काठमाडौ । वैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै युक्रेन पुगेका दुई जना नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को पहल र जर्मनीस्थित नेपाली दूतावासको समन्वय तथा आवश्यक सहजीकरणमा उनीहरुको उद्दार गरिएको हो ।
विगत १४ महिनादेखि युक्रेनस्थित सैन्य क्याम्पमा रहेका रौतहटका २८ वर्षीय जयप्रकाश शाह र बाग्लुङका २३ वर्षीय सन्देश केसीलाई उद्धार गरिएको एनआरएनएले जनाएको छ । केही समयअघि उनीहरूले एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतलाई सम्पर्क गरी उद्धारको लागि पहल गर्न आग्रह गरेका थिए । सोपश्चात् एनआरएनएले आवश्यक सहजीकरणका लागि दूतावाससँग समन्वय गर्दै आएको थियो । सन् २०२४ को जुलाइमा उनीहरू त्यहाँ पुगेका थिए । उनीहरु १४ महिनादेखि किएभको इमिग्रेसन क्याम्पमा रहँदै आएको थिए । युक्रेनबाट मल्दोवा र भारतको नयाँ दिल्ली हुँदै उनीहरु शुक्रबार दिउँसो १ बजे काठमाडौं आइपुगेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरुलाई स्वागत गर्न संघको सचिवालयबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत र कनिष्ठ अधिकृत निरोज महर्जन उपस्थित भएका थिए । उनीहरु दुवै जनाले दुःखको बेलामा गैरआवासीय नेपाली संघ र जर्मनस्थित नेपाली दूतावासले पुर्याएको समन्वय, सहयोग र सहजीकरणका लागि धन्यवाद दिएका छन् ।