काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् अधिकतम ११ सदस्यमै सीमित हुने बताएकी छन्। बीबीसी नेपाली सेवासँगको विशेष अन्तर्वार्तामा उनले राजनीतिक दलसँग आबद्ध नभएका व्यक्तिहरूलाई मात्रै मन्त्री बनाउने स्पष्ट गरेकी हुन्।उनका अनुसार, मन्त्रीहरूको चयन क्षमता र अनुभवका आधारमा हुने छ। हालसम्म तीन जना मन्त्री नियुक्त भइसकेका छन् भने बाँकी पदमा समावेशिता झल्किने गरी व्यक्तित्वहरू खोजिने प्रधानमन्त्री कार्कीले जानकारी दिइन्। “पोलिटिक्समा नरहनु भएका, कुनै संस्थामा काम गरेर अनुभव हासिल गरेका व्यक्तिलाई ल्याउने खोजी भइरहेको छ,” उनले भनिन्।राजनीतिक दलसँग आबद्ध व्यक्तिलाई मन्त्री बनाउँदा निर्वाचनमा ध्यान केन्द्रित गर्न कठिन हुने भएकाले चुनाव नलड्ने व्यक्तिहरूलाई मात्र समावेश गरिने पनि प्रधानमन्त्री कार्कीले स्पष्ट पारेकी छन्।