(विकिपिडियामा राजनीतिक भ्रष्टाचार: भ्रष्टाचार सार्वजनिक जीवनमा स्वीकृत मूल्यहरूको विरुद्धको आचरणलाई मानिन्छ । साधारण जनजीवनमा यसलाई आर्थिक अपराधहरू सत जोडिन्छ । भ्रष्टाचारलाई बेइमानी वा आपराधिक अपराधको एक रूप हो जसमा एक व्यक्ति वा संगठनले प्राप्त गरेको अधिकारको स्थितिमा अवैध लाभहरू प्राप्त गर्न वा आफ्नो व्यक्तिगत लाभको लागि शक्तिको दुरुपयोग गर्दछन् । भ्रष्टाचारमा धेरै गतिविधिहरू समावेश हुन सक्छन् जसमा घुसखोरी, प्रभावको कारोबार र अपचलन समावेश छन् । राजनीतिक भ्रष्टाचार, एक कार्यालय धारक वा अन्य सरकारी कर्मचारीले, व्यक्तिगत लाभको लागि आफ्नो आधिकारिक क्षमताको साथ कार्य गर्दा हुन्छ ।)
चलिरहेको यो वर्ष गणतान्त्रिक संविधानको एघारौँ वर्ष प्रवेशको वर्ष हो । यो एक दशकमा हाल ठूला हैसियतमा रहेका तीन दलका तीन शीर्ष नेताहरू आलोपालो गर्दै प्रधानमन्त्री र शासनसत्ताका साझेदार भइरहे । यद्यपि पछिल्लो समय यो परिस्थिति भने बदलियो । पूरै दशकभरि यस्तो सत्ता यी तीन नेताबीच बाँडफाँट भए पनि यो स्वाभाविकरुपले प्राप्त गरेका भने होइनन् । दशकभरि नै सत्ता यिनकै हातमा गयो तर यो स्वाभाविकचाहिँ थिएन ।
मतदातालाई पनि धोका
अरु त अरु जनतासँग मत माग्दा जे भनिएको थियो मतदानलगत्तैपछि त्यसको पनि उल्लंघन भयो । यसको अर्थ हो, नेताले नेतालाई मात्र होइन नेताबाट जनतालाई पनि धोका नै भयो । यो आफ्नो सत्ताका लागि दिइएको धोकाको हो । यो शृंखलामा खासगरी जनतालाई प्रत्यक्ष नै हुनेगरी धोका दिने दुई प्रमुख पात्र हुन् एमालेका अध्यक्ष केपी ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
संविधानको यो एक दशकमा दुईवटा आम निर्वाचन सम्पन्न भए । यिनमा मतदाताले जसलाई मत दिए, मत माग्दा जे भनिएको थियो, आफूले सत्ता प्राप्त गर्न र त्यसलाई टिकाउन आफ्ना यी मतदातामाथि खुलारुपले नै देखिने गरी धोकाधडी भयो ।
ओलीको संसद् विघटन
पहिलो हो, ओलीले गरेको संसद् विघटन । त्यसबेला सरकार करिब दुई तिहाइको थियो । दुई कम्युनिस्ट पार्टीको गठबन्धन गरेर तथा एउटै घोषणापत्रमा निर्वाचन लडिएको थियो । दुई कम्युनिस्ट पार्टीको एउटै घोषणापत्रमार्फत स्थिरताका लागि भनेर मत मागिएको थियो । तर त्यो संसद् तीन वर्ष पुग्दा नपुग्दै विघटनमा प¥यो । कारण थियो आफ्नो सत्ता जोगाउनु ।
२०७७ पुस ५ मा संसद् विघटन गर्दा तत्कालीन प्रधानमन्त्री ओलीले आफ्ना मतदातालाई सम्बोधन गर्दै भनेका थिए– ‘तपाईँहरूले छानेको यो प्रतिनिधिसभाले काम गर्न सकेन, काम नलाग्ने भयो ।’
दोस्रो पटकको विघटन संसद्मा उनले मागेको विश्वासको मत नपाएपछि थियो । २०७८ वैशाख २७मा उनले विश्वासको मत पाएनन् । यो नेतृत्वको अक्षमता प्रकट हुने कुरा थियो तर त्यही रन्कोमा उनले जेठ ७ गते संसद् नै विघटन गरिदिए ।
एउटा दलले दुई तिहाइको मत पाएको यो संसद्को तेस्रो वर्षको पाँच महिना (पुस–जेठ)का अन्तरमा एउटै प्रधानमन्त्रीबाट संसद् दुई पटक विघटनमा पर्यो ।
संसद् यति छोटो समयमा विघटनमा पर्नुपर्ने कारण भने आफ्नो नेतृत्व जोगाउनु मात्रै थियो । पछि उनले भन्न थाले– ‘त्यो विघटन गरिएको थिएन भने एमाले समाप्त हुन्थ्यो ।’ यसको अर्थ हो, उनले आफ्नो दल जोगाउन संसद् विघटन गरेका थिए ।
ओलीले काम नलाग्ने भनेको यही संसद्ले पुनर्स्थापन भएपछि यतिबेलासम्मको संसदीय इतिहासमा नै पूरा कार्यकाल चलेर रेकर्ड बनायो ।
प्रचण्डको धोका
दोस्रो आम निर्वाचनमा उनी एउटा गठबन्धनबाट चुनाव लडे । यो चुनाव एक–अर्काबीच सिट नै बाँडफाँट गरेर भएको थियो । जस्तो, उनी आफैँ उम्मेदवार भएको गोर्खाको निर्वाचन क्षेत्रमा यो गठबन्धनबाट अरु कोही थिएनन् ।
मंसिरमा यो निर्वाचन सम्पन्न भयो । पुसमा उनले सरकार बनाउँदा निर्वाचनताका प्रतीपक्षमा रहेको दलसँग मिल्न गए । मतदाताले पाँच वर्षका लागि प्रकट गरेको मतले महिना दिनमै धोका पायो ।
धोका दिनेलाई धोकै पाइने डर
संसद्को यो कार्यकाल प्रारम्भ हुँदाको बखत ओलीले देउवालाई सबभन्दा ठूलो दलको हैसियतले सरकार बनाउँदा त्यसलाई आफूले समर्थन गर्ने भनी भद्र समर्थन दिएका थिए भन्ने विवरण त्यसबेला नै सार्वजनिक भएकै हुन् । तर ओलीले सरकार गठन हुने क्षण आइपुग्दा भने तेस्रो दलका नेता प्रचण्डलाई समर्थन गरे ।
ओलीले यसरी समर्थन गरेका प्रचण्डले भने दुई महिनामै ओलीसँगको भद्र सहमति तोडेका थिए अर्थात् देउवालाई धोका दिने ओलीले यति छोटो समयमा नै आफैँले धोका पाए । त्यसबेला ओलीले पुस १० बनेको आफ्नो समर्थनको प्रचण्ड सरकारलाई फागुन २१मै छाड्नु परेको थियो ।
त्यसपछि संसद्को यही कार्यकाल अर्थात् वर्षदिनकै अन्तरमा ओलीले फेरि आफूले दिएको समर्थनको चौथो महिनामा नै प्रचण्डलाई नै धोका दिए ।
यतिछोटो समयमा ओलीले देउवा र प्रचण्डलाई यसरी धोका दिएका थिए त्यसपछि उनी प्रधानमन्त्री हुनासाथ उनमा त्यही धोका आफूतिर फर्कने डर पलाएको हुनुपर्छ ।
पहिलो विघटनमा अदालतले गलत अर्थात् असंवैधानिक काम भनेर पुनस्थापन गरेको करिब तीन महिना (२०७७ फागुन ११ २०७८ जेठ ७)कै अन्तरमा अर्को विघटन भएको थियो ।
यस्ता धोकाकोे गणाना गरिँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने बढी धोका खानेमा पर्दा रहेछन् । आफ्नो दलभित्र के गरेका होलान् भन्ने भिन्नै कुरा हो तर अरु नेतालाई उनले धोका दिएका घटना उल्लेख्य गणनामा देखिँदैनन् ।
धोकाको पीडा कस्तो ?
माओवादीका अध्यक्ष प्रचण्ड सबैभन्दा बढी यताउता गरिरहने पात्र भनेर चिनिन्छन् । तर जब उनले कसैबाट धोका पाए त्यसको पीडा भने उनकै लागि असह्यजस्तै देखियो । गएको असारमा एमालेका अध्यक्ष ओलीले प्रचण्डसँगको सहकार्य छाडेपछि अर्थात् धोका दिएपछि आफ्नो १८ महिने सत्ता छाड्न परेका उनले संसद्मा धोकाको पीडा कस्तो हुँदोरहेछ भन्ने यसरी सुनाए –
‘असार १७ गते राति दुई दलका बीचमा सहमति र हस्ताक्षर भइसकेपछि १८ गते बिहान आएर नेकपा एमालेका अध्यक्षले भएकै छैन भन्नुभो । मैले कान्तिपुर देखाएर भनेँ, ‘यी फोटो आइसक्यो, तपाईँ र शेरबहादुर देउवाले हस्ताक्षर गरेको ।’ उहाँले कहिलेको फोटो रहेछ भन्नुभो । ढाँटछलको पनि एउटा सीमा हुन्छ नि । ‘अनि, नेपाली कांग्रेसका सभापतिलाई फोन गरेँ, ‘के हो ? एमालेका अध्यक्षले त सहमति भएको छैन, दिउँसो ४ बजे तीनवटा नेता बसेर टुंग्याउँ भन्दै हुनुहुन्छ’ ।
कांग्रेसका सभापतिले भन्नु भो– सहमति भइसक्यो, हस्ताक्षर भइसक्यो, म ढाँट्न जान्दिनँ । सरी । तीन जना बस्न आवश्यक छैन । तीनवटा बसेर के गर्ने, सहमति भइसक्यो ।
यसमा हाम्रो एमाले अध्यक्षको कला, क्षमता तारिफ गर्न लायक छ । धेरै नै तारिफ गर्न लायक छ । उहाँको हैसियतका यहाँ अरु कोही पनि छैनन् । मलाई राम्रो फकाउनुभो । वामपन्थीपो मिल्नुपर्छ, कांग्रेससँग ‘कांग्रेस को हो ? धेरै ‘धेरै’ ।
तर, जसलाई मैले वाम सेन्टिमेन्ट ठानेको थिएँ, राष्ट्रको बृहत्तर हित र समाजवादको आधार यताबाट मात्रै हुन्छ भनेर विश्वास गरेँ, त्यो षड्यन्त्र रहेछ भन्ने थाहा पाउन म ढिलो भएँ । केही मान्छेहरू कहिल्यै पनि कुण्ठा र प्रतिशोधबाट निस्कन सक्दैनन् भनेर मैले हिसाबै गर्न सकिनँ । समयले मान्छेलाई सुधार्छ भन्ने विश्वास गरेँ । म लामा–लामा, मीठा, भरोसापूर्ण सम्वादहरूबाट लठ्याइएँ । अल्मलिएँ । स्वर्ग र नर्क सँगै जाने ! यो स्वर्ग र नर्क सँगै जाने कुरा असार १७ गतेको हो । १७ को बिहान स्वर्ग र नर्क सँगै जाने, ०८४ को चुनाव वामपन्थीहरू नै मिलेर लड्ने, त्यसपछि पार्टी पनि एउटै बनाउने, ढुक्क हुनुहोस् भनेपछि त म त मख्ख परेँ ।
मलाई अहिले कस्तो लाग्छ भने मैले नेपाली कांग्रेससँगको गठबन्धन छाडेर एमालेको प्रस्तावमा प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसका सभापतिको मनस्थिति, मनोविज्ञान जे अनुभूत गरेँ, आज मेरो उहाँको जस्तै स्थिति छ । आज मेरो त्यो स्थिति छ । झुक्याइएँ (संसद्मा सम्बोधन २०८१ असार २८ ) ।
धोकाधडीका १० नमूना
(एक) सबैभन्दा ठूला मानिएका तीन दलका सबैभन्दा ठूला नेताबीच धोकाधडीको राजनीति गणतान्त्रिक संविधान जारी भएपछि झन् तीव्र बन्यो । संविधान जारी भएको महिना २०७२ असोजमै एमाले र माओवादीका नेताबीच आधा–आधा चलाउने भनेर सम्झौता भएको थियो । त्यसअनुसार पहिलो चरणका लागि ओली प्रधानमन्त्री भए । तर जब प्रचण्डको पालो आउन लाग्यो त्यसपछि ओलीले सहमति तोडे अर्थात् सहमतिअनुसार प्रधानमन्त्री छाडेनन् । संविधानको यो दशकमा यी नेताबीच एक–अर्कालाई दिन थालिएको धोकाको यो प्रारम्भ विन्दु थियो ।
(दुई) त्यसबेला एमालेका अध्यक्ष ओलीले आफूलाई प्रधानमन्त्रीका लागि ठाउँ नछाडेपछि प्रचण्ड नेकाका सभापति देउवासँग सहकार्य गर्न आइपुगे । यो २०७३ को कुरा हो । प्रचण्डकै नेतृत्वमा ओलीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता भयो । ओली सरकार ढल्यो । प्रचण्ड प्रधानमन्त्री भए । यो सम्झौतामा प्रचण्ड देउवा ‘आलोपालो’ सरकार चलाउने समझदारी भएको थियो । पहिलो चरणमा देउवाको सहयोगमा दाहाल प्रधानमन्त्री बने । त्यसपछि दाहालको सहयोगमा देउवा पनि । यो २०७४ साल प्रारम्भको कुरा हो ।
(तीन) देउवाको नेतृत्व चलिरहँदा २०७४ साल असोजमा देउवाले प्रचण्डको सहयोग पाएनन् । देउवाको सरकारमा रहेकै बेला प्रचण्ड एमालेसँग वाम गठबन्धन गर्न पुगे । यो देउवाले प्रचण्डबाट पाएको धोका थियो । सत्ता सहयात्रा गरिरहेको आफ्नै सहयात्री दल विपक्षीसँग मिलेर चुनावी मोर्चा बनाइएको घटना भने आफैँमा धोका नै हुनुपर्छ । अर्कोतिर गठबन्धन गरेको माओवादी त्यो चुनावभरि देउवाको सरकारमा भने रहिरह्यो । माओवादीबाट यता विपक्षीसँग गठबन्धन गर्ने र उता सरकारमा पनि रहिरहने दोहोरो भूमिका देखाइयो ।
(चार) संविधान जारी भएपछि २०७४ मंसिरमा पहिलो आमनिर्वाचन सम्पन्न भयो । वाम गठबन्धनले करिव दुई तिहाइ बहुमत ल्यायो । वाम गठबन्धनको लक्ष्य पार्टी एकीकरणसम्मको थियो । अन्ततः एमालेसँग माओवादी पार्टी एकता नै भयो । यो एकतामा दुई दलका नेता अर्थात् ओली प्रचण्ड आधा–आधा समय प्रधानमन्त्री बन्ने भन्ने थियो । तर पछि प्रचण्डको पालो आएपछि ओलीले उनलाई छाडेनन् अर्थात् धोका दिए ।
(पाँच) यसरी कांग्रेस माओवादी गठबन्धन २०७४ असोजमा नै तोडिन गयो । प्रचण्डले कांग्रेस माओवादी गठबन्धन छाडेर एमाले माओवादी गठबन्धन बनाएपछि र सोहीअनुसार चुनाव यस्तो गठबन्धन ४० वर्षसम्म कायम रहने बताइएको थियो । यो काम एमालेका अध्यक्ष्य ओलीको पहलमा भएको थियो । यी दुई दलबीच यो चुनावी गठबन्धन थियो । एमाले माओवादीको यो गठबन्धन चुनावसम्म नै गयो । चुनावमा परिणाम पनि राम्रै आयो । त्यसपछि यी दुई दल विलय भए । विलय हुँदा ओली प्रचण्ड आधा–आधा समय आलोपालो प्रधानमन्त्री बन्ने भन्ने थियो । यो पार्टी एकता गर्दाकै सर्त हो । तर जब आफ्नो पालो सकिन लाग्यो त्यसपछि ओलीले अनेक जालझेल गर्दै अन्त्यमा २०७७ पुस ५मा आफ्ना दलका कसैसँग परामर्श नै नगरी संसद् विघटन गरिदिए । यो ओलीले प्रचण्डलाई दिएको धोका थियो ।
(छ) ओलीले संसद् विघटन गरेपछि प्रचण्ड उनका विरुद्ध सडकमा नै झरे । यो घटनापछि प्रचण्ड फेरि देउवासँग गठबन्धन गर्न पुगे । प्रचण्ड देउवाको यो मिलनका कारण ओलीले प्रचण्डबाट धोका पाएको रुपमा लिइयो । यो बेलासम्म ओली प्रचण्ड मिलेर बनेको नेकपा कायमै थियो । तर यता अदालतको आदेशबाट संसद् पुनस्र्थापनापछि यो गठबन्धनबाट देउवा प्रधानमन्त्री बने । देउवा–प्रचण्डको यो गठबन्धन पछिल्लो चुनावसम्म नै गयो । यता ओलीले भने आफूले धोका पाएको ठाने ।
(सात) २०७९ मंसिर ४मा सम्पन्न आम चुनावमा कांग्रेस सबैभन्दा ठूलो र माओवादी तेस्रो दल बन्यो । सिटहरू बाँडफाँट नै भएको यो चुनावको जनमतमलाई समेत त्यागेर प्रचण्ड सरकार बनाउन फेरि एमालेसँग गठबन्धन गर्न गए । एमालेको समर्थनमा यो वर्षको पुस १०मा प्रधानमन्त्री पनि बने । कांग्रेस छाड्दा प्रचण्डले पूर्वसहमतिविपरीत चुनावपछि पहिलो कार्यकाल सरकारको नेतृत्व गर्नबाट रोकेका कारण देउवालाई छाड्न परेको भनिरहे । पुस १०को ओली–प्रचण्ड गठबन्धनमा पनि ओलीलाई २ वर्षपछि छाड्ने भद्र सहमति भएको थियो । यो चरणमा देउवाले धोका पाए ।
(आठ) तर प्रचण्ड ओलीको यो गठबन्धन दुई महिना पनि टिकेन । २०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरियो र प्रचण्ड पुनः काग्रेसतर्फ लागे । २०७९ चैत ६ गते कांग्रेसको समर्थनमा विश्वासको मत पाएर उनी निरन्तर प्रधानमन्त्री भए । यसमा पहिले एमालेलाई राष्ट्रपति दिने भनिएको थियो । कांग्रेससँगको गठजोडमा रामचद्र पौडेल राष्ट्रपति बने । ओलीले धोका पाए ।
(नौ) पहिलेकै जस्तो देउवा–प्रचण्डको आलोपालो गर्ने भनिएको यो गठबन्धन पनि बनेको एक वर्ष नपुग्दै भत्कियो । प्रचण्डले देउवाको साथ छाडेर अर्थात् धोका दिएर फेरि ओलीसँग मिसिन पुगे । २०८० फागुन २१मा एमाले माओवादीको नयाँ गठबन्धन बन्यो । यसरी देउवाले पटक–पटक प्रचण्डबाट धोका खाए । करिब १४ महिनाको समयमा माओावदी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री भैरहँदा नै उनकै पहलमा तीनवटा गठबन्धन फेरियो । यो समयमा उनले दुईवटा दलका दुई नेतालाई तीन पटक धोका दिए ।
(दश) २०८१ असारमा प्रचण्डलाई ओलीले पाँच महिना पनि पुग्दा नपुग्दै धोका दिए । माथि उल्लेख भएको पीडाको सन्दर्भ त्यही हो । कांग्रेस–एमालेबीच २०८१ असार १७ गते मध्यरातमा स्थिरता र संविधान संशोधनका लागि भन्दै ओली र देउवाबीच राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भयो । प्रचण्डको जादुयी नम्बर र सधैँ उथलपुथल गरिरहन्छु र पाँच वर्ष चलाउँछु भनिरहेका उनले अन्यतः सत्तारोहण भएको १८ महिनामा सत्ता छाड्नु पर्यो ।