काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले यात्रुवाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । शनिबार मन्त्रालयमा सरोकारवालासँगको छलफलपछि उनले काठमाडौं उपत्यकाबाट बाहिर जाने सार्वजनिक यातायात सुरुङमार्गमार्फत चलाउनुपर्ने निर्णय गरेका हुन् । छलफलमा सहभागी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीहरूले हाल पहिरो र बाढीका कारण रात्रीबसलाई दिउँसो सञ्चालन गर्नुपर्ने माग राखेका थिए । सुरुङमार्ग प्रयोगसँगै नयाँ बसपार्क तथा विभिन्न राजमार्गमा सुरक्षा व्यवस्था कडाइ गर्न गृह मन्त्रालयमार्फत नेपाल प्रहरीलाई अनुरोध गर्ने निर्णयसमेत भएको छ । दशैं अवधिमा यात्रुबाहक सवारीलाई प्राथमिकता दिँदै बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा १२ चक्केभन्दा ठूला मालबाहक सवारी सञ्चालन नगर्न भनिएको छ । तर, खाद्यान्नलगायतका अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीलाई भने सहज रुपमा आवागमन हुने व्यवस्था मिलाइने भएको छ । सडक विभागलाई देशभरका मुख्य सडक चुस्त राख्ने, पहिरो व्यवस्थापनका लागि सामग्री र उपकरण तयारी अवस्थामा राख्ने, दाउन्ने खण्डमा २४ घण्टा दुईतर्फी सवारी सञ्चालन सुनिश्चित गर्ने, नारायणगढ–मुग्लिन सडकखण्डमा तुइन खोलाको अवरोध हटाउने र तातोपानी नाका जोड्ने सडक दशैंअघि सञ्चालनमा ल्याउने निर्देशन दिइएको छ । यात्रा गर्दा मौसम र सडकको अवस्था बुझ्न नागरिकलाई सावधानी अपनाउन अनुरोध गर्दै सार्वजनिक सूचना जारी गर्ने निर्णय पनि गरिएको छ । साथै, सार्वजनिक सवारीलाई सुरक्षित र प्रविधिमैत्री बनाउन कार्यविधि र निर्देशिका बनाउन यातायात व्यवस्था विभागलाई भनिएको छ । सडक र सुरक्षाको अवस्थालाई व्यवस्थित गर्न २४ घण्टा सञ्चालन हुने कन्ट्रोल रुम र फोकल पर्सनको व्यवस्था मिलाउनुपर्ने पनि मन्त्री घिसिङको निर्देशनमा उल्लेख छ ।