काठमाडौं । काठमाडौंको कलंकी खसीबजारमा अवस्थित रेसिङ अटोमोबाइल्सले पुराना गाडीहरूको बिक्री गर्दा ‘दुर्घटनारहित प्रमाणपत्र’ वितरण गर्ने नयाँ पहल सुरू गरेको छ ।
रेसिङ अटोमोबाइल्सले बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ग्राहकहरूको लागि गाडीको दुर्घटनारहित प्रमाणपत्र वितरण गर्ने कार्यको शुभारम्भ गरेको हो । कार्यक्रममा रेसिङ अटोमोबाइल्सका अध्यक्ष र प्रबन्ध निर्देशक रुद्र ढुंगेलले राष्ट्रिय अनुसन्धान विभागका पूर्वडीआईजी लक्ष्मण गुरुङलाई पहिलो प्रमाणपत्र हस्तान्तरण गरेका थिए । सो अवसरमा ढुंगेलले यस प्रकारको प्रमाणपत्र वितरणको उद्देश्य ग्राहकहरूलाई पुराना गाडीहरूको बारेमा रहेको अविश्वास र शंका उपशंकाहरूको निराकरण गर्नु रहेको बताए ।
ढुंगेलले भने, ‘हामीले बिक्री गरेको गाडी आजका मितिसम्म कुनै दुर्घटनामा परेको छैन भन्ने प्रमाणपत्र प्रदान गर्दा भविष्यमा यदि उक्त गाडीको यसअघि नै दुर्घटना भएको प्रमाणित भएमा हामी सो गाडीलाई खरिद मूल्यमा फिर्ता लिने र नगद फिर्ता गर्ने ग्यारेन्टी पनि दिनेछौँ ।’ यस पहलले रिकन्डिसन गाडीको व्यापारमा भइरहेको अविश्वास र धोकाधडीको समस्या समाधान गर्ने विश्वास राखिएको छ । कार्यक्रममा अटोमोबाइल्सका व्यापार सल्लाहकार सिताराम भट्टराईले दुर्घटनारहित प्रमाणपत्र वितरणको उद्देश्यबारे प्रकाश पारेका थिए । रेसिङ अटोमोबाइल्सले जिम्मेवार, पारदर्शी र स्वच्छ व्यापारलाई केन्द्रमा राखेर विगतदेखि नै यसप्रकारका विभिन्न योजनाहरू सार्वजनिक गर्दै आएको उनले बताए । दुर्घटनारहित प्रमाणपत्र वितरण गरेर थप जिम्मेवारी आफ्नो काममा लिएको उनको भनाइ थियो । प्रमाणपत्र ग्रहण गर्दै राष्ट्रिय अनुसन्धान विभागका पूर्वडीआईजी लक्ष्मण गुरुङले आफूले पुरानो गाडी खरिद गर्दा पनि एउटा निश्चिन्तता प्राप्त गरेकोमा धन्य भएको बताए ।
कार्यक्रममा सलीको इन्सुरेन्सका नयाँबजार शाखा प्रबन्धक शम्भु बस्यौलाले गाडी खरिद गर्दाका मितिसम्मको जिम्मा रेसिङले बोकेझैँ त्यसपछिका दुर्घटनाका हरेक जिम्मेवारी आफूहरुले बोक्ने जानकारी दिए । रेसिङ अटोमोबाइल्सका मेकानिकल इन्जिनियर घनश्याम रजकले गाडी खरिद गर्दा प्रत्येक गाडीको स्थिति ध्यानपूर्वक मूल्याङ्कन गर्ने र गाडीको कन्डिसनमा विश्वास राखेर मात्रै यस प्रकारको प्रमाणपत्र वितरण गर्ने हिम्मत गरेको बताए । सो समारोहमा सहभागी बनेका बैंक र बीमा कम्पनीका प्रतिनिधिहरूले पनि रेसिङ अटोमोबाइल्सको व्यापारिक दृष्टिकोण र पारदर्शितासम्बन्धी सकारात्मक टिप्पणी गरेका थिए ।
कार्यक्रममा रेसिङ अटोमोबाइल्सको नयाँ ‘प्रमोसनल जिङ्गल’को सार्वजनिकीकरण थियो । यस जिङ्गलमार्फत रेसिङले आफ्नो ब्रान्डको पहिचान र पुराना गाडीहरूको व्यापारमा विश्वसनियता र भरोसा प्रस्तुत गर्ने उद्देश्य राखेको छ । विश्वकर्मा पूजाको अवसरमा यन्त्र, मिसिनरी र सवारी साधनको पूजा गर्ने पराम्परा भएको कारण समारोहको आयोजना गरिएको ढुंगेलले जानकारी दिए ।