टोकियो । जापानमा १०० वर्ष वा सोभन्दा बढी उमेर पुगेका व्यक्तिहरूको संख्या झण्डै एक लाखको ऐतिहासिक उचाइमा पुगेको छ । यो संख्याको करिब ९० प्रतिशत महिला रहेको स्वास्थ्य मन्त्रालयले शुक्रबार प्रकाशित तथ्यांकले देखाएको छ ।
एएफपीका अनुसार यो तथ्यांकले विश्वको चौथो ठूलो अर्थतन्त्र जापानमा तीव्र बुढ्यौली र घट्दो जनसंख्याले उत्पन्न गरेको गम्भीर जनसाङ्ख्यिकीय संकटलाई झल्काएको छ । सेप्टेम्बर १ सम्म देशमा ९९ हजार सात सय ६३ जना शतायु मानिस रहेका छन् । तीमध्ये चार हजार छ सय ४४ जनाको उमेर १०५ वर्षभन्दा माथि छ, जसमा महिलाको हिस्सा ८८ प्रतिशत छ ।
जापानकी सबैभन्दा वृद्ध व्यक्ति नारा क्षेत्रमा बस्ने ११४ वर्षीया शिगेको कागावा छन् । उनी ८० वर्षसम्म प्रसूति–स्त्रीरोग विशेषज्ञ र सामान्य चिकित्सकका रूपमा सक्रिय थिए ।
“घर–घरमा कल गर्ने क्रममा धेरै हिँड्ने गरेँ, जसले मेरा खुट्टा बलिया बनायो । यही मेरो जीवनशक्तिको आधार हो”, कागावाले मन्त्रालयमार्फत भने । उनी अझै टिभी हेर्ने, पत्रिका पढ्ने र सुलेखन अभ्यास गर्ने गर्छन् । विश्वकै सबैभन्दा वृद्ध व्यक्ति भने बेलायती महिला एथेल क्याटरहम छिन् । उनी अगस्टमा ११६ वर्षकी भइन् । केही महिनाअघि ब्राजिलकी नन इना क्यानाबारो लुकासको निधनपछि उनलाई यो उपाधि दिइएको हो ।
जापानमा वृद्ध जनसंख्या बढ्दै जाँदा स्वास्थ्य सेवा र सामाजिक सुरक्षामाथि दबाब बढेको छ भने संकुचित श्रमशक्तिले त्यसलाई धान्न गाह्रो बनाएको छ । आधिकारिक तथ्यांकअनुसार सन् २०२४ मा मात्र जापानी नागरिकहरूको संख्या नौ लाखभन्दा बढीले घटेको थियो ।
प्रधानमन्त्री शिगेरु इशिबाले यसलाई ‘शान्त आपत्काल’ भन्दै जनसंख्या ह्रास उल्टाउन लचिलो कार्यसमय र निःशुल्क डे केयर—लागू गर्ने जस्ता परिवारमैत्री नीतिहरूको वाचा गरेका छन् । तर, अहिलेसम्म ती प्रयासहरूले उल्लेखनीय परिणाम दिन सकेका छैनन् ।