काठमाडौं । लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले जेनजी नामक आन्दोलनले पु¥याएको क्षतिको पुनःनिर्माणमा सहयोग गर्ने भएको छ ।
हालै नेपालमा भएको आन्दोलनका क्रममा भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । यस्ता चुनौतीपूर्ण परिस्थितिमा देश पुनःनिर्माणका लागि हातेमालो गर्न ओम शिवम् पाइप्स एन्ड फिटिङ्स तथा मेरीगोल्ड फर्निचरअन्तर्गतको लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले सहयोग गर्ने भएको हो ।
कम्पनीले आगामी तीन महिनासम्मको आफ्नो कुल बिक्री रकमको एक प्रतिशत राष्ट्र पुनःनिर्माणमा समर्पण गर्ने निर्णय गरेको छ । यस निर्णयलाई राष्ट्रिय उत्तरदायित्व र ऐतिहासिक योगदानको रूपमा लिन सकिने कम्पनीको भनाइ छ । ‘हाम्रा संरचना हामी आफैँ बनाउँछौँ’ भन्ने नेपालको राष्ट्रिय नारालाई आत्मसात गर्दै कम्पनीले आफ्नो उत्पादनको बिक्रीबाट प्राप्त रकमको एक अंश पुनःनिर्माणमा खर्च गर्न लागेको हो । यसमार्फत क्षतिग्रस्त संरचनाको पुनःनिर्माणसँगै देशभर आत्मनिर्भरता, एकता र सकारात्मक ऊर्जा फैलिने कम्पनीको विश्वास छ ।
कम्पनीका प्रबन्ध निर्देशक अञ्जनी नन्दन मारुले देशको सम्पत्ति र संरचना हाम्रो गौरव भएको बताइन् । पुनःनिर्माणका हरेक प्रयासमा पूर्ण समर्पणसहित अघि बढ्न तयार रहेको उनको भनाइ छ । निकट भविष्यमा सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने तयारीमा रहेको लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले यस ऐतिहासिक कदममार्फत आफ्नो सामाजिक उत्तरदायित्वलाई अझ सशक्त तुल्याएको छ ।