काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली सेनाको ब्यारेकबाट बिहीबार दिउँसो बाहिरिएका छन्। २३ र २४ भदौमा जेनजी आन्दोलन चर्किएपछि उनले राजीनामा दिएका थिए र सेनाको हेलिकप्टरमार्फत ललितपुरको लेलेस्थित सैनिक ब्यारेक पुगेका थिए। यसअघि बालकोटस्थित निजी निवासमा बस्दै आएका ओलीको घर आन्दोलनकारीले जलाएका थिए। अहिले उनका लागि भक्तपुरको गुण्डुमा अस्थायी बसोबास व्यवस्था गरिएको छ। सबै व्यवस्था पूरा भएपछि एमाले नेता कार्यकर्ताले उनलाई गुण्डु पुर्‍याएका छन्। एमालेका एक नेताका अनुसा उनी केही दिन गुण्डुमै बस्ने पाइएको छ । भदौ २३ गते जेनजीले सामाजिक सञ्जाल खुला गर्न र भ्रष्टाचारविरुद्ध देशभर प्रदर्शन गरेका थिए। उक्त प्रदर्शन हिंसात्मक भएको थियो। आन्दोलनपछि पनि राजीनामा नदिई प्रतिरोध गर्ने रणनीति अपनाएका ओली २४ गते बालुवाटार घेरेपछि सेनाको हेलिकप्टरमार्फत भाग्न बाध्य भएका थिए। त्यसक्रममा बालुवाटारस्थित प्रधानमन्त्री निवासका केही भवनमा आगजनी भएको थियो। एमालेले भोलि संविधान दिवसको अवसरमा जेनजी आन्दोलनकारीले ध्वस्त बनाएको पार्टी केन्द्रीय कार्यालय च्यासलमा विशेष कार्यक्रम गर्ने तयारी गरेको छ। कार्यक्रममा ओलीलाई सार्वजनिक गर्ने तयारी भए तापनि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष ओली तत्काल कुनै औपचारिक कार्यक्रममा सहभागी नहुने बताएका छन्।