काठमाडौं । एसवाई प्यानल लिमिटेडको साधारण सेयरको बिक्री कार्य स्थगन भएको छ । कम्पनीले यही भदौ २९ गते आइतबारबाट उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी सात करोड ५८ लाख ७१ हजार नौ सय रुपैयाँबराबरको सात लाख ५८ हजार सात सय १९ कित्ता सेयर निष्काशन गर्न लागेको थियो ।
कम्पनीले सूचना जारी गर्दै हाल देशमा उत्पन्न विषम परिस्थितिका कारण साधारण सेयरको निष्काशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरेको जानकारी दिएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत भदौ १७ गते एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ५२ करोड ३२ लाख ५४ हजार आठ सय रुपैयाँबराबरको ५२ लाख ३२ हजार पाँच सय ४८ कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति पाएको थियो ।
सोमध्ये जारी पुँजीको दुई प्रतिशत अर्थात् एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको दुई करोड ६१ लाख ६२ हजार सात सय रुपैयाँबराबरको दुई लाख ६१ हजार छ सय २७ कित्ता उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सर्वसाधारणका लागि छुट्टाइएको मध्येबाट १० प्रतिशत अर्थात् चार करोड ९७ लाख नौ हजार दुई सय रुपैयाँबराबरको चार लाख ९७ हजार ९२ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि जारी गर्ने घोषणा गरेको थियो । सोहीअनुसार कम्पनीले यही भदौ २९ गतेबाट उद्योग प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारीका क्रममा रहेका नेपालीहरूको लागि साधारण सेयरको बिक्री कार्य सुरु गरेकोमा विषम परिस्थितिका कारण दोस्रो सूचना जारी नभएसम्मको लागि सेयर बिक्री कार्य स्थगन गरेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।