धनगढी । स्थानीय तहरुले वार्षिक बजेट निर्माणका लागि आयोजना गर्ने टोल भेलाहरु औपचारिकता मात्र सीमित हुने गरेका छन् । टोल भेलामा राखिएका योजनामा स्थानीय तहले बजेट विनियोजन नगर्ने भएपछि सहभागिता पनि न्यून हुँदै गएको छ ।
हाल वडा भेलामा स्थानीय समस्या छलफलभन्दा फारम भर्ने प्रक्रिया पूरा गरेर कार्यक्रम सक्ने गरिएको छ । गोदावरी नगरपालिका–१ ले गत वैशाखमा वडाको वार्षिक बजेट निर्माणका लागि टोल भेला आयोजना गरेको थियो । विजयनगर र वनखेत टोललाई समेटेर आयोजना गरिएको भेलामा करिब पाँच सय घरधुरीमध्ये १० जनामात्र सहभागी भएका थिए । सोही दिन जित्तलपुर शिविर, उग्रतारा, सैपाल, देउवा र भरपुर टोलको संयुक्त भेलामा पनि केवल १३ जना सहभागी भए । स्थानीय नरेश विक भन्छन्, ‘अब त टोल भेला कहिले हुन्छ भन्ने जानकारीसमेत आउँदैन । माग राखे पनि सुनुवाइ हुँदैन ।’
स्थानीयहरूले ढल निकास, सडक, सडकबत्ती, पार्कजस्ता आधारभूत आवश्यकताका माग पटक–पटक राखे पनि पूरा नहुने गरेको गुनासो गरे । रमेश विकले भने, ‘हरेक साल ढलको समस्या राख्छौँ, तर अहिले उता ध्यानै छैन । अब त टोल भेलामा जानै मन लाग्दैन ।’ गोदावरी–१ का वडाध्यक्ष गोपालदत्त भट्टले सीमित बजेटका कारण सबै योजना समेट्न नसकिने बताए । ‘हामी प्राथमिकताका आधारमा केही योजना मात्र नगरमा पठाउँछौँ,’ उनले भने ।
स्थानीयस्तरमा जनतालाई सरकारसँग जोड्न गठित टोल सुधार समिति पनि निष्क्रिय छन् । विजयनगर टोल सुधार समितिका अध्यक्ष विक्रम विकले समिति दर्ता त गरिएको भए पनि कुनै जिम्मेवारी नदिएकाले निष्क्रिय हुनु परेको बताए । गोदावरी नगरपालिकाको सामाजिक शाखा प्रमुख ज्ञानेन्द्र भट्टका अनुसार नगरपालिकामा एक सय जति टोल सुधार समिति छन् तर आधाभन्दा बढी नवीकरण नभई निष्क्रिय छन् ।
जनताको पहुँचभन्दा बाहिर ‘खल्ती योजना’
योजना छनोटमा सहभागितालाई प्रवर्द्धन गर्न टोल भेलाको व्यवस्था गरिएको भए पनि प्रभावशाली नेताका ‘खल्ती योजनाहरू’ नै प्राथमिकतामा पर्ने गरेको गुनासो बढ्दो छ । गैरसरकारी संस्था महासंघ कैलालीका उपाध्यक्ष विनोद कडार भन्छन्, ‘जो सत्तामा छन्, उनीहरुकै योजनाअघि बढ्छ । आम जनताको आवाज सुन्ने चलन हराउँदै गएको छ ।’ संघीय संरचनामा वडालाई जनतासँग प्रत्यक्ष जोडिएको तह मानिन्छ । तर टोल भेला र योजना छनोट प्रक्रिया प्रभावहीन बन्दै गएको छ । सहभागिता न्यून, टोल सुधार समिति निष्क्रिय र छनोटमा पहुँच हावी हुँदा स्थानीय सरकारप्रतिको विश्वास घट्दै गएको देखिन्छ ।