यतिबेला देश वास्तवमा नै खरानी भएको अवस्थामा छ । केन्द्रीय प्रशासन अर्थात् मन्त्रिपरिषद्ले आफू बस्ने ठाउँ पाएको छैन । प्रधानमत्रीसहित तीन जनाको मन्त्रिपरिषद् छ तर यो सानो संख्या पनि कहाँ बस्ने वा कहाँ राख्ने भन्ने समस्यामा छ । यसको व्यवस्थापन गर्ने गृह मन्त्रालय आफैँ कसैको घरमा पाहुना लाग्न जानु परेको छ । कुनै दैवी प्रकोपले नभएर मानवीय उन्मादका कारण केन्द्रीय प्रशासन नै यो अवस्थामा पुगेको हो । यतिबेला सर्वोच्च अदालत पाल टाँगेर आँगनमा बसिरहेको छ । देश दुनियाँलाई निसाफ दिने दायित्व भएको न्यायपालिकाको यस्तो हविगत निश्चय नै सामान्य होइन । यसबाट कति संख्याका नागरिक पीडित भएका छन् भन्ने अहिले अनुमान पनि गर्न सकिँदैन । सर्वोच्चमा लागेको आगोले कतिका सपना र घरबार नै भस्म बनायो भन्ने पछि खुल्दै जानेछन् । यो अवस्था पनि मानवीय उन्मादले नै ल्याएको हो । यस्तो उन्मादमा कतिका निजी सम्पत्ति र जले र कति घरबारविहीन भए भन्ने अहिले रेकर्डमा आएका छैनन् । किनभने त्यस्ता पीडितहरू क्षतिका बारे बोल्न समेत सकेका छैनन् ।
यी सबै चित्रहरू प्रकट भइरहेको हप्तायता देशको अर्थतन्त्रको एउटा चित्र सार्वजनिक भएको छ, जो एक हप्ताअघिको हो । अबको चुनौती भनेको यसलाई कसरी कायम राख्ने भन्ने हो, जो नवनियुक्त अर्थमन्त्रीका लागि अवसर र चुनौती दुवै हुन सक्तछन् । चुनौती यस कारणले कि यसलाई कायम राख्न आवश्यक छ । यी सबै विध्वंसका समाचारहरू आइरहेका बेला नेपाल राष्ट्र बैंकले वर्तमान अर्थको अवस्था सार्वजनिक गरेको छ । त्यसमा कुल विदेशी मुद्रा सञ्चिति २८ खर्ब छ अर्ब चार करोड रुपैयाँ पुगेको देखिएको छ । बैंकको विवरणअनुसार गएको असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो । साउन मसान्तमा यो अंक बढेर दुई दशमलव सात प्रतिशतले वृद्धि भएछ जसको कुल अंक २० अर्ब तीन करोड पुगेको देखाइएको छ । हाल थपिएको र राष्ट्र बैंकमा रहेको समेत जोडिँदा २५ खर्ब ११ अर्ब ४५ करोड रुपैयाँ पुगेको बताइएको छ । यो भनेको देशका लागि चाहिने विदेशी मुद्राले पूरै दुई वर्ष धान्ने अवस्था हो । यसलाई कुशलतापूर्वक सञ्चालन गरियो भने नयाँ अर्थमन्त्रीका लागि अर्थको व्यवस्थापन गर्न यो राम्रो अवसर पनि हो ।
भर्खर मात्रै खरानी भएको अवस्थाबाट त्यसलाई टकटक्याउँदै उठनुपर्ने चुनैती बोकेर नयाँ सरकार गठन भएको छ । यस्तो सरकार बन्दाको अवस्थामा प्रशासकीय भवनहरू जले पनि अर्थतन्त्रमा भने सकारात्मक संकेत देखिएका छन् । अहिले जस्तो मानवीय उन्माद फैलिएको थियो त्यसले सबैभन्दा बढी र दीर्घकालीन रूपमा आघात पार्ने भनेको बाह्य क्षेत्रको लगानी नै हो । त्यस्तो बेला आएको यस्तो चित्रले केही साथ दिन्छ नै । देशमा यस्तो वितण्डा फैलँदा यता चालू खाता ७८ अर्ब १४ करोड रुपैयाँले बचतमा रहेको पाइएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ३३ अर्ब आठ करोडले बचतमा थियो । अहिले त्यसको दोब्बर रहेको अवस्था प्रकट भएको छ । यो अवधिमा मूल्य वृद्धि पनि घटेको छ । अहिलेको अर्को चुनौती भनेको घटेको मूल्य वृद्धिलाई कायम राख्नु हो । देशका भौतिक संरचनाहरू यतिठूलो सर्वनाशमा परेको बेला वा राज्य नै नोक्सानीमा परेको बेला सबैभन्दा बिथोलिने भनेको मूल्य वृद्धि नै हो । यसलाई आगामी दिनमा पनि अहिलेकै अवस्थामा कायम राख्न सके यो एक प्रकारको राहत नै हुनेछ । खासगरी नागरिकले व्यहोर्ने कष्ट भनेको बजारमा मूल्य अत्यधिक मात्रामा वृद्धि हुनु हो । अनुभवी अर्थमन्त्रीले बजार नियन्त्रण गरुन् । यो आम तहको सुझाव पनि हो ।