काठमाडौं । गत भदौ २३ र २४ गतेको जेन–जीको प्रदर्शनका क्रममा आ–आफ्ना व्यवसायमा परेको क्षतिको बीमा दाबी गर्ने कार्य भइरहेको छ । निजी क्षेत्रका उद्योग/व्यवसायबाट भदौ ३१ गतेसम्म लघुबीमासहितका १८ वटा निर्जीवन बीमा कम्पनीहरूमा पौने २१ अर्बको बीमा दाबी परेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार २० अर्ब ७० करोडको एक हजार नौ सय ८४ वटा बीमादाबी परेको हो । सबैभन्दा धेरै क्षति व्यहोरेको भाटभटेनी सुपरस्टोरको बीमा रहेको दि ओरियन्टल इन्स्योरेन्समा सबैभन्दा धेरै दाबी परेको छ । यो कम्पनीमा कुल पाँच अर्ब ४१ करोड बराबरको ४० वटा दाबी माग गरिएको छ ।
त्यस्तै, दोस्रोमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा चार अर्ब ९३ करोडको दुई सय ५८ वटा दाबी पर्दा शिखर इन्स्यारेन्समा दुई अर्ब ३९ करोडको तीन सय ६६ वटा दाबी परेको छ । यसबाहेक आईजीआई प्रुडेन्सियल, सगरमाथा लुम्बिनी, हिमालयन एभरेस्ट र नेको इन्स्योरेन्सको एक अर्बमाथिको र अन्य ११ वटा बीमा कम्पनीमा भने अर्बभन्दा थोरै मात्र बीमा दाबी परेको प्राधिकरणले जनाएको छ ।
जेन–जी प्रदर्शनले पुर्याएको क्षति अझै आउने क्रममै रहेका कारण बीमा माग दाबी थप बढ्न सक्ने छ । प्राधिकरणले पहिलो चरणमा देशभरमा १९ सय ८४ वटा दाबी परेको जनाएको छ ।