राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि जेन–जीको भ्रष्टाचारविरोधी आन्दोलनलाई आफ्नो जेल तोड्ने अभियानमा परिणत गरेर रुफटप गाडीमा जलिरहेको संसद्, सिंहदरबार र सर्वोच्च हेर्न चाहेका थिए भन्ने खुल्दै आएकोे छ ।
सहकारी ठगीमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका रविका लागि संसदीय छानबिन समितिका कारण संसद्, सरकारी वकिलको कार्यालयका कारण सिंहदरबार र पछिल्लोपटक पुर्पक्षका लागि थुनामै बस भनेर आदेश भएको कारण सर्वोच्च उनका नजरमा परेका हुनुपर्छ ।
उनी गृहमन्त्री हुँदा देशभर कतै पनि रविले सहकारी ठगी गरेका छैनन् भनेर तत्कालीन प्रधानमन्त्रीले संसद्मा नै लामो जवाफ दिएका थिए । त्यसबेलाका प्रहरी प्रमुखले पनि संसद्को सुशासन समितिमा यस्तो बयान दिए । हुँदैजाँदा त्यसबेलाको महान्यायाधिवक्ताको कार्यालयबाट पनि लिखितरुपमा नै उनी निर्दोष रहेको भनेर जवाफ आएको थियो ।
जब रास्वपासहितको संसदीय छानबिन समिति बन्यो, त्यसले भने एक अर्बको हाराहारीमा हुने गरी सहकारीको रकम अपचलन गरेको ठहर गर्दै कानुनअनुसार कारबाही चलाउन सिफारिस गर्यो ।
रविको जेलयात्रा यहीँबाट सुरु भएको हो । त्यसपछि पाँचवटा सहकारी ठगीका पोल खुले । अदालतमा ठगीको मुद्दा दायर भयो । पाँचवटा अदालतले आधा करोडका धरौटी मागे । त्यसमध्ये एउटा उच्च अदालतले पुर्पक्षका लागि थुनामा बस्न भन्यो । उनी त्यसका विरुद्ध सर्वोच्च गए । सर्वोच्चले पनि ठगीका तमाम प्रमाण देखाउँदै उच्चकै आदेशलाई सदर गरिदियो ।
राज्यका यी निकायप्रति रवि त्यसैबेलादेखि आक्रोशित रहेका हुन सक्छन् । जब यी निकायमा आगलागी भयो, त्यही क्रममा उनी जेल तोड्न सफल भए, अनि पूर्वराजा ज्ञानेन्द्रले गएको फागुन १५ मा पूर्वपञ्चहरुको स्वागत खान चढेका रुफटप गाडी उनले पनि नख्खु जेल तोडेर बाहिर निस्किएपछि रोजेका हुनुपर्छ ।
यो जानकारी रास्वपाकै केन्द्रीय सदस्यहरुले गराएका हुन् । जसका कारण यस्तो व्यवहार सहन नगर्ने सदस्यहरुले यो दल नै छाडेका छन् । उनीहरुका राजनीतिक व्यक्तिले यसरी जेल तोड्न हुने थिएन । तोडिसकेपछि पनि त्यसलाई निर्वाचन नै जितेजसरी ठूलो विजय मान्नुहुने थिएन ।
त्यसबारे विभिन्न सञ्चारमाध्यम (नेपालपे्रसलगायत) मा आएका समाचारमध्येको एउटा यस्तो छ –
‘रास्वपा कार्यकर्तासहितको भिड कारागारबाहिर जम्मा भएर दबाब दिएपछि सभापति लामिछाने निस्किने वातावरण बन्यो । यस क्रममा रविलाई एउटा पत्र दिइएको थियो, जुनपछि विवादित बन्न पुग्यो ।
रवि जेलबाट बाहिरिने क्रममा देखाएको विजयी भावलाई पार्टीका थुप्रै नेताहरुले सहजरुपमा लिन सकेनन् । कारागारबाट निस्किएपछि उनी एउटा क्याफेमा केही नेताहरुसहित रुफटप गाडीको प्रतीक्षा गरेर बसेका थिए । भनेजस्तो कार आएपछि मात्रै उनी निस्किए । रविले चुनाव जितेजसरी कारको रुफटपबाट निस्किएर हात हल्लाउँदै विजयी भाव प्रस्तुत गरे । अघिपछि कार्यकर्ताहरु दौडिएका थिए ।
रवि फर्किएपश्चात उपसभापति डीपी अर्यालले अंकमाल गर्दै भावुकता प्रदर्शन गरेका थिए । यस्तै, केही नेताहरुले फेसबुकमा ‘टाइगर इज ब्याक’ भन्दै अनावश्यक गर्जन गरेपछि आलोचना खेप्नुपरेको थियो । यो सबै विषयलाई लिएर सुमनालगायत नेताहरुले पार्टीभित्र असन्तोष पोखेको स्रोतको भनाइ छ ।
रविका कट्टर समर्थक रहेका प्रवक्ता मनीष झाले समेत पार्टीको ह्वाट्सएप गु्रपमा जेलबाट निस्किने क्रममा कमजोरी भएको बताएका थिए ।
उनले लेखेका छन्, ‘हिजो कारागारमा भिड जम्मा गर्नु गलत थियो । थपक्क हिँड्दै अगाडि नबढेर रेस्टुरेन्टको बरन्डामा रोक्नु गलत थियो । सन रुफ भएकै गाडी चाहिन्छ भनेर पर्खिनु गलत थियो । यहाँबाट चाँडै निस्किउँ यहाँ नबसौँ भन्दै थिए, तर साथीहरुलाई तत्कालीन पब्लिक क्रेज प्यारो लाग्यो । अहिले गाह्रो भएको छ ।’
सुमनाको राजीनामा पत्र
यसै सन्दर्भमा अर्थात् उक्त दृश्य प्रकट भएको अर्थात् रविले आफ्ना लागि जेल तोडेर अरू १५ हजार कैदीबन्दी छुटाउन वातावरण बनाइदिएपछि यो दलका केन्द्रीय सदस्यलाई नै सह्य भएन । छुटाइएका वा भगाइएका यी कैदी जघन्य अपराधमा दण्डित भएर जन्मकैदसम्म भोगिरहेका थिए ।
अर्कोतर्फ, जेन–जीको यो आन्दोलन नै भ्रष्टाचारविरुद्धको थियो । यसमा जेल नै तोड्ने भन्ने कतै पर्ने कुरा पनि भएन । तर रविले किर्ते पत्र बनाएर, त्यसमा आफूलाई राजबन्दी भनेर उल्लेख गरेका थिए । त्यो पत्र नक्कली हो भन्ने कारागार प्रशासनले नै पुष्टि गरिदियो ।
प्रशासनको भनाइमा रविले दाबी गरेजस्तो कसैका बारेमा पनि त्यस्तोपत्र नलेखेको भनेर खुलायो । उनीसहितका फरार कैदीहरुलाई जेलमा हाजिर हुन जागिरको सूचनामा नै रवि कति झूटा हुन् भन्ने खुलाइएको छ ।
यसैलाई देखाउँदै यो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा लामो समयदेखि असन्तुष्ट रहेकी पूर्वमन्त्री सुमना श्रेष्ठले अन्ततः पार्टी परित्याग गरिदिइन् । अहिलेको यो निर्णयमा भने रवि लामिछानेको रिहाइ प्रकरण जोडिएको बताइएको छ । सुमनाले सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै पार्टीभित्र निरन्तर भइरहेका गल्ती, नेतामुखी प्रवृत्ति र आलोचकहरूविरुद्धको ‘मिडिया ट्रायल’को विरोधमा राजीनामा दिएको भनेकी छन् ।
‘कहिल्यै गल्ती नस्वीकार्ने, गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोक्नुपर्ने अवस्था स्वीकार्य छैन’, उनले भनेकी छन्, ‘पार्टीभित्र आलोचना गर्नेहरूविरुद्ध मिडिया ट्रायल चलाइयो । जबदेखि रास्वपाले देशभन्दामाथि पार्टी र पार्टीभन्दामाथि नेतालाई राख्न थाल्यो, त्यतिबेलादेखि नै म आलोचना गर्दै आएकी थिएँ, तर त्यसले कुनै प्रभाव पारेन । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोस् । क्विट, मैले पार्टी छोडेँ ।’
अर्कोतर्फ यो आगजनी नै रास्वपाका कार्यकर्ताले नै गरेका हुन् कि भन्ने आशंका बढ्न थालेको छ । हालै मात्र काभ्रेपलाञ्चोक पनौती नगरपालिकाभित्र निजी र सरकारी सम्पत्तिमा आगजनी तथा तोडफोडमा संलग्न रहेका भिडिओ फोटो बाहिर आउन थालेपछि रास्वपाका नगर सभापति र नेताले पार्टी छाडेको घोषणा गरे । समाचारमा बताइए भदौ २४ गते पनौती नगरपालिकाका पूर्वमेयर भीम न्यौपाने, उपमेयर गीता बन्जारा, काँग्रेस नेता शिव हुमागाईँ, क्याप्टेन रामेश्वर थापालगायतका नेता तथा व्यवसायीको घरमा आगजनी भएको थियो ।
आगजनीका घटनामा संलग्नमध्ये रास्वपाका नगर सभापति विवेक भट्टराई र इन्चार्ज सुदर्शन तिमल्सिनाको संलग्नताका प्रमाण बाहिरिएपछि उनीहरूले गल्ती भयो भन्दै पार्टीबाट राजीनामा दिएका हुन् । निष्पक्ष छानबिन भयो भने संसद्, सिंहदरबार र सर्वोच्च अदालत पनि यो दलकै कार्यकर्ताले जलाएको देखिन सक्छ ।