इनरुवा (सुनसरी) । पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा भोक्राहा नरसिंह गाउँपालिका–३ पुल्चोकमा बिहीबार दुई जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
बिग्रिएर सडक छेउमा रोकी राखेको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई प्र १–०२–००२ ख ०९४९ नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको थियो । सो दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।
प्रनाउ खतिवडाका अनुसार एक जनाको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल भोक्राहामा उपचारको क्रममा मृत्यु भएको थियो भने अर्को एक जनाको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको थियो । घाइतेहरुको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित ग्लोबल कार्डियो एण्ड न्युरो अस्पतालमा उपचार भइरहेको खतिवडाले जानकारी दिए ।