काठमाडौं । मुस्ताङका बासिन्दाका लागि मात्र सञ्चालन भएको दुई वर्षपछि दुवै देशको व्यापारिक आयात–निर्यातका लागि कोरला नाका सञ्चानलनमा आएको छ । रसुवागढी र तातोपानी नाकाबाट मात्रै द्विदेशीय आयात–निर्यात भइरहेकोमा अहिले भने तेस्रो नाकाबाट पनि वस्तु आयात–निर्यात सुरु भएको हो । रसुवा र सिन्धुपाल्चोकका दुवै नाका असारको बाढी र पहिरोपछि बन्दप्रायः छन् ।
२०८० कात्तिक २७ देखि यो नाका उपल्लो मुस्ताङका बासिन्दाका लागि मात्र व्यापारिकरुपमा खुलेको थियो । अहिले भने नेपाली व्यापारीहरुले कोरला नाकाबाट सामान ल्याउन थालेका हुन् । विद्युतीय कारहरुसमेत अहिले मुस्ताङ हुँदै नेपाल भित्रिएका छन् । मुस्ताङको न्हेचुङ भन्सार कार्यालयले बीवाईडी, ओमोडालगायतका डेढ सय विद्युतीय गाडीहरु भन्सार पासको लागि आइपुगेको उल्लेख गरेको छ ।
बैंकहरूले प्रतीत पत्र खोल्न पाउने
नेपाल राष्ट्र बैंकले मुस्ताङको कोरला नाकाबाट आयात हुने सामानको लागि पनि प्रतीतपत्र (एलसी) खोल्ने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । मंगलबार नेपाल राष्ट्र बैंकको बैैंकिङ विभागलगायत सम्पूर्ण प्रदेशस्थित कार्यालयहरु, विदेशी विनिमय कारोबार गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्थाहरु र विदेशी विनिमय कारोबार गर्न अनुमति पाएका सबै निकाहरुको नाममा परिपत्र जारी गरेको हो ।
केन्द्रीय बैंकले यसका लागि विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०८१ को एकीकृत इ.प्रा. परिपत्रः १÷२०८१ लाई देहायबमोजिम संशोधन गरिएको जनाएको छ । परिपत्रअनुसार चिनियाँ भूभाग भई ट्रक वा रेलमार्गबाट प्रतीतपत्रमार्फत आयात गर्दा तातोपानी भन्सार, सिन्धुपाल्चोक, रसुवा भन्सार, रसुवा, मुस्ताङ्ग भन्सार, मुस्ताङ्ग तातोपानी भन्सार, रसुवागढी भन्सार वा मुस्ताङ्ग भन्सार र तातोपानी रसुवागढी मुस्ताङ्ग भन्सारबाट सामान आयात गर्नुपर्ने छ ।
यी नाकाहरुबाट सामान आयात गर्नको लागि बैंकहरुले एलसी खोल्नु व्यवस्था गर्नुपर्नेछ । यसअघि भने चिनियाँ भूभाग भई ट्रक वा रेलमार्गबाट प्रतीतपत्रमार्फत आयात गर्दा तातोपानी भन्सार, सिन्धुपाल्चोक, रसुवा भन्सार र रसुवा तातोपानी भन्सारबाट मात्र सामान आयात गर्नुपर्ने व्यवस्था रहेको थियो ।
एकै दिन खिचियो बैंकिङ प्रणालीको ९० अर्ब
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट एकै दिन ९० अर्ब रुपैयाँ अधिक तरलता खिचेको छ । बिहीबार मौद्रिक उपकरण बिक्रीमार्फत बोलकबोलद्वारा उक्त रकम तानिएको हो । यसको परिपक्व हुुने अवधि १० दिन र सावाँ व्याज भुक्तानी मिति असोज १२ गते तोकिएको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका लागि यो उपकरण बिक्री गरिएको थियो । खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सीमा तोकिएको थियो ।
यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुमा धितोको रुपमा समेत राख्ने सकिने जानकारी राष्ट्र बैंकले जनाएको छ ।