काठमाडौं । नेपाल मेडिसिटी अस्पतालमा ५२ वर्षीय पुरुषको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ । ललितपुरका शान्तमान व्यञ्जनकारको सफलतापूर्वक कलेजो प्रत्यारोपन गरिएको हो ।
उनलाई आफ्नै श्रीमती ५० वर्षीया नानु व्यञ्जनकारले कलेजो दान गरेकी थिइन् । विगत आठ वर्षदेखि कलेजो समस्यासँग जुझिरहेका व्यञ्जनकारलाई गत भदौ ४ गते प्रत्यारोपण गरिएको थियो भने उनलाई भदौ २३ गते अस्पतालबाट डिस्चार्ज गरिएको हो । व्यञ्जनकारले प्रत्यारोपणका लागि भारत जाने सोचेको भए पनि मेडिसिटीमा चिकित्सकलाई भटेर सल्लाह लिएपछि यहीँ प्रत्यारोपण गर्ने निधो गरेको बताए । यस प्रत्यारोपणमा ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभागका प्रमुख तथा वरिष्ठ कन्सल्ट्यान्ट प्रोफेसर डा. उमिद कुमार श्रेष्ठ, कलेजो प्रत्यारोपण सर्जन डा. रामबाबु साह, डा. सञ्जय कुमार यादव, ट्रान्सप्लान्ट एनेस्थेसियोलोजिस्ट डा. अपूर्व शर्मा, डा. निराजन महासेठ, वरिष्ठ रेडियोलोजिस्ट प्रा.डा. रामकुमार घिमिरेसहितको टोलीले सघाएको हो । नेपाल मेडिसिटीले गुणस्तरीय उपचार सेवाप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै, आगामी दिनमा पनि निरन्तर कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्नेछ ।