काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल पर्यटन बोर्डको समन्वयमा नेपालको अर्थतन्त्रको मूल आधार पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्ने विषयमा छलफल भएको छ ।
पर्यटन बोर्डमा सोमबार नेपालका पर्यटनसम्बन्धी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँगको छलफलका क्रममा जेन–जी आन्दोलनका कारण नेपालको पर्यटन संरचनामा पनि ठूलो क्षतिबाट सिर्जित चुनौतीका बाबजुद नेपालको पर्यटन क्षेत्र पुनःउत्थान र प्रगतिको मार्गमा अघि बढिरहेको निष्कर्ष निकालिएको छ । पर्यटन मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष हरिप्रसाद मैनालीले पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्नका लागि नीतिगत अड्चनहरु फुकाउन मन्त्रालय प्रतिबद्ध रहेको बताए । उनले पर्यटन क्षेत्रको पुनःउत्थानका लागि आवश्यक सुधारका काममा तत्काल पहल थालिएको जानकारी दिए । नेपालको छवि सुधार र सूचना प्रविधिको अधिकतम् प्रयोगमार्फत् नेपाल सुरक्षित गन्तव्य भएको विषय पर्यटक लक्षित मुलुकमा प्रवाह गर्न आवश्यक पहल गर्न काम थाल्ने उनको भनाइ छ ।
सचिव मैनालीले नेपाल आउने पर्यटकलाई पहिलो प्राथमिकतामा राख्दै उनीहरुको सुरक्षित आवागमनको सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिएका छन् । उनले भने, ‘यस घटनाले हामीलाई धेरै सिकाएको छ । प्रधानमन्त्री नियुक्ति र क्याबिनेट विस्तार हुने क्रम सुरु भएसँगै नेपालमा आन्दोलन सेफल्यान्डिङ भयो भन्ने सन्देश विश्वभर पुगेको छ । हामी आशावादी भएर काम गरिरहेका छौँ ।’
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले यस सिजनलाई सक्रिय बनाउनका लागि ‘पर्यटन प्याकेज’ हरु सार्वजनिक गर्नुपर्ने बताए । उनले दूतावास, एनआरएनए र अन्य सञ्जालमार्फत नेपाल सुरक्षित छ भन्ने सन्देश दिन आवश्यक रहेको बताए । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख मणिराम लामिछानेले पोखरामा रहेका पर्यटन व्यवसायीसँग त्यहाँ भएको क्षतिको विवरण संकलनका लागि समन्वय भइरहेको जानकारी दिए । पोखरामा रहेका र त्यहाँ आवागमन गर्ने पर्यटकहरुलाई आवश्यक सहजीकरण गर्न तयार रहेको उनको भनाइ थियो । उनले भने, ‘हाम्रा ट्रेकिङ रुटहरु सुरक्षित छन् र साहसिक पर्यटकीय गन्तव्यमा पनि सहज आवागमन सुरु भइसकेको छ । त्यसकारण पोखरा आवागमन गर्ने पर्यटकहरुलाई सहजीकरणका लागि हामी तयार छौँ ।’
नेपाल होटल व्यवसायी संघका अध्यक्ष विनायक शाहले होटल व्यवसायमा क्षति भए पनि पाहुनाका लागि स्वागत र आतिथ्य सेवामा कुनै कमी नहुने बताए । ‘साहसिक पर्यटनका क्षेत्रमा खासै असर परेको छैन । साहसिक पर्यटनका क्षेत्रहरु सुरक्षित भएकाले पर्यटकहरुको संख्या बढ्दै गएको छ,’ उनले भने । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाटा) का अध्यक्ष कुमारमणि थपलियाले नेपाल सुरक्षित रहेको सन्देशलाई प्रवाह गर्नुपर्ने बताए । ‘प्राकृतिक विपद् र अहिलेको संकट फरक भएकाले हामीले दीर्घकालीन समाधानमा काम गरिरहेको छौँ र थप रणनीतिहरु बनाउनुपर्नेछ’, उनले भने । पर्यटन बोर्डका सदस्य ऋषिराम भण्डारीले रिकभरिका लागि निरन्तर प्रयत्न आवश्यक रहेको बताए । ‘हरेक संकटपछि नेपालको पर्यटन पुनःउत्थानमा पाँच–पाँच वर्ष लाग्ने गरेको छ । यसपटक हामीले छोटो अवधिमै रिकभरि गर्नेगरी काम गर्नुपर्छ’, भण्डारीले भने ।
त्यस्तै, बोर्ड सदस्य तथा पाटाका महासचिव नरेन्द्रदेव भट्टले नेपाललाई सुरक्षित गन्तव्यका रूपमा प्रचार गर्न विदेशस्थित नेपाली दूतावास र नेपालस्थित विदेशी नियोगहरुसँग समन्वय गर्दै विदेशी पर्यटकको सुरक्षा प्राथमिकतामा ध्यान दिनुपर्ने बताए । टान अध्यक्ष सागर पाण्डे र कैलाश टुर अपरेटर एसोसिएसनका अध्यक्ष विमल नहर्कीले कैलाश यात्रामा सहजीकरण गर्नुपर्नेमा जोड दिए । नेपाल पर्यटन बोर्डले स्थिति सामान्य भएसँगै आइतबार नेपालका पर्यटनसँग सम्बन्धित निकायका प्रतिनिधिहरुसँग छलफल गरेको थियो । उक्त छलफलका क्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विगतका विपद् तथा विभिन्न संकटका समयमा पनि नेपालको पर्यटन क्षेत्रले गति लिएको बताए ।
त्यसैगरी, बोर्डले सोमबार नै नेपालमा रहेका पाँचतारे र चारतारे होटलका प्रमुख, महाप्रबन्धक तथा प्रतिनिधिसँग पनि छलफल गरेको छ । उक्त छलफलका क्रममा राज्यले सहजीकरण गरिदिएको अवस्थामा होटल व्यवसायीहरु पाहुनालाई स्वागत गर्न तयार रहेको होटल व्यवसायीहरुले बताएका छन् । उक्त छलफलमा अधिकांश होटल व्यवसायीहरुले पर्यटकहरुको सहज आवागमन र बसाईंका लागि राज्य निकायले सहजीकरण गर्ने विषयमा पनि छलफल भएको जानकारी दिए । छलफलका क्रममा सरकार, पर्यटन बोर्ड र निजी क्षेत्रले एउटै आवाजमा नेपालको पर्यटन पुनःस्थापनाका लागि ऐक्यबद्धता जनाउँदै पछिल्लो समय सिर्जना भएको चुनौतीलाई अवसरमा बदल्ने र नेपाललाई अझ सुरक्षित, आकर्षक र सहज गन्तव्यका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।