काठमाडौं । गरिमा विकास बैंकको मोबाइल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरु भएको छ । बैंकले फोन–पे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ एप ‘गरिमा डिजी बटुवा’बाट नेपालको आफ्नै भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको हो । यसको लागि बैंकका ग्राहकहरूले नजिकैको शाखा कार्यालयमा उपस्थित भई फारम भरेपछि आफ्नो मोबाइल बैकिङ एपमा सो सेवा सुचारु गर्न सक्नेछन् ।
यो भर्चुअल क्रेडिट कार्डमार्फत ग्राहकले फोन–पेको कुनै पनि क्युआर कोड र फोन–पे नेटवर्कमा सजिलै भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम एक लाख रुपैयाँसम्म क्रेडिट सीमा रहेको यस भर्चुअल क्रेडिट कार्डमा भुक्तानीका लागि अधिकतम ४५ दिनसम्म विनाब्याज क्रेडिट रकम उपभोग गर्न सक्नुका साथै हिसाब राफसाफमा १० प्रतिशत वा शत प्रतिशत भुक्तानी गर्ने विकल्प समेत लिन सक्नेछन् ।
भौतिकरुपमा नभई मोबाइल बैंकिङ एपमा भर्चुअल रुपमा उपलब्ध हुने यस सुविधाले ग्राहकलाई थप सुरक्षित र नवीनतम अनुभव दिने विश्वास विकास बैंकले राखेको छ । बैंकले हाल देशभर एक सय २५ वटा शाखा कार्यालय, एउटा एक्स्टेन्सन काउन्टर र ५१ एटीएमका साथै नवीनतम डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।