काठमाडौंँ । गत भदौ २४ गते अपराह्नपछिको समय हो । नरदेवीतिरबाट एउटा जुलुस क्षेत्रपाटीतर्फ अघि बढिरहेको थियो । जुलुस क्षेत्रपाटी चोकमा पुगेपछि इन्द्रायणीतिर लाग्ने कि धोबीचौरतिर लाग्ने वा ठहिटीतिर मोडिने कि पकनाजोलतिर लाग्ने भन्ने दुविधामा देखियो । क्षेत्रपाटी चोकबाट छ तिर जाने बाटोहरु छन् । पकनाजोलतर्फ लाग्न लागेको जुलुसलाई कसैले भीडमा छिरेर आवाज दियो, ‘ठमेलतिर ठमेलतिर’ भनेर । जुलुस त्यतै मोडियो ।
जेपी स्कुल चोकमा पुगेपछि जुलुसलाई फेरि निर्देश गरेर गणेशमान सिंहको ऐतिहासिक निवास चाक्सीबारीमा पु-यायो । त्यसपछि भीडबाट निर्देश गर्नेहरुकै आवाज आयो, यही हो, यही हो, आगो लगा । उदण्ड भीडले आगो लगाउन थाले । फेरि त्यही भीडबाट एउटा महिला आवाज आयो यो कसको घर हो ? चोकबाट निर्देश गर्दै त्यता मोडनेको आवाज आयो, गणेशमानको घर भनेर । घर अगाडि टहरोमुनि पार्किङमा भएका गाडीहरुमा आगो लगाइयो । त्यहाँ भएका गाडीहरु दनदनी बल्न थालेपछि भीडले बैंक भएको नयाँ भवनमा आगो लगाउन खोज्यो ।
फेरि भीडबाट आवाज आयो– यो त बैंकको भवन हो । अनि त्यसलाई आगो लगाउने प्रयास रोकियो । गाडीहरुसँगै सिंह निवासको सचिवालयको टहरो पनि दनदनी बल्न थालेपछि प्रदर्शनकारीहरु लाखापाखा लाग्न थाले । केही व्यक्ति छाया सेन्टर, चौधरी निवासतिर लागे, केही व्यक्तिचाहिँ आगो लागेको ठाउँ बाहिरबाट सिंह निवासमा ढुंगा हानिरहे । पहिलो चरणको आगजनी सिंह निवासको पार्किङ र सचिवालयको टहरोमा मात्र थियो । त्यो सचिवालयको टहरो त्यहाँ बनाइएको थियो, जहाँ २०४६ साल माघ ५, ६ र ७ गते देशविदेशका नेताहरुलाई बोलाएर सम्मेलन गरिएको थियो र त्यही सम्मेलनबाट २०४६ फागुन ७ गतेदेखि प्रजातन्त्र पुनस्र्थापनाका लागि वारपारको जनआन्दोलन गर्ने प्रस्ताव पारित भएको थियो ।
भनिरहन परेन कि, त्यो जनआन्दोलनको सर्वोच्च कमान्डर गणेशमान सिंह हुनुहुन्थ्यो, उहाँले नेपाली जनतालाई रैतीबाट नागरिक बनाउन जनआन्दोलनको आह्वान गर्नुभएको थियो र सात बामपन्थी दलहरुले संयुक्त बाममोर्चा बनाएर सघाएका थिए । तर अहिलेको माओवादीहरु त्यसमा सहभागी थिएनन् । अहिलेका राजावादीहरुले त्यो जनआन्दोलनको प्रतिकार गरेका थिए । प्रदर्शनकारीहरुले लगाएको आगो सल्किँदै गयो, जल्दै गयो । सिंह निवासमा चाहिँ आगो पनि सल्किन मानेन, हिचकिचायो । घर अगाडि चाक्सीबारीको एउटा कुनामा गणेशमान सिंहले चढ्ने गर्नुभएको थोत्रो जिप मानौँ त्यो आगजनी हेरेर ठिङ्ग उभिइरहेको थियो । त्यो जिपलाई चिन्ने, देख्ने जान्नेहरुले डेमोके्रसी जिप भन्ने गर्छन् र त्यसको छेवैमा उभिएर फोटो खिच्दा पनि गर्वले छाती फुलाएर अघि बढ्ने गर्छन् । त्यो जिप पनि आगजनीबाट पर्दै थियो, त्यसलाई पनि अग्नि देवताले जलाउन आनाकानी गरिरहेका थिए ।
दोस्रोपटक प्रदर्शनकारी छिरेर सिंह निवासको मूल घर जसमा गणेशमानजी, मंगलादेवी र उहाँका परिवार बस्थे, त्यसमा आगजनी गरे । उनीहरु गए । नयाँ घर जलेन, डेमोक्रेसी समुलै थियो । तेस्रोपटक छिरेर प्रदर्शनकारीले आगो लगाए, त्यसबाट नयाँ घर पनि जल्यो तर त्यो प्रजातन्त्रवादीहरुको आस्थाको जिप जल्न मानेन, आगोले जलाउन आनाकानी ग¥यो, पाँचौँपटक छिरेको आतंककारी जत्था, प्रजातन्त्रको दुस्मन, आस्थाका हत्याराहरुले त्यो डेमोक्रेसी जिपमा पनि आगो लगाए, त्यतिबेला साँझ परिसकेको थियो । त्यसपछि नमानी–नमानी सिंह निवास र त्यो डेम्रोक्रेसी जिप पनि जल्यो, आस्थाको धरोहर सिंह निवास हेर्दाहेर्दै जलेर खरानी भयो । अनि त्यहाँ आगजनी गर्ने प्रजातन्त्रविरोधी भूमिगत गिरोहका टट्टुहरु यताउता लागे । त्यहाँ चार दिनपछिसम्म पनि आगो निभेको थिएन । त्यो घरले कहिल्यै केही लिएन दियो मात्रै ।
२०४६ अघि नेपाली जनता राजाका रैती थिए, २०४६ मा ऐतिहासिक जनआन्दोलनको आह्वान र नेतृत्व गरेर गणेशमान सिंहले राजामा भएको सार्वभौमसत्ता जनताको हातमा ल्याएका थिए, नेपाली जनतालाई पहिलोपटक रैतीबाट सार्वभौमसत्ता सम्पन्न नागरिक बनाएका थिए । जनआन्दोलन सफल भएपछि गणेशमानलाई राजा वीरेन्द्रले प्रधानमन्त्री पदको प्रस्ताव गरेका थिए तर उहाँले प्रधानमन्त्री पद ठाडै अस्वीकार गरेर कृष्णप्रसाद भट्टराईलाई दिनुभएको थियो । उहाँको कान्छो सुपुत्र प्रकाशमानसिंह अहिले राजनीतिमा हुनुहुन्छ । उहाँले पनि मन्त्रीबाहेक माथिको पद पाउनुभएको छैन । प्रधानमन्त्री वा पार्टी सभापति पदको आकाक्षा त होला तर पाउनुभएको छैन ।
उहाँ आफ्नो पुख्यौली घर सम्पत्तिमै बस्दै आउनुभएको छ । अहिलेसम्म गणेशमान सिंह, मंगलादेवी सिंह, पीएल सिंह, प्रकाशमान सिंहहरुले भ्रष्टाचार गरेको कुरा कसैको कानले सुन्नुपरेको छैन । तर पनि भ्रष्टाचारविरोधी भनेर नाम दिएको प्रजातन्त्र पुनःस्थापनापछि आफूलाई पराजित महसुस गर्दै आएको निरंकुश राजावादी समर्थक भूमिगत गिरोहका सदस्यहरु २०४६ मा प्रजातन्त्र आएपछि त्यसका विरुद्ध हतियार उठाउने माओवादीहरु, प्रजातन्त्रका दुस्मन प्रतिक्रियावादीहरुको संयुक्त आक्रमण हो अहिलेको जेनजी युवाहरुको हत्या र आगजनी ।
त्यसमा देशीविदेशी सबैखाले प्रतिक्रियावादीहरुको संलग्नता प्रष्ट देखिएका छ । तर एउटा कुरा उनीहरुले पनि हेक्का राख्नुपर्छ कि घरगाडी आगोले जलेर खरानी भए पनि मानिसको आस्था कहिल्यै जल्दैन, खरानी हुँदैन । यहीनिर आगजनीकै एक प्रसंग जोडौँ । चाक्सीबारीमा आगजनी भएको खबर पाउनेबित्तिकै गणेशमानजीको फोटोग्राफर मिनरत्न वज्राचार्य बुढानीलकण्ठबाट हानिएर चाक्सीबारी पुगेछन् । उनलाई त्यहाँ देख्नेबित्तिकै प्रतिक्रियावादीहरुले ललकारेछन् । ऊ त्यो आयो, गणेशमानको फोटोग्राफर भनेर एकअर्कालाई देखाएछन् । भीडलाई उत्तेजित गराएर उनीमाथि आक्रमण गर्ने दुष्प्रयास गरेछन् । तर, सफल भएन, कसैले आक्रमण गर्ने आँटचाहिँ गरेनन् ।
गणेशमानजीले प्रजातन्त्र पुनःस्थापनापछि आफ्नै पार्टी नेपाली कांग्रेसका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सत्ता चलाएको चित्त बुझाउनुभएन, त्यसकाविरुद्ध विद्रोेह गर्न जनतालाई पटक–पटक अपिल गर्नुभयो तर जनता निष्प्राणजस्तै बनेर बसे । उहाँले त्यतिबेला भन्नुभएको थियो ‘नेपाली जनता भेँडाजस्तै हुन् । एउटा जता लाग्यो सबै पछिपछि त्यतै लाग्छन्, आफैँ केही सोचविचार गर्दैनन् ।’ अहिले पनि त्यही कुरा लागू भएको छ । जसले आफूलाई राजाको रैतीबाट सम्मानित नागरिक बनायो, त्यसैको घर किन जलाएको भन्ने प्रश्नको जवाफ जेन–जी पुस्ताको नेतृत्व गरेर प्रधानमन्त्री बनेकी हजुरआमा पुस्ताकी शिखण्डी सुशीला सुवेदी कार्कीसँग पनि छैन ।तर उनले नेपाली जनतालाई मात्र होइन, इतिहासलाई पनि यसको जवाफ नदिई सुख पाउने छैनन् । प्रजातान्त्रिक आस्थाको त्यो धरोहरमा किन आगजनी गरियो ? त्यो आगजनीको खरानीमा उभिएर आज नभए भोलि उनले जवाफ दिनैपर्छ । जवाफ देऊ सुशीला ! थाहा छैन भनेर उम्किने तिम्लाई छुट छैन ।