काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योग सहित निजी क्षेत्रको मनोबल नगिर्ने गरी आर्थिक स्थायित्वलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ ।
महासंघले आइतबार विज्ञप्ति जारी गरी भ्रष्टाचार निवारण, सुशासनको प्रत्याभूति, सामाजिक सञ्जालको निर्वाध सञ्चालनलगायतका मागसहित ‘जेन–जी’ पुस्ताद्वारा राजधानीलगायतका अन्य प्रमुख सहरहरुमा गरिएको प्रदर्शनमा सार्वजानिक तथा निजी क्षेत्रको ठूलो क्षति भएको जनाएको छ । आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिसहित ऐतिहासिक धरोहरहरूमा भएको व्यापक आक्रमण, आगजनी, तोडफोड तथा लुटपाटका घटना निन्दनीय भएको महासंघ उल्लेख गरेको छ । निजी क्षेत्रको मनोबल गिर्ने गरी जो कोहीबाट भएको त्यस्ता ध्वंसात्मक गतिविधिको महासंघले कडा शब्दमा भत्र्सना एवं निन्दा गरेको छ ।
राष्ट्रिय अर्थतन्त्रमा दीर्घकालीनरुपमा गम्भीर असर पर्ने गरी भएका त्यस्ता हिंसात्मक गतिविधिहरूले नेपालको पूर्वाधारलगायतका क्षेत्रमा लगानी गरेका स्वदेश तथा विदेशका तमाम उद्योगी व्यवसायीसहितको समग्र निजी क्षेत्र त्रसित रहेको महासंघको निचोड छ । ती आक्रमण, आगजनी, तोडफोड तथा लुटपाटमा संलग्नलाई तत्काल कानुनअनुसार कारबाही गर्न जोडदार माग गर्दै महासंघले आन्दोलनका क्रममा निर्माणधीन संरचनाहरूमा भएको क्षतिको सम्बन्धित निर्माण कम्पनीलाई सम्झौताबमोजिम राहत तथा सुविधा दिन आग्रह गरेको छ । साथै, अहिलेको विषम परिस्थितिमा निजी क्षेत्रलाई सुरक्षित वातावरणमा व्यवसाय सञ्चालन गर्न दिनु राज्यको पहिलो दायित्व भएकाले त्यसतर्फ अविलम्ब पहलकदमी लिन महासंघले अपिल गरेको छ ।
मुलुकमा हाल अन्तरिम सरकार गठन भइसकेको अवस्थामा जेन–जी पुस्ताको चाहनाअनुरुप देशमा सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्यका लागि तत्काल आवश्यक पहल गर्न महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । पूर्वाधार विकास तथा पुनर्निर्माण कार्यलाई तीव्रता दिने कार्यमा सहज हुने व्यावहारिक ऐन कानुन एवम् नीतिगत व्यवस्था गरी जवाफदेहितासहितको समय सापेक्ष ऐन, कानुन एवम् नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याउन महासंघले माग गरेको छ । राष्ट्रले भोगिरहेको यस अकल्पनीय क्षतिपश्चात्को पुनर्निर्माणमा सहयोग गर्न महासंघ अझ प्रतिबद्ध भएर लाग्न दृढ रहेको विज्ञप्तिमा उल्लेख छ । नागरिकले आधारभूत सेवा पाउन वा उद्योग÷व्यवसाय सञ्चालन गर्न ‘अवैध’ बाटो अपनाउनुपर्ने विद्यमान विकराल प्रणालीको अन्त्य गरी ‘सम्बन्ध वा पैसाविना केही हुँदैन’ भन्ने मानसिकताको अन्त्य गर्दै भ्रष्टाचारमा संलग्नलाई कडा कारबाही गरी निर्माण उद्योगमा व्याप्त तमाम विसङ्गति अन्त्यका लागि महासंघले नवगठित सरकार समक्ष माग राखेको छ ।
पुँजीगत खर्चमा वृद्धि गरी अर्थतन्त्र चलायमान बनाउन र संकटग्रस्त अवस्थामा रहेको निर्माण उद्योगसहित सिङ्गो निजी क्षेत्रको मनोबल नगिर्ने गरी आर्थिक स्थायित्वलाई उच्च प्राथमिकतामा राखेर अविलम्ब ठोस आर्थिक रणनीतिसहित अघि बढ्न महासंघ पनि नवगठित सरकार समक्ष महासंघले अपिल गरेको छ । महासंघले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जलि व्यक्त गर्दै घाइते भएका समस्त प्रदर्शनकारी, सुरक्षाकर्मीहरु र सर्वसाधारणको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।