धनगढी । कैलालीको गोदावरी नगरपालिका– ११ का जनप्रतिनिधिहरुले नगर भवनको पुनर्निर्माणको लागि आफ्नो एक महिनाको सेवासुविधा नलिने भएका छन् । वडा कार्यालयमा सोमबार बसेको बैठकमा वडाका सबै जनप्रतिनिधिहरुले नगरपालिकाको पुनर्निर्माणका लागि एक महिनाको सेवासुविधा नलिने निर्णय गरेका हुन् ।
जेन–जीको आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले नगरपालिकाको भवनमा आगजनी गरिदिँदा पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । क्षतिग्रस्त बनेको भवन मर्मत सम्भारका लागि सहयोग गर्ने उद्देश्यले सेवासुविधा नलिने घोषणा गरेको वडाध्यक्ष प्रेम सिँ बडैलाले बताए । वडा नं. ११ का वडासदस्य कुमार सिँ बडैला, गंगा देवी खड्का, दिपा दमाई र दिल बहादुर साउँद छन् । वडाध्यक्षले २५ हजारको हाराहारीमा मासिकरुपमा सेवासुविधाबापत पाउने गरेका छन् भने वडासदस्यहरुले साढे नौ हजारको हाराहारीमा पाउने गरेका छन् ।