काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था क्रमशः सुधारोन्मुख रहेको पार्टीले जनाएको छ। भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा बूढानीलकण्ठस्थित निवासमै प्रदर्शनकारीले आक्रमण गर्दा देउवाको टाउको पछाडिपट्टि र गर्धनमा चोट लागेर १२ वटा टाँका लगाइएको थियो। उनीसँगै पत्नी आरजु राणा देउवा पनि घाइते भएकी थिइन्। तत्काल नेपाली सेनाले उद्धार गरी दुवैलाई शिवपुरीस्थित सैनिक अस्पतालमा उपचारका लागि लगिएको हो। देउवा दम्पतीको स्वास्थ्य अवस्थाबारे आज सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पनि छलफल भएको थियो। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सभापति देउवाको चोट क्रमशः निको हुँदै गएको जानकारी दिए। ‘सभापतिज्यूले दिनुभएको विवरणअनुसार टाउकोमा करिब १२ वटा टाँका लगाइएको छ, गर्धनमा पनि चोट छ। तर दुवै घाउ सुधारोन्मुख अवस्थामा छन्। उहाँ सामान्य बोलचाल गर्नुहुन्छ र साथीहरूसँग संवाद पनि भइरहेको छ,’ उनले भने। विश्वकर्माका अनुसार उठ्दा चक्कर लाग्ने र बोल्दा असजिलो हुने समस्या रहेकाले देउवा अझै केही दिन उपचारमै रहनेछन्। आरजु राणा देउवाको स्वास्थ्यमा पनि सुधार आएको जानकारी उनले दिए।घटनास्थलको अवस्थाले देउवा दम्पतीमाथि सिसा, रड वा धारिलो हतियार प्रयोग गरेर प्रहार भएको हुन सक्ने अनुमान गरिएको छ।