काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले हकप्रद सेयरको बिक्री अवधि थप गरेको छ । कम्पनीले यही भदौ २२ गतेदेखि लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद सेयरमा बोलपत्र पेस गर्ने अवधि थप गरेको हो ।
सोअनुसार कम्पनीको लिलामी सेयरमा अब यही असोज पाँच गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ । हाल मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्यनगर गरी अवधि थप गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले गत असार २५ गतेदेखि साउन २० गतेसम्म एक बराबर शुन्य दशमलव ४२ को अनुपातमा निष्काशन गरेको हकप्रद सेयरमा आवेदन नपरेको सेयर बिक्री गरेको हो ।
कम्पनीले संस्थापक समूहतर्फबाट ३० हजार ३८ दशमलव ५७ कित्ता र सर्वसाधारण समूहतर्फको तीन लाख २८ हजार चार सय ७३ दशमलव ९१ कित्ता लिलाम बिक्रीमा ल्याएको हो । सेयरको न्यूनतम मूल्य एक सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा संस्थापकतर्फ न्यूनतम एक हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम एक सय कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।