ललितपुर, गोदावरी नगरपालिका–१४ बाँडेगाउँस्थित सन्त नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुनजी) को आश्रम प्रदर्शनकारीहरूले आगजनी गरेपछि पूर्णरूपमा ध्वस्त भएको छ।जलेका भग्नावशेष, धूवाँको गन्ध र खरानीका थुप्राले आश्रम कुनै विध्वंसपछिको दृश्यजस्तै बनेको छ। किसुनजीले प्रयोग गर्ने ऐतिहासिक बा २ च १८४२ नम्बरको जिपदेखि फोटो, कागजात, उपहार, धार्मिक तथा सांस्कृतिक सामग्री सबै आगोमा खरानी भएका छन्। स्थानीयका अनुसार एक युवाले किसुनजीको प्रतिमा घिसार्दै लगेर जलाएको बताएका छन्। माटोको अर्धकद प्रतिमा फुटाइएको अवस्थामा भेटिएको छ। गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारीले किसुनजीका कागजात, तस्बिर, भेटघाटका सम्झना, लकेटदेखि कांग्रेसका ऐतिहासिक डकुमेन्टहरू समेत जलाएर नष्ट भएको बताएकी छन् । केही सामग्री चोरी गर्नेहरूको पहिचान सीसीटीभी फुटेजमार्फत भएको र फिर्ता गर्न सूचना जारी गरिएको उनले जानकारी दिइन्। सन् १९४७ देखि किसुनजीसँग जोडिएका अभिलेख सुरक्षित राखिएका एल्बमहरू समेत जलेका छन्। कांग्रेस नेताका अनुसार आश्रमलाई थप व्यवस्थित बनाउन तयारी भइरहेको बेला यो विनाशले पार्टीको मात्र होइन, प्रजातान्त्रिक आन्दोलनको धरोहर नै समाप्त भएको उल्लेख गरेका छन्।किसुनजी २०४६ को अन्तरिम सरकार र २०५६ मा गरी दुईपटक प्रधानमन्त्री बनेका थिए। अविवाहित जीवन बिताएका उनले सम्पत्ति नजोड़ी सरकारकै जमिनमा आश्रम बसोबास गरेका थिए। उपचारको क्रममा २०६७ साल फागुन २० गते निधन भएपछि यही आश्रममा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो।