काठमाडौं । नेपालमा २००७ सालदेखि अहिलेसम्म पटक–पटक आन्दोलन भए । ती आन्दोलनमध्ये केही धेरैजसो राजनीतिक आन्दोलन थिए । तीमध्ये थोरै मात्र पेशागत आन्दोलन सफल भएका छन् । तर २००७ सालमा प्रजातन्त्रको माग गर्दै आन्दोलन भयो, त्यो सफल भयो भनियो । त्यो सफलता धेरै समय टिकेन । त्यसले सामाजिक रुपान्तरण गर्न सकेन । तत्कालीन राजा महेन्द्रले प्रजातन्त्र खोसे, नेपाली हावापानी माटो सुहाउँदो भनेर निर्दलीय पञ्चायत व्यवस्था लागू गरे ।
त्यसले मुलुकमा विकासको मूल फुटाउने नारा दियो तर त्यो पनि नारामै सीमित भयो । नेपाल जनताको जीवनस्तर एसियाली मापदण्डमा पुर्याउने बाचा पनि नारामै सीमित रह्यो । सबै पञ्च नेपाली, सबै नेपाली पञ्च भनियो, त्यो पनि समय बित्दै जाँदा मित्थ्यासावित हुँदै गयो । २०३६ सालमा पञ्चायत व्यवस्थामा समस्या आयो, निर्दल र बहुदलको जनमत संग्रह गरियो, जनताले सुधारिएको पञ्चायत व्यवस्था रोजे भनियो ।
तर व्यवहारमा केही पनि नसुधारिएपछि २०४६ सालमा ऐतिहासिक जनआन्दोलन भयो र त्यसले राजालाई घुँडा टेकायो, पञ्चायत व्यवस्था खारेज गरियो र दलमाथि लागेको प्रतिबन्ध फुकुवा गरियो । प्रजातन्त्र पुनर्स्थापना भएपछि मुलुकमा आमूल परिर्वतन हुने र सामाजिक रुपान्तरण गरिने जनपेक्षा थियो । तर सत्तामा गएका नेताहरुले त्यो जनअपेक्षाअनुसार काम गर्न सकेनन् र यही बीचमा २०५२ साल फागुन १ गतेदेखि माओवादीले २०४६ मा प्राप्त प्रजातन्त्रमा पराजित भएको भएको ठान्ने समूहको भावना समेटेर हिंसात्मक विद्रोह सुरु गर्यो र यहीबीचमा २०५८ सालमा नेपाली जनतालाई बहुदल फिर्ता दिने राजा वीरेन्द्रको वंशनाश हुने गरी दरबार हत्याकाण्ड गरियो ।
त्यसपछि सेनाको बलमा सडकबाट टिपेर राजा बनाइएका ज्ञानेन्द्र शाहले २०५९ असोज १९ गते शेरबहादुर देउवा नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्त गरेर शासन सत्ता हातमा लिएर प्रधानमन्त्री बन्न निवेदन आह्वान गरे । उनको उर्दीपछि प्रधानमन्त्री बन्न निवेदन दिनेहरुमध्ये तत्कालीन एमाले महासचिव माधव नेपाल एक हुन् । उनले राजा ज्ञानेन्द्रलाई मोहोर दाम चढाएर साष्टाङ्ग दण्डवत गरेको तस्वीर अहिले पनि जनमानसमा भाइरल छ । त्यतिबेलासम्म माओवादी हिंसात्मक विद्रोह जारी थियो । त्यतिबेला माओवादीले आफूसँग असहमत हुनेलाई नियन्त्रणमा लिन्थे, जनअदालत गठन गरेर अभियोग लगाउँथे, उनीहरु नै फैसला गर्थे, उनीहरुले नै दण्ड दिन्थे ।
उनीहरु अत्यन्त उग्र बन्दै गएका थिए । आफैँ भित्रकालाई पनि कारबाही गर्न थालेका थिए तर पनि उनीहरुभित्र दुई लाइन संघर्ष चल्न थालेको थियो । एउटा लाइनको नेतृत्व प्रचण्डले गर्थे, त्यो लाइनले राजासँग वार्ता गर्न चाहेको थियो, एक–दुई चरण वार्ता पनि भयो । तर वार्ता सफल हुन सकेन, अर्को लाइनको नेतृत्व डा. बाबुराम भट्टराईले गरेका थिए । उनी राजासँग होइन राजनीतिक दलसँग वार्ता गर्न चाहन्थे । त्यतिबेला मोहन वैद्यहरुलाई भारतमा पक्राउ गरेर बाबुरामलाई बलियो बनाउने र प्रचण्डलाई गलाउने काम भएको थियो ।
अहिले बाबुराम र मोहन वैद्यहरु प्रचण्डसँग छैनन्, त्यसकारण प्रचण्डलाई पुरानो चाहनाअनुसार पुरानो राजासँग पुरानो चाहनाअनुसार पुराना राजासँग संवाद अघि बढाउन सजिलो भएको छ र आन्तरिकरुपमा नेतृत्वको लोभी वर्षमानहरुले उनलाई सघाइरहेका छन् । उतिबेला माओवादीको हिंसात्मक विद्रोह चल्दा हत्या हिंसाभन्दा पनि सामाजिक रुपान्तरण हुन सक्ने कोणबाट हार्नेहरुको संख्या पनि समाजमा कम थिएन तर २०६२÷६३ को संयुक्त आन्दोलनसँगै १२ बुँदे दिल्ली सम्झौता गरेर शान्ति प्रक्रियामा आएको माओवादी २०४६ सालको जनआन्दोलनमा भाग लिएर २०६३ सालको जनमत संग्रहमा पहेलोमा छाप लगाएर गरेको गल्ती सच्चाएर आएको एमालेभन्दा छिटो र छोटो समयमा बिग्रिएको र सामाजिक रुपान्तरण गर्ने मुद्दा छाडेर माओवादी नेतृत्व भ्रष्टीकरणमा रुपान्तरण भयो, अहिले प्रचण्ड वरिपरिको माओवादी नेतृत्व पहिलेको हत्याहिंसाबाहेक सुन तस्करी, भ्रष्टाचार र कालोधनको कारोबारीले दुर्गन्धित बनेको छ ।
संविधानसभाले बनाएको संविधानले मुलुकमा सामाजिक रुपान्तरणको मुद्दा उठाउने जनअपेक्षा थियो । तर राजनीतिक नेतृत्व सधैँ सत्ताकै छिनाझपटीमा रुमलियो, सत्तालाई सधैँ अतिरिक्त कमाइको माध्यम बनाइयो । भएका राजा मारिए, सडकबाट राजा बनाइए, फेरि सडकमै झारिए, सडकबाट प्रधानमन्त्री सांसद बनाइए, त्यसलाई झारियो, धोबीभुटाइ गरियो, चुनाव हारेकालाई पनि प्रधानमन्त्री बनाइयो, सांसद नै नभएका कर्मचारीलाई पनि प्रधानमन्त्री बनाइयो । हुने नहुने यहीबीचमा भयो, राजाले सबै शासन सत्ता आफ्नै हातमा पनि लिए, दलहरुलाई पेलेर पनि गए, दलहरुले निरंकुशता आधा सच्चियो भनेर राजाको सत्तामा पनि गए ।
पछि चुनाव हुँदा उचाल्ने पछार्ने काम जारी रह्यो, सत्ताको न्यायिक नम्बर पनि बनाइयो तर अहिले ती कुुनै पनि गोटी काम लागेन र प्रधानमन्त्रीका रुपमा केपी ओलीले गरेको हालैको चीन भ्रमणमा जापानविरुद्धको चिनियाँ सैन्य परेडमा सहभागिता चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ्समा नेपालको समर्थन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सहकार्य गर्ने घोषणापछि पश्चिमा शक्तिले जेन–जी पुस्ताको अगुवाइमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गराइयो र त्यसमा जेन–जी युवाहरुलाई मानव ढाल बनाएर भूमिगत गिरोहले अन्धाधुन्द गोली चलायो ।
यहाँसम्मकी एउटै व्यक्तिको छाती र टाउकोमा आठवटासम्म गोली भेटिएको छ । २३ गते बेलुका अमेरिका जापान अस्ट्रेलिया, फ्रान्स, कोरियालगायतका पाँच देशले शान्तिपूर्ण प्रदर्शनमा दमन गर्न रोक लगाए, त्यही बहानामा भोलिपल्ट भदौ २४ गते जेलको ढोका खोलेर क्रिमिनल कैदीहरु छाडियो, संसद् भवन सिंहदरबार सर्वोच्च अदालत राष्ट्रपति निवासलगायत सेनाको नियन्त्रणमा रहेका संरचनामा पनि ढोका खोलेर प्रदर्शनकारीलाई भित्र पस्न दिएर आगजनीको अवसर दिइयो, आफूसँग सहमत नहुने व्यक्ति र नेताहरुको घर छानीछानी डढाइयो । त्यो हत्या, हिंसा र आगजनी कसले गर्यो ? यो गम्भीर प्रश्न अझै अनुत्तरित छ ।
तर आन्दोलन उठान गर्ने प्रस्तावले उठान गरेको सामाजिक रुपान्तरणको मुद्दाचाहिँ स्वागतयोग्य छ । भ्रष्टाचारको अत्यन्त र सुशासनको मुद्दा उठाउने जेन–जी पुस्तालाई अभिप्रेरित गर्ने र संरक्षकत्व प्रदान गर्ने डा. सन्दुक रुइतलाई सलाम छ । उनले उनीहरुलाई सहयोग समर्थन र संरक्षण गर्दा आफूलाई असर पर्छकि भनेर डर त्रास, पाल्नुहुँदैन । यस्तो महान र पवित्र कर्म सबैले गर्न पाउँदैनन् । म्यागा सेसे पुरस्कार वा भारतको पद्मश्री सम्मान नै किन नहोस् अहिलेको यो पुण्यकर्मका अगाडि ती केही होइनन्, मानव कल्याणका सेवा गरेको योगदान आफ्ना ठाउँमा महत्वपूर्ण नभएका होइनन् तर नेपालको सन्दर्भमा सामाजिक रुपान्तरण भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्ने सन्दर्भमा नाति पुस्तालाई नेतृत्व दिएर अघि बढाएको र नेपाल आमाको मुहार फेन गरेको संरक्षकत्व प्रदान गर्न पाउनु सानो कुरा होइन ।
सामाजिक रुपान्तरण नेपालको अधुरो एजेन्डा हो । बीपी गणेशमान, कृष्णप्रसाद, मनमोहनले त्यो एजेन्डा सम्बोधन गर्न पाएनन्, ज्ञानेन्द्र र प्रचण्डले त्यो एजेण्डा सम्बोधन गर्न चाहेनन् । यस्ता सुशीला कार्कीहरु त आउँछन्, जान्छन्, तुलसी गिरी, विश्वबन्धु थापा र डा. केशरजंग रायमाझीहरु आए गए, आउँछन्, जान्छन्, यस्तै हुन् ।
प्रचण्डले दलितको प्रतिनिधित्व गरेजस्तै हो हजुरआमाले जेन–जी पुस्ताको नेतृत्व गरेको पनि मूल कुरो वैचारिक नेतृत्व हो । जुन अहिले सामाजिक रुपान्तरणका लागि तपाईंले गर्नुभएको छ, त्यो चानेचुने होइन । यो पुस्तौँपुुस्ताले देख्ने र सम्झने योगदान हो । यहि आन्दोलनका नाममा अपराधिहरुले वीपी गणेशमान,कृष्ण प्रसाद, पुष्पलालहरुकोे घर र शालिक खरानी पारे पनि उनीहरुको भावनाको अधुरो एजेन्डा पुनर्स्थापित गर्न तपाइँजस्तै महान सपुतलाई हार्दिक अभिनन्दन गरिनुपर्दछ । सलाम छ डा. रुइत !