काठमाडौं । मुलुकमा भ्रष्टाचार अन्त्य गरेर सुशासन कायम गर्न माग गर्दै गत भदौ २३ र २४ गते जेन–जी पुस्ताको आह्वानमा भएको विद्रोहमा सामाजिक सञ्जालमा भाइरल भएको तत्कालीन अर्थमन्त्री विष्णु पौडेल भनी पिटिएको भिडियो पौडेलको नभएर युनिटी ठगी काण्डमा अदालतले डामेर छाडेका अत्यन्त विवादास्पद पात्र लोकबहादुर टण्डनको भएको खुलेको छ ।
गुल्मीका टण्डन युुनिटी इन्टरनेसनल नामको नेटवर्किङ कम्पनीको नाममा निर्वाध ठगीको साम्राज्य चल्दा पनि फाइदा लिने र सरकारले युनिटी खारेज गरेपछि पनि फाइदा लिने केही भाग्यमानी ठगहरुमध्येको एक मानिन्छन् । गुल्मीका टण्डन युनिटी चलुन्जेल कासीराम गुरुङ, विष्णु क्षेत्रीहरुसँग थिए । उनी क्षेत्री निकट मानिन्थे र उनलाई युनिटी इन्टरनेसनलले बसुन्धारामा बनाउन लागेको युनिटी अस्पताल निर्माणको रेखदेख गर्ने जिम्मा लिएका थिए ।
अहिले जेन–जी युवा विद्यार्थीले भ्रष्टाचारविरुद्ध विद्रोह गरेजस्तै उतिबेला युनिटीको ठगी काण्डविरुद्ध इलामको पशुपति नगरबाट उठेको आन्दोलनले व्यापकरुप लिएपछि सरकारले युनिटी इन्टरनेसनल खारेज गरेको थियो र त्यसपछि टण्डनले बसुन्धारामा ओपनिङ गर्न ठिक्क पारिएको युनिटी इन्टरनेसनल अस्पतालको साइन बोर्ड निकालेर ग्रिन सिटी अस्पतालको बोर्ड टाँसेर युनिटीको सम्पत्ति कब्जा गरी आफ्नो बनाएका थिए । काशीराम गुरुङले युनिटी नामको नेटवर्किङ कम्पनी खोल्ने थाहा पाएपछि त्यसमा विष्णु क्षेत्रीमार्फत जोडिएका टण्डन त्यसअघि नेपाल प्रहरीको भगौडा सिपाही थिए । युनिटीका सञ्चालकले बाहुबली भनेर उनलाई आफ्नो कम्पनीमा महत्वपूर्ण भूमिका दिएका थिए ।
केही वर्षअघिको कोरोनाकालमा बिरामी भएर मेडिसिटी भर्ना भएका उनै विष्णु क्षेत्रीलाई उसैको नाममा ठगेको ग्रिन सिटी अस्पताल भर्ना गरेर उपचारको प्रक्रिया सुरु गर्दा टाउको फुटेको अवस्थामा क्षेत्रीको निधन भएको थियो । युनिटीको ठगीकाण्ड पर्दाफास भएपछिको कारबाहीका क्रममा काशीराम गुरुङ विष्णु क्षेत्रीहरुसँग टण्डन पनि परेका थिए । तर अदालतले डामेर छाडेपछि उनी फुक्काफाल बन्दै गरेका थिए र युनिटी अस्पतालको सम्पत्ति हाकाहाकी लुटेर आफ्नो बनाएका थिए ।
कांग्रेस नेता चन्द्र भण्डारी र एमाले नेता प्रदीप ज्ञवालीको संरक्षणमा साँढे पल्टिँदै गएका टण्डनको चुरीफुरी पछिल्लो समय छोइनसक्नु भएको थियो । जेन–जी युवा विद्यार्थीको आन्दोलनका क्रममा उनै टण्डनलाई प्रदर्शनकारीहरुले नियन्त्रणमा लिएर रामधुलाइ गरेको हुन् र बल्लबल्ल ज्यान जोगाउन सफल भएका हुन् ।चार अर्ब रुपैयाँभन्दा बढीको युनिटीको आम ठगीकाण्डमा प्रसाद भनिने काशीराम गुरुङ, विष्णु क्षेत्री, कृष्ण क्षेत्री, भीम गुुरुङ इन्द्र विक, नेत्रराज वंशी, महेन्द्र केही, एलबी टण्डन, शिशिर योगी, कालु गुरुङ, विश्वनाथ गौतम एक सय १२ जनाले आम नागरिककै सम्पत्ति संगठितरुपमा ठगेका थिए । उनीहरुले तीन लाख ८६ हजार सात सय १० जनालाई विभिन्न कम्पनी र संस्थामार्फत ठगेका थिए । उनीहरुले सपिङ सेन्टर ट्राभल, रियल स्टेट, डिपार्ट मेन्टर स्टोर, विज्ञापन एजेन्सी, डेरी उद्योग, हाइड्रोपावर कपन्नीसँगै अस्पतालको नाममा जनतासँग पैसा असुलेर ठगेका थिए र टण्डनले युनिटी अस्पताल र यति स्वास्थ्य विज्ञान प्रतिष्ठान हेर्ने गरेका थिए ।
युनिटी चलुन्जेल त्यसैका नाममा ब्रह्मलुट मच्चाएका टण्डनले युनिटी खरेज भएपछि ती दुवै संस्थानमा अर्कै साइनबोर्ड टाँसेर आफ्नो निजी सम्पत्ति बनाएका थिए । जिल्ला अदालतबाट सुरु भएको मुद्दा तहगत अदालत पार गर्दै सर्वाेच्च अदालत पार गर्दै किनारा लाग्यो र लामो समयपछि त्यसको पूर्णपाठ पनि आयो । युनिटीका धेरैजसो ठगहरुविरुद्ध मुद्दा नै चलेन, अहिले पनि युनिटीको सम्पत्तिमा रजाइँ गर्ने भुईँफुट्टाहरु काठमाडौंमा जतात्यतै भेटिन्छन् ।
तर जसलाई कारबाही थालिएको थियो, तीमध्ये अधिकांशले अदालतबाटै सफाइ पाए । तीमध्येका एक थिए उनी । अहिले जेन–जी आन्दोलनमा प्रदर्शनकारीले रामधुलाइ गरेका एलबी टण्डन प्रदर्शनकारीहरुले अर्थमन्त्री विष्णु पौडेल भाग्यो, भन्दै आफूमाथि आक्रमण गरेको कुरा स्वीकारेका छन् । आन्दोलनका घाइतेहरु अमि डुम्रे र लक्ष्मण कँडेललाई आफ्नो अस्पतालमा उपचार सम्भव नभएपछि मनमोहन हस्पिटलमा पु¥याएर फर्किँदा आफूमाथि आक्रमण भएको बताएका छन् । सामाजिक सञ्जालमा अर्थमन्त्री पौडेल कुटिएको भनी भाइरल भएको भिडियो आफ्नै भएको पनि उनले स्वीकारेका छन् ।