काठमाडौं । भदौ २३ र २४ गते जेन–जी समूहले गरेको प्रदर्शनमा स्वदेशीका साथै विदेशी लगानीका कम्पनीहरुमा ठूलो क्षति पुगेको छ । न्यून विदेशी लगानी आउने नम्बरमा पर्ने नेपालमा रहेका विदेशी लगानीका कम्पनीमा जेन–जीको प्रदर्शनले तोडफोड, आगजनी गर्दा लगानी नभित्रिने जोखिम देखिएको छ ।
जेन–जीको प्रदर्शनको क्रममा बहुराष्ट्रिय कम्पनी एनसेल, हिल्टन र ह्यात रिजेन्सीलगायतका तोडफोड तथा आगजनी गरी क्षति पुर्याइयो । सामाजिक सञ्जालमा भेटिएको भिडियो हेर्ने हो भने एनसेलको पार्किङस्थलमा रहेका करोडौँ मूल्य बराबरको सवारी साधनलाई जलाउने काम गरियो, जुन हृदयस्पर्शी समेत रहेको छ । देशभित्र भएको प्रदर्शनमा बहुराष्ट्रिय कम्पनीलाई क्षति पुर्याउनुले आगामी दिनमा विदेशी लगानी आउने बाटो रोकिदिने कदम भएको एनसेलका एक अधिकारीले बताए ।
एनसेल विदेशी लगानी भएको उत्कृष्ट कम्पनी भएको र यसले नेपालको अर्थतन्त्रमा योगदान दिएको भन्ने तर यस्तो नराम्रो व्यवहार गर्ने प्रवृत्ति देख्दा आफूहरुलाई आश्चर्य लागेको उनले बताए ।
‘एनसेलको पहिलो तलमा मात्र नभई हरेक तलमा क्षति पुर्याइएको र विभिन्न सामग्रीहरु चोरी गरिएको छ,’ ती अधिकारीले भने, ‘कार्यालयको कम्प्युटर, विद्युतीय डिभाइस, फर्निचरदेखि लिएर कर्मचारीले सुरक्षित मानिएको कार्यालयभित्र रहेको लकरबाट समेत बहुमूल्य सामग्री चोरी भएको छ । चोरी पनि रातभर भएको र अधिकांशजसो तलामा तोडफोड गरिएको छ । जसलाई स्थानीयले समेत प्रत्यक्षरुपमा देखेको कार्यालयका अधिकारीहरुलाई जानकारी दिएर सहयोग गरेका छन् ।’
उनले एनसेल मात्र नभई हिल्टन र ह्यात रिजेन्सीजस्ता संस्थामा समेत क्षति पुर्याउनुले पर्यटन क्षेत्रमा आउने विदेशी लगानीलाई असर परेको बताए । एनसेलको ठमलेस्थित कार्यालयमा मात्र नभई क्षेत्रीय कार्यालय पोखरा, धनगढी र महेन्द्रनगरमा समेत क्षति पुर्याइएको कम्पनीले जनाएको छ । हाल कम्पनीका कर्मचारीहरु घरबाट काम गरिरहेको बताइएको छ । एनसेल मात्र नभई हिल्टन र ह्यात रिजेन्सीमा समेत तोडफोड भएको छ ।
त्यस्तै, होटल सङ्घ नेपालका अनुसार पर्यटन क्षेत्रमा कुल २५ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ । जसमध्ये काठमाडौंको हिल्टन होटलमा मात्रै आठ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । प्रभावित होटलहरू काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुलसीपुरलगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्रान्डका प्रतिष्ठानहरू रहेका छन् । तोडफोड, आगजनी र लुटपाटबाट यी होटलहरूमा व्यापक क्षति पुगेको सङ्घका अध्यक्ष विनायक शाहले जानकारी दिए ।
स्वदेशी र विदेशी लगानीको कम्पनीमा क्षति पुग्नाले प्रत्यक्ष विदेशी लगानीमा असर पर्ने विज्ञहरु बताउँछन् । वैदेशिक लगानीको लागि उपयुक्त मुलुक हुन नसकेको अवस्थामा जेन–जीको घटनाले गर्दा लगानीकर्ताहरु नेपालमा लगानी गर्न नआउने अवस्था सिर्जना भएको अर्थविद् केशव आचार्यले बताए । विदेशी लगानीका लागि झन्झटिलो प्रक्रियाका कारण आउन नमानेको अवस्थामा विदेशी लगानी रहेको कम्पनीमा क्षति पुर्याउन काम हुँदा विदेशी लगानी प्रभावित हुने निश्चित रहेको उनले बताए ।
वैदेशिक लगानीका लागि विभिन्न मुलुकहरुले सरलीकरण गरेको अवस्थामा हुँदा नेपालमा लगानी गर्ने वातावरण नभएको भन्दै लगानीकर्ताहरु नआउने सम्भावना बढेको अर्थविद् आचार्यले बताए । उनले आगामी दिनमा सरकारले विदेशी लगानीको लागि अत्यन्त राम्रो वातावरण बनाई सुरक्षाको प्रत्याभूति दिएमा मात्र वातवरण सहज हुँदै जानेछ अन्यथा वैदेशिक लगानीको लागि परिणामा राम्रो नहुने निश्चित छ । लगानी प्रतिबद्धता आउने र लगानी रकम नआउने अवस्थालाई पछिल्लो घटनाले थप मलजल गरेको उनको भनाइ छ ।
गत आर्थिक वर्षमा सात अर्ब ३० करोड रुपैयाँ, आर्थिक २०८०/८१ मा आठ अर्ब ४० करोड रुपैयाँ र २०७९/८० मा छ अर्ब रुपैयाँ विदेशी लगानी आएको छ । आर्थिक वर्ष २०७८/७९ मा १८ अर्ब ६० करोड र आर्थिक वर्ष २०७७/७८ मा १९ अर्ब ५० करोड रुपैयाँ विदेशी लगानी आएको थियो, जुन प्रतिबद्धताको तुलनामा न्यून रहेको छ ।
त्यस्तै, १० करोड रुपैयाँ चुक्ता पुँजीमा नेपाल प्रवेश गरेको दूरसञ्चार कम्पनी एनसेल आजियाटामा २० प्रतिशत सेयर गैरआवासीय नेपालीहरूको छ भने ८० प्रतिशत हिस्सा मलेसियाली कम्पनी आजियाटाको छ । सन् २००४ मा निजी क्षेत्रका तर्फबाट पहिलो दूरसञ्चार कम्पनीका रूपमा नेपाल प्रवेश गरेको ‘मेरो मोबाइल’ २०१६ मा एनसेल आजियाटा हुँदै पब्लिक कम्पनी बनेको छ ।
डेढ करोड बढी मोबाइल प्रयोगकर्ता रहेको एनसेलले सरकारलाई वार्षिक पाँच अर्ब रुपैयाँभन्दा बढी राजस्व बुझाउँदै आएको छ । एक अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको ह्यातको सञ्चित कोषमा ६५ करोड ७७ लाख ३४ हजार रुपैयाँ छ ।