काठमाडौं । खानेपानी मन्त्रालय र मातहतका निकायमा गत मङ्गलबार ‘जेन–जी पुस्ता’को प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट पुगेको क्षतिको विवरण संकलन गर्ने कार्य सुरु गरिएको छ ।
प्रारम्भिक विवरणअनुसार प्रदर्शनका क्रममा मन्त्रालय र मातहतका चारपाङ्ग्रे १४ गाडी जलेर पूर्णरुपमा नष्ट भएका र छ गाडीमा तोडफोड गरिएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले बताए ।
उनले भने, ‘आदोलनका क्रममा क्षति गरिएका मोटरसाइकलको विवरण आउन बाँकी छ ।’ त्यसैगरी, ‘जेन–जी पुस्ता’को आन्दोलनका कारण मन्त्रालय तथा मातहतका देशभरिमा रहेका कार्यालयमा भएका क्षतिका विषयमा जानकारी गराउन आज पत्राचार गरिएको सहसचिव पुरीले बताए । उनका अनुसार मन्त्रालयले तीन दिनभित्र आगलागीबाट क्षति भएका भौतिक संरचना, अन्य उपकरणलगायत गाडीको विवरण संकलन गर्ने तयारी गरिरहेको छ । आन्दोलनकारीको आगजनीका कारण सिंहदरबारका अधिकांश भवन आगलागीबाट जले पनि खानेपानी मन्त्रालय भने जोगिएको छ ।