कहिलेकाहीँ यस्तो पनि अवस्था हुँदो रहेछ कि परिस्थितिबारे केही सोच्नै नसकिने रहेछ । एकदिन र एकछिनको भीडले जे पनि गर्छ र भीड कता जाँदोरहेछ भन्ने थाहा नै हुँदो रहेनछ । कहिलेकाहीँ भीडले राम्रो काम पनि गर्दाेरहेछ भने कहिलेकाहीँ भीड खराब कामतिर लाग्दा विध्वंश पनि हुँदो रहेछ । यही सन्देश अघिल्लो महिना अर्थात् भदौ २३ र २४ को घटनाले विश्वभर चर्चाको केन्द्रमा रह्यो । यसले धेरै परिवर्तन पनि ल्याउनुका साथै कतिपय कुराले त नेपाल र नेपालीको शिर नै झुक्ने गरी नकारात्मक सन्देश पनि फैलायो ।
आन्दोलनमा उत्रिएको अनियन्त्रित भीडले अरुको व्यक्तिगत सम्पत्ति जलाउँदैमा कोही बहादुर हुँदैन । आन्दोलनमा नेपाली युवाहरुले कस्तो शिक्षा पाएछन् भन्ने विषय धेरैको चासोको विषय बनेको छ । संसारमा कलह हुन्छ, युद्ध हुन्छ, ठूला–ठूला बमबारी भएका छन् । जस्तै, झगडा पनि भइरहेको छ, आन्तरिक कलहदेखि बाह्य कलह पनि विश्वका धेरै देशहरुले उत्तिकै व्यहोरेका छन् । तर आफ्नै सम्पत्ति जलाउने अनि आफ्नै दाजुभाइलाई दुःख दिने खालको अवस्था जसरी यो भीडले ल्याएको छ, त्यो कदापि राम्रो होइन र यसले देशलाई धेरै पछाडि धकेलेको छ । यही आन्दोलनले गर्दा मुलुकको धेरै सम्पदा नष्ट भएका छन्, सरकारी कागजातहरु जलेका छन्, मुद्दामामलाका फाइलहरु समेत जलाइएका छन् । जुन अकल्पनीय छ र आन्दोलनमा गर्नै नहुने काम पनि गरिएको छ ।
हुन त मानवीय क्षतिलाई भौतिक क्षतिसँग तुलना गर्न मिल्दैन । ज–जसले यो आन्दोलनमा ज्यान गुमाउनुभयो उहाँहरुको आत्माको चिर शान्तिको कामना गर्न चाहन्छु । उहाँहरुको परिवारलाई राज्यको तर्फबाट पनि सक्दो सहयोग र राहत दिनुपर्छ र सरकारले दिने नै छ । यद्यपि, मानव जीवन त कोही कसैले पनि फर्काउन सक्दैन । भौतिक पूर्वाधार त बनाइएला, सबैजनाको साथ र सहयोग भयो भने र काम गर्नै आतुर भयो भने जे पनि समयमा नै बन्न सक्छ । तर यी यावत कुराहरु गर्नै नहुने र अकल्पनीय घटना भएका छन् । त्यसमध्ये गर्नै नहुने निम्न कुराहरु छन् । जस्तै, विभिन्न ठाउँमा भीडले सरकारी र निजी संरचना मिलेर जलाउने, भड्काउने र बिगार्ने गरेका छन् । यसमा खराब मानसिकता त उदण्डपन मुख्य कारण हुन् ।
१. देशको प्रमुख केन्द्रहरु जलाउनु तथा धरोहरहरु जल्नु आफैँमा हरेक नेपालीको लागि दुःखद् कुरा हो । जस्तै, संसद् भवन, राष्ट्रपति भवन, सिंहदरबार, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, यातायात कार्यालय, मालपोत, प्रहरी भवन आदि जल्नुले सायद कसैलाई पनि फाइदा भएन होला । यसले नेपालमा गम्भीर सुरक्षा चुनौती त देखियो नै यसका अलावा प्रहरीमाथिको आक्रमण र गोली चल्नु दुवै कुराले अमानवीय व्यवहार भएको पनि देखियो ।
‘प्रहरी जनताको साथी हो’ भन्ने भावलाई अब चरितार्थ उतार्नका लागि प्रहरीले कानुनसम्मत काम गर्ने र निर्दोषलाई कतैबाट पनि सजाय नदिने एवम् दोषीलाई कडा कारबाही गर्नुका साथै अपराध गरी चोरी डकैती गर्ने र अराजक तत्वलाई उम्किन नदिने गरी काम गर्नुपर्छ । साथै, यस्ता व्यक्तिलाई कानुनको कठघरामा ल्याउने एवम् दोषीलाई कारबाही गरी समाजमा शान्तिसुरक्षा कायम गराई जनतालाई सुरक्षित आवास गराउनु आजको चुनौती भएको छ ।
जलेका भवन तथा कागजातलाई पुनः यथास्थितिमा ल्याउन सबै मिली हातेमालो गर्नु नै आजको सबै नेपालीको कर्तव्य हो भन्ने ठान्ने बेला पनि भएको छ । जसरी बिग्रियो अब बनाउनतर्फ अग्रसर हुनुपर्छ ।
२. सार्वजनिक सम्पत्तिमा आगो लगाउनुजस्तै सरकारी कार्यालयहरु, नगरपालिका, अरु सरकारी कार्यालय, ट्राफिक बिट, चिह्न तथा संकेत ओखेल्नेजस्ता क्रियाकलापले जनता त्रसित भएका छन् । जथाभावी जलाएका गाडी तथा मोटरसाइकलहरुले कति ठाउँ त खण्डहर भएका छन् । यसले कतिलाई त गर्व लागेको होला तर यसले समाज, राष्ट्र र अन्तर्राष्ट्रियरुपमा राम्रो सन्देश दिएको छैन । परिवर्तनको लागि आन्दोलन चाहिन्छ तर प्रतिशोध साँधेरै व्यवसाय नै ध्वस्त बनाउने गरी अरुसँग रिसाएर आगो लगाउनु पनि घोर अपराध हो । लाखौँलाई रोजगारी दिने र कार्यालयमा बस्नै नसक्ने गरी जलाउनु कुनै महान् काम पक्कै होइन ।
३. व्यावसायिक भवनहरु जलाउनुजस्तै भाटभटेनीको २१ मध्ये १२ वटा त पूर्णरूपमा क्षति भएको छ । अरुमा तोडफोडका साथै चोरी भएको समाचारले धेरैको मन रोएको छ । एनसेलको हेडक्वार्टर पूर्णरूपमा ध्वस्त भएको तथा सबै सामानमा क्षति पुगेको छ । गाडीहरु जलाएको र स्कुल/कलेजहरुको भवन समेत जल्नु/जलाउनु पनि अत्यन्तै आपत्तिजनक कुराहरु हुन् । जसले लाखौँ मानिसलाई रोजगारी दिएको छ, त्यसलाई जलाउनु निन्दनीय अपराध हो । चोरी गर्नु, चोरी गर्न उक्साउनु, अरुले गरी खाएको देखिनसहनु र आगो सल्काउन प्रेरित गर्ने सबै अपराधजन्य क्रियाकलापहरु हुन् । यसले नेपालमा व्यवसाय गर्न प्रेरणा मिलेका र विदेशी लगानी आउनुपर्ने बेलामा स्वदेशको यस्तो क्रियाकलापले व्यवसायीको मनोबल समेत घटाउने जोखिम देखिन्छ । व्यवसाय गर्नु, पैसा कमाउनु वा कमाउन खोज्नु र आफ्नै देशमा रोजगारी सिर्जना गर्नु स्वागतयोग्य कुराहरु हुन् । तर व्यवसायीले राज्यलाई तिर्ने कर तिरेको छैन वा कानुनको पालन नगरी कुनै पनि व्यवसाय गरेको छैन भने त्यसलाई कानुनको कठघरामा ल्याउनु राज्यको कर्तव्य हो र कारबाही गर्नु राज्यको कर्तव्य हो । तर अरुको सम्पत्ति जलाउनु र यसलाई सुरक्षा प्रदान गर्न नसक्नुले पनि गम्भीर सुरक्षा चुनौती देखाएको छ । तर अब उच्च मनोबलका साथ काममा फर्काउने र व्यवसायमा शान्ति सुरक्षा दिन सकेमा व्यवसायीहरु पुरानै मनोबलका साथ काममा फर्किन सक्नेछन् ।
४. व्यक्तिको निवास जलाउनु, नेताको घर जलाउनुका साथै सरकारी कर्मचारी र नेताको नजिकको मान्छेको समेत घर जलाउनुले मानिसको मानसिकता कस्तो छ भन्ने देखिएको छ । घरमा बसेकी रोगी, बुढी आमा–बुबा भएको ठाउँमा समेत गएर तहबाट बाहिर निकाली घरमा आगो सल्काउनु घोर अमानवीय क्रियाकलाप हो । यसले आम मानिस कतिसम्म निर्दयी छ भन्ने देखाएको छ ।
५. सबै साधनमा आगो लगाउनु पनि देशलाई नोक्सानीको बाटोमा लैजानु हो । न हामी कहाँ गाडी बनाउँछौँ, न त एउटै पार्टपुर्जा नै बनाउँछौँ, यस्तो देशको नागरिक तथा व्यक्तिको सबै साधन जलाउनुले त कति मानिसलाई कसरी ऋण तिर्ने भन्ने समस्या परिरहेको छ । त्यही एउटै भएको मोटरसाइकल पनि जल्दा उसको मोटरसाइकल वा गाडी सँगसँगै सबै सपना जलेका छन् ।
६. व्यापारिक केन्द्रहरु, कति मिडिया हाउसहरु, गाडीका सोरुमहरुका साथै अन्तर्राष्ट्रिय चेन होटलहरु जल्दा यस्तो महसुस भयो कि त्यससँगसँगै नेपालको छवि पनि जलेकोजस्तो आवास भयो । विदेशीलाई होटलको छतबाट हेलिकोप्टरमा निकाल्नुपर्ने बाध्यताले नेपाल असुरक्षित भएको देखियो । अन्तर्राष्ट्रियरूपमा बेइज्जत त भयो नै त्यसका अलावा काम गर्ने हजारौँ नेपालीको गाँस खोसिनुले धेरैलाई पीडा दिएको छ ।
यस्तै, समाजमा अरुको घर र देश जल्दा खुसी भएको देख्दा त मानिसमा दया र करुणाको अन्त्य भएको देखियो । आज यही बेला चोरी डकैती गर्नु, लुटपाट गर्नु, पुलिसको बन्दुक र बर्दी खोसी आफैँ लगाएर फोटो खिच्नु, हतियार लुट्नु, निःशस्त्र र निरिह बनाई नाङ्गै पारी कुट्नु, लखेट्नु र कुट्न प्रोत्साहन गर्नुले पनि समाजमा उच्च हिंसात्मक तत्व हाबी भएको देखाउँछ । यसलाई नियन्त्रण गरी जनताको मुखमा हाँसो फर्काउनु राज्यको कर्तव्य हो र आजको चुनौती पनि हो । साथै, प्रहरीको मनोबल घट्ने समाचारहरुले पनि पुलिस संगठनमा नकारात्मक सन्देश दिने हुँदा यसको निराकरण गरिनु आवश्यक छ । त्यस्तै, जेल तोडी कैदी भगाउनुले त झन् समाजलाई असुरक्षित बनाएको महसुस भयो । साथै, निर्दयी कुटाइ जुनसुकै पक्षको होस् त्यो देख्दा र आममानिसले नेपाल बाहिरबाट हेर्दा देशमा दया र करुणाको भाव भएका मानिसको कमी भएको हो कि भन्ने आवश्यक छ ।
७. जनता उक्साउने समाचार प्रसारण गर्नुले पनि आजको समाजलाई फुटाउनुका साथै बालेको आगोमा घिउ थप्ने कार्य भएको देखिन्छ । समाचार चाहे युट्युबमा होस् वा रेडियो टेलिभिजनमा होस्, कसैलाई पनि देश रोएको बेला त्यसमा उचाल्ने र आजै जलाउने क्रियाकलाप गराउन मद्दत हुने समाचार प्रसारण गर्नुहुँदैन ।
आफैँ समाचार संकलक, आफैँ वकिल अनि आफैँ न्यायाधीशजस्तै समाचार दिई जनतालाई भड्काउने कार्य गर्नुहुँदैन जस्तो लाग्छ । यसोभन्दा आम नागरिकको आवाज दबाउने भनेको होइन । समय र परिस्थितिअनुसार भीडलाई आजै उत्तेजित हुने खालको समाचार तयार गरी प्रसारण गर्नुहुँदैन । आफ्नो भ्युज बढाउनलाई व्यावसायिक समाचार प्रसारण गर्नु पनि समाजमा हिंसा बढाउन मद्दत गर्नु र आगोमा घ्यु थप्नु सह्रानीय होइन ।
यी कुराहरुलाई कदापि बिर्सिन सकिँदैन । मानवीय क्षतिलाई कहिल्यै कम ठान्नुहुँदैन । देश जलेको बेला असल नागरिक कहिल्यै हुँदैनन्, बरु हरेक हात मलम बनी घाउलाई निको पार्न आउँछ र मलम बनी आउनैपर्छ । नेपाल आमा रुँदा पछ्यौरी लिएर आमाको आँसु सबै मिलेर पुछ्नुपर्छ । देशको सम्पत्ति हाम्रो सम्पत्ति हो, यसको विनाश हुँदा हामी नै पछि पर्छौँ । अब हामी फुट्नु होइन, एकजुट भई हातेमालो गर्ने बेला आएको छ । एकजना पनि मर्दा देशकै छोराछोरी मर्ने हुन् । अब मार्ने, भड्काउने होइन, बनाउने बेला भएको छ । आऔंँ सबै मिलेर राष्ट्र निर्माणमा सहभागी बनौँ ।