस्था कायम हुने अपेक्षा राखिएको छ,’ परिसंघले जनाएको छ । साथै, आन्दोलन तथा प्रदर्शनका क्रममा भएको धनजनको क्षतिप्रति परिसंघले गहिरो दुःख व्यक्त गरेको छ । परिसंघले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।