काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरूले पछिल्लो एक महिनामा झण्डै एक खर्ब रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३को पहिलो महिनामा वाणिज्य बैंकहरूले ८७ अर्ब ४९ करोड र अन्य वित्तीय संस्थाहरूले (वाणिज्य बैंकहरूबीच बाहेक) सात अर्ब ४५ करोड गरी कुल ९४ अर्ब ९४ करोडको अन्तरबैंक कारोबार गरको हुन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको ५१ अर्ब ५० करोड र अन्य वित्तीय संस्थाहरूको ६५ करोड गरी कुल ५२ अर्ब १५ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार भएको थियो ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०८१ साउनमा दुई दशमलव ९९ प्रतिशत रहेकोमा २०८२ साउनमा दुई दशमलव ७५ प्रतिशत रहेको छ । २०८१ साउनमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर दुई दशमलव ९४ प्रतिशत रहेकोमा २०८२ साउनमा दुई दशमलव ६५ प्रतिशत रहेको छ । २०८२ साउनमा वाणिज्य बैंकहरूको औसत आधार दर पाँच दशमलव ७८ प्रतिशत, विकास बैंकहरूको सात दशमलव २८ प्रतिशत र फाईनान्स कम्पनीहरूको आठ दशमलव ८७ प्रतिशत रहेको छ । २०८१ साउनमा वाणिज्य बैंकहरूको औसत आधार दर सात दशमलव ६१ प्रतिशत, विकास बैंकहरूको नौ दशमलव २८ प्रतिशत र फाइनान्स कम्पनीहरूको १० दशमलव ७५ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार २०८२ साउनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर चार दशमलव शून्य दुई प्रतिशत, विकास बैंकहरूको चार दशमलव ६७ प्रतिशत र फाइनान्स कम्पनीहरूको पाँच दशमलव ८५ प्रतिशत रहेको छ । २०८१ साउनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर पाँच दशमलव ६६ प्रतिशत, विकास बैंकहरूको छ दशमलव ४६ प्रतिशत र फाइनान्स कम्पनीहरूको सात दशमलव ७१ प्रतिशत कायम भएको थियो । त्यसैगरी, २०८२ साउनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर सात दशमलव ७६ प्रतिशत, विकास बैंकहरूको नौ दशमलव शून्य नौ प्रतिशत र फाइनान्स कम्पनीहरूको नौ दशमलव ९८ प्रतिशत रहेको छ । २०८१ साउनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर नौ दशमलव ६८ प्रतिशत, विकास बैंकहरूको ११ दशमलव शून्य सात प्रतिशत र फाइनान्स कम्पनीहरूको १२ दशमलव ३२ प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ ।