धरान । चालू आर्थिक वर्ष सुरु भएको दुई महिनापछि धरान उपमहानगरले दुई अर्ब २० करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । धरान उपमहानगरपालिकाको शनिबार बसेको १७औँ नगरसभामा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो ।
संवैधानिक व्यवस्थाअनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्षको लागि बजेट नगर तथा गाउँसभामा प्रस्तुत गर्नुपर्ने हुन्छ । तर धरान उपमहानगरले आन्तरिक किचलोका कारण ढिलोगरी बजेट ल्याएको हो । नगरसभामा धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले चालू आर्थिक वर्षका दुई अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । उक्त बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख ६५ हजार रुपैयाँ, सङ्घीय सरकारबाट अनुदान ८९ करोड २९ लाख रुपैयाँ, प्रदेश सरकारबाट अनुदान सात करोड ७३ लाख ४४ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ३४ करोड १८ लाख ५० हजार रुपैयाँ, सडक बोर्डबाट दुई करोड रुपैयाँ र गत वर्षको मौज्दातबाट सात करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
उपमहानगरले चालू वर्षको लागि सहरी योजना तथा भौतिक पूर्वाधार विकासततर्फ ६६ करोड ९४ लाख रुपैयाँ, शिक्षा, युवा तथा खेलकुदतर्फ ४६ करोड ८५ लाख रुपैयाँ, स्वास्थ्यतर्फ छ करोड ९९ लाख ९५ हजार रुपैयाँ, सामाजिक विकासतर्फ चार करोड ८६ लाख ४५ हजार रुपैयाँ विनियोजन गरिएको छ । साथै, आर्थिक विकासतर्फ एक करोड २९ लाख, वन वातवरण ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ दुई करोड ७४ लाख ५० हजार, कानुन तथा न्याय सम्पादनतर्फ २० लाख, सार्वजनिक जग्गा संरक्षणतर्फ १५ लाख, राजस्व परिचालनतर्फ ४३ लाख र नगरभिजन कार्यक्रमतर्फ पाँच करोड पाँच लाख रुपैयाँ विनियोजन गरिएको छ ।
चालू आवका लागि धरानका २० वटा वडाका लागि २१ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यसैगरी, नगर कार्यपालिकातर्फ निःसर्त विनियोजन र एक अर्ब ३१ करोड ९२ लाख ८२ हजार, ससर्त अनुदानबाट ६० करोड ५६ लाख ७७ हजार, समपूरक बजेटबाट एक करोड ८२ लाख र विशेष अनुदानबाट पाँच करोड ४३ लाख रुपैयाँ विनियोजन गरिएको छ । नगरपालिकाले बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक विकास, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा बजेट प्राथमिकता दिइएको उपप्रमुख बेघाले बताए ।