काठमाडौं । आगामी बुधबारबाट सेयरबजार खुल्ने भएको छ । यसअघि नेपाल स्टक एक्सचेन्जले सार्वजनिक सूचना जारी गर्दै असोज २ बाट मात्र नेप्सेको नियमित कारोबार खुला गर्ने भन्दै सार्वजनिक सूचना जारी गरेको थियो । जेन–जी प्रदर्शनको कारण गएको भदौ २४ गतेदेखि बन्द रहेको सेयरबजार आउने परिस्थिति सामान्य बन्दै गएसँगै बुधबारबाट खोल्ने तयारी गरिएको नेप्सेले जानकारी दिएको छ ।
यसअघि नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले सेयर कारोबार बन्द गर्ने निर्णय गरेको थियो । गएको २४ र २५ गते दुई दिनको लागि नेप्सेले कारोबार बन्द गर्ने निर्णय गरेको भए पनि त्यसपछि भने थप एक साताको लागि कारोबार बन्द गर्न बोर्डले निर्देशन दिएको थियो । बोर्डको निर्देशनअनुसार नेप्सेले आउने असोज २ गतेसम्म सेयर कारोबार बन्द गर्ने सूचना निकालेको थियो । नेप्सेले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९० को उपदफा (१) खण्ड (घ) बमोजिम कारोबार बन्द गरिएको सूचना निकालेको थियो ।
धितोपत्रसम्बन्धी ऐन, २०६३को दफा ९० को उपदफा (१) खण्ड (घ) मा ‘(घ) धितोपत्र बजारसँग परामर्श गरी बढीमा पाँच दिनसम्मका लागि धितोपत्र बजार बन्द गर्न आदेश दिने’ उल्लेख छ । सोही दफामा टेकेर सेयरबजार बन्द गर्ने निर्णय गरिएको थियो । तर अहिले अवस्था सहज हुँदै गएपछि सेयरबजार खोल्न लागिएको नेप्सेले जानकारी दिएको छ ।