काठमाडौं । जेन–जी आन्दोलनलगत्तै भएको सत्ता परिवर्तनको नकारात्मक असर सेयरबजारमा देखिएको छ । जेन–जी आन्दोलनका कारण यही भदौ २४ गतेदेखि बन्द रहेको सेयरबजार बिहीबार खुले पनि ‘क्र्यास’ भएको हो । छ प्रतिशतले नेप्से घटेपछि निर्धारित समयभन्दा झण्डै तीन घण्टाअघि नै नियमित कारोबार रोकिएको थियो ।
बिहान ११ बजे नियमित कारोबार खुलेको थियो । तर दुई मिनेट २२ सेकेन्डमा नै नेप्से चार प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक लागेर २० मिनेट कारोबार स्थगित भएको थियो । सोपश्चात् ११ बजेर २२ मिनेट २२ सेकेन्डमा बजार खुलेको थियो । तर सोलगत्तै अर्थात् ११ बजेर २३ मिनेट २५ सेकेन्डमा नै थप एक प्रतिशतले घटेपछि लागेपछि पुनः दोस्रो सर्किट ब्रेक लागेको थियो । दोस्रो सर्किटमा कारोबार ४० मिनेटको लागि स्थगित भएको थियो ।
त्यसपछि पनि नेप्सेको घट्ने क्रम रोकिएन । १२ बजे पुनः खुलेको बजारमा नेप्से तीन मिनेट २५ सेकेन्ड (१२ बजेर छ मिनेट नौ सेकेन्ड)मै पुनः छ प्रतिशतले ओरालो लाग्यो । योसँगै पूरै दिनको कारोबार रद्द भयो । उक्त अवधिमा नेप्से आज एक सय ६० दशमलव ३३ प्रतिशतले ओरालो लागेर २५ सय ११ दशमलव ९१ विन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा यसदिन दुई सय ३८ वटा कम्पनीहरुको सात हजार चार सय ३५ पटकको कारोबारमा १७ लाख ५२ हजार सात सय ८१ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट यसदिन कुल कारोबार रकम ७२ करोड ८७ लाख दुई हजार आठ सय ३० रुपैयाँ कायम भएको छ ।
धितोपत्र बजारमा यसदिन १३ वटा उपसमूहहरुको सेयर कारोबार भएकोमा सबै उपसमूहहरुको सूचक ओरालो लागेर सेयरबजार पूरै रातो देखिएको छ । सोमध्ये वाणिज्य बैंक ७७ दशमलव ५८, विकास बैंक दुई सय ८७ दशमलव ६७, फाइनान्स एक सय छ दशमलव ३६, जलविद्युत् एक सय ८२ दशमलव ४४, जीवन बीमा आठ सय ४० दशमलव ३१, निर्जीवन बीमा छ सय ५६ दशमलव पाँच अंकले घटेका छन् ।
यसबाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार उपसमूहको सूचक पनि क्रमशः चार सय ८७ दशमलव २८, सात दशमलव ६६, तीन सय ६९ दशमलव ७६, दुई सय दुई दशमलव ७४, शून्य दशमलव शून्य छ, एक सय ९४ दशमलव ४६ र तीन सय ६४ दशमलव ६४ विन्दुले खुम्चिएका छन् ।
यस दिन हिमस्टार ऊर्जा कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाउँदा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । हिमालयन डिस्ट्रिलरी प्रालिको भने यसदिन सबैभन्दा बढी रकम कारोबार भएको छ ।