मुस्ताङ । यहाँको लोमान्थाङस्थित कोरला नाकाबाट एक सय बढी विद्युतीय सवारी आयात गरिएका छन् । भन्सार विभागको प्रक्रिया पुर्याई चीनबाट आयात गरिएका ती सवारी हाल भन्सार कार्यालय न्हेचुङमा राखिएका छन् ।
मुस्ताङ भन्सार कार्यालयले कोरलानाकाबाट करिब पाँच सय बढी बीवाईडी कम्पनीका सवारी आयात गरिने जनाएको छ । आठ दिनअघि मात्रै खुला गरिएको यस नाकाबाट हालसम्म एक सय बढी विद्युतीय सवारी भित्रिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । यसअघि ती विद्युतीय सवारी रसुवागढी र तातोपानी नाकाबाट आयात गर्ने तयारी थियो । तर, त्यहाँका नाका बाढी पहिरोका कारण अवरुद्ध भएपछि कोरलानाका वैकल्पिकरूपमा प्रयोग गरिएको हो । ‘भन्सार कार्यालयका अनुसार कोरलानाकाबाट पाँच सयभन्दा बढी ईभी ल्याउने जनाइएको छ,’ उनले भने, ‘चिनियाँ भन्सारमा जाँचपास भए पनि नेपाली भन्सारले पनि जाँचपास गर्छ ।’ चीनबाट आयात गरिएका विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन प्रमुख समस्या रहेको मुस्ताङ भन्सार कार्यालय प्रमुख रमेश खड्काले जानकारी दिए ।
यस नाकाबाट गाडीसहित पर्वलक्षित लत्ताकपडा, विद्युतीय र कस्मेटिक सामग्री आयात गर्ने तयारी गरिएको छ । चिनियाँ भन्सारमा जाँचपास भई नेपाल भित्रिएका केही मझौला मालवाहक कन्टेनर न्हेचुङ आइपुगेका छन् । मालवस्तु ढुवानीका लागि ७० देखि ८० वटा मझौला कन्टेनर बेनी–जोमसोम–कोरला सडक हुँदै कोरला नाका आइपुगेको भन्सार प्रमुख खड्काले बताए ।