काठमाडौं । बाबियाखर्क बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभाको मिति फेरबदल भएको छ । संस्थाको यही भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि असोज ४ गतेको लागि तय गरेको २९औँ वार्षिक साधारणसभाको मिति पछाडि सारेर आगामी कात्तिक २९ गतेको लागि तोकेको हो ।
संस्थाका अनुसार मितिमा संस्थाको सञ्चालक समिति र लेखासुपरीवेक्षण समितिको निर्वाचन समेत हुनेछ । उक्त वार्षिक साधारणसभामार्फत संस्थाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्नुको साथै चालू आर्थिक वर्षको लागि विभिन्न नीति तथा योजनाहरू पारित गर्ने समेतको तयारी गरेको छ ।
संस्थाले गत आर्थिक वर्षमा २४ करोड ६९ लाख ९४ हजार १८ रुपैयाँ ऋण लगानी गरेको छ । सेयर पुँजी चार करोड १२ लाख १८ हजार नौ सय ९८ रुपैयाँ रहेको संस्थाको यसअवधिमा जगेडा कोष तीन करोड १३ लाख ९० हजार रहेको छ भने कुल बचत रकम ३२ करोड ९५ लाख ८६ हजार नौ सय ४४ रुपैयाँ रहेको छ । कुल संस्थागत पुँजी छ करोड ४५ लाख ५२ हजार ४९ रुपैयाँ रहेको संस्थामा २०८२को असार मसान्तसम्ममा २२ दशमलव ८७ प्रतिशत अर्थात् नौ करोड ९७ लाख ५१ हजार नौ सय ७५ रुपैयाँबराबरको तरलता रहेको छ ।
विभिन्न कोषहरूको रकम दुई करोड पाँच लाख ७५ हजार चार सय ३९ रुपैयाँ रहेको संस्थाको कुल सदस्य संख्या दुई हजार आठ सय ८४ र कुल ऋणी संख्या तीन सय ११ रहेको छ । आव २०८१/०८२को असार मसान्तसम्ममा संस्थाको कुल सम्पत्ति भने ४३ करोड ६० लाख ९० हजार आठ सय ८६ रुपैयाँ पुगेको छ ।