काठमाडौं । नेपाल टेलिकमले हुम्ला जिल्लाको सर्केगाड तथा चंखेली गाउँपालिकामा फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।
टेलिकमले हुम्लाको सर्केगाड गाउँपालिका–१ मा यही भदौ २५ गतेदेखि टु जी र फोरजी सेवा सञ्चालनमा ल्याएको हो । फोरजी सेवा सञ्चालनमा आएपश्चात् सर्केगाड गाउँपालिका वडा नं. १, २, ४, ५ र ६ अन्तर्गत पर्ने क्षेत्रहरू जिलागाउँ, माझगाउँ, घितागाउँ, नाउली, लुमअन्तर्गत पर्ने भूभागहरूमा सेवाग्राहीहरू गुणस्तरीय सेवाबाट लाभान्वित भएको कम्पनीले जनाएको छ ।
यस्तै कम्पनीले हुम्ला जिल्लाकै चंखेली गाउँपालिका–६ मा पनि भदौ २७ गते बाट टु जी र फोरजी सेवा सञ्चालनमा ल्याएको छ । फोरजी सेवा सञ्चालनमा आएपश्चात् चंखेली गाउँपालिका वडा नं. ४, ५ र ६ अन्तर्गत पर्ने क्षेत्रहरू बरैहीगाउँ, सरु गाउँपालिका, देउली, निमिगाउँ र चंखेली गाउँपालिकाअन्तर्गतका भूभागहरूमा सेवाग्राहीहरूले गुणस्तरीय सेवाबाट लाभान्वित भएका छन् । टेलिकमले दूरदराजका क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउने कार्यलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको जनाएको छ ।