लन्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री केइर स्टार्मरले आर्टिफिसियल इन्टेलिजेन्स(एआई), ‘क्वान्टम कम्प्युटिङ’ र आणविक ऊर्जामा सहयोग सुदृढ गर्न बिहीबार औपचारिकरूपमा प्रविधि साझेदारीमा हस्ताक्षर गरेका छन् ।
‘यो बेलायतको इतिहासमा यस प्रकारको सबैभन्दा ठूलो लगानी प्याकेज हो’, ट्रम्पको बेलायत भ्रमणका क्रममा आफ्नो निवास चेकर्समा स्टार्मरले भने । ट्रम्पको भ्रमणले अधिकांश अमेरिकी प्रविधि कम्पनी र वित्तीय समूहहरूले बेलायतमा केही वर्षमा संयुक्त रूपमा १५० अर्ब पाउन्ड (२०५ अर्ब डलर) लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एएफपीका अनुसार अमेरिकी कम्पनीहरूले ३१ अर्ब पाउन्ड (४२ अर्ब डलर)को लगानी गर्ने घोषणा गरिसकेका छन्, जसमा माइक्रोसफ्टबाट मात्र ३० अर्ब डलरको सुरक्षा सुपरकम्प्युटर परियोजना छ । डिजिटल सेवा कर र इन्टरनेट नियमनबारे सम्झौता अझै अस्पष्ट छ । मे महिनामा दुवै नेताले अटो र एयरोस्पेस क्षेत्रमा भन्सार शुल्क कम गर्ने व्यापार सम्झौता गरेका थिए तर इस्पात–एल्युमिनियममा २५ प्रतिशत भन्सार शुल्क शून्यमा झार्ने बाचा अझै पूरा भएको छैन ।
यसअघि, बुधबार विन्डसर क्यासलमा राजा चाल्र्स तृतीय र रानी क्यामिलाले ट्रम्प दम्पतीलाई सुनौलो गाडी, तोप सलामी र भव्य भोजसहित राजकीय सम्मान गरेका थिए । बेलायती अधिकारीहरूले यो भ्रमणलाई ‘अभूतपूर्व’ भन्दै अमेरिकी राष्ट्रपतिको दोस्रो राजकीय भ्रमणका रूपमा विशेष गौरवका साथ मनाएका थिए ।