काठमाडौं । सुनचाँदी व्यवसायीहरूको छाता संस्था नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले चोरी तथा लुटिएका सुनचाँदीको कारोबार नगर्न आग्रह गरेको छ । महासंघले मंगलबार विज्ञप्ति जारी गरी जेन–जी आन्दोलनका क्रममा चोरी भएका तथा लुटिएका सुनचाँदी बेच्न आउन सक्ने भन्दै विशेष सतर्कता अपनाउन व्यवसायीलाई आग्रह गरेको हो । महासङ्घले आन्दोलनका क्रममा ऐतिहासिक सम्पदा, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालयदेखि निजी सम्पत्तिसम्ममा ठूलो क्षति पुगेको उल्लेख गर्दै कैयौँ कैदीबन्दी फरार भएको र लुटपाटका घटना भइरहेकाले व्यवसायीले सावधानीपूर्वक कारोबार गर्न सुझाव दिएको छ । महासङ्घका महासचिव निरबहादुर विश्वकर्माले चोरी वा लुटपाट भएका सुनचाँदी समेत बजारमा आउन सक्ने सम्भावना उच्च भएकाले कुनै पनि कारोबार गर्दा ग्राहकको प्रमाणित परिचयपत्र र आवश्यक कागजात अनिवार्यरूपमा जाँच गर्न व्यवसायीलाई आग्रह गरेका छन् ।
त्यस्तै, बहुमूल्य गरगहनाको सुरक्षाका लागि सीसी टिभी, आलर्म वा अन्य उपकरणको व्यवस्था मिलाउन, भीडभाडलाई नियन्त्रणमा राख्न, अपरिचित व्यक्तिलाई सजिलै पसल वा घरमा प्रवेश नदिन र कुनै पनि शड्ढास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरी वा सुरक्षाकर्मीलाई जानकारी गराउन महासंघले व्यवसायीलाई भनेको छ । महासंघले आगामी चाडपर्वलाई ध्यानमा राख्दै व्यवसाय सुरक्षित सञ्चालन गर्न स्थानीय सरकार तथा नजिकको प्रहरीसँग निरन्तर समन्वयमा रहन व्यवसायीलाई आग्रह गरेको छ । महासङ्घले जेन–जी प्रदर्शनका क्रममा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।