धनगढी । धार्मिक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण खप्तड राष्ट्रिय निकुञ्ज पर्यटकीय दृष्टिकोणले निकै सम्भावनायुक्त क्षेत्र हो । तर प्रचारप्रसारको अभाव र आवश्यक पूर्वाधारको कमीका कारण खप्तडमा पर्यटक आगमन अझै न्यून छ ।
हाल खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक खेमराज जोशीका अनुसार, दैनिक १५ देखि २५ जना आन्तरिक पर्यटक खप्तड पुग्न थालेका छन् । जोशीले एकदमै कम पर्यटक मात्रै यहाँ पुग्ने गरेको बताए । ‘विदेशी पर्यटक त झनै छैनन्, आन्तरिक पर्यटकलाई समेत पर्याप्त जानकारी पुगेको छैन’, उनले भने । पछिल्लो समयमा खप्तडमा पर्यटकलाई आधारभूत सुविधा उपलब्ध गराउनका लागि धमाधम पूर्वाधार बन्न थालेको छ । समितिका अनुसार हाल खप्तडमा एक सय ५० जनालाई खान र ५० जनालाई बास दिने क्षमता भएको होटल सञ्चालनमा आइसकेको छ । होटल सञ्चालक लोकबहादुर रावलले विगतमा खानाबस्नको असुविधाले पर्यटकले सास्ती खेप्नुपरेको बताए । तर अहिले अवस्था फेरिएको उनको भनाइ छ ।
बाजुराको खप्तड छेडेदह गाउँपालिका–१, काँडा निवासी रावलले आफूले होटलमा पर्यटकका लागि स्थानीय उत्पादनमा आधारित पोषणयुक्त खानाको व्यवस्था गरेको बताए । रावलले स्थानीय उत्पादनमा आधारित पोषणयुक्त खाना उपलब्ध गराउँदै आएको बताए । ‘गहुँ, मकै, कोदो, चामल, तरकारी, दाल, घ्यू, दहीजस्ता अर्गानिक परिकारको व्यवस्था गरिएको छ,’ उनले भने । उनका अनुसार होटलमा शौचालय, सोलार ऊर्जा, मोबाइल चार्ज गर्ने सुविधा, खानेपानी आदि व्यवस्था भइसकेको छ । बासका लागि ५० बेडको क्षमता भएको गेस्ट हाउस सञ्चालनमा रहेको रावलले बताए । ‘अहिले पर्यटक कमै छन्, तर भविष्यमा संख्या बढ्ने आशामा सेवा दिइरहेका छौँ,’ रावल भन्छन्, ‘हाल होटल घाटामा चले पनि लगानी फिर्ता हुने विश्वास छ ।’ उनका अनुसार नेपाली सेनाको व्यारेक छेउमा थप दुईवटा होटल पनि खुलेका छने । होटलमा सोलार जडान गरी उज्यालो र मोबाइल चार्ज गर्ने व्यवस्था समेत गरिएको रावलले बताए ।
सरकारी लगानीमा नयाँ गेस्ट हाउस निर्माण अन्तिम चरणमा
नेपाल पर्यटन बोर्डको पाँच करोड रुपैयाँ लगानीमा ८० बेड क्षमताको गेस्ट हाउसको निर्माण अन्तिम चरणमा पुगेको छ । हाल ९५ प्रतिशत काम सम्पन्न भइसकेको खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक जोशीले जानकारी दिए । ‘संरचना तयार भइसकेको छ, अब रंगरोगन र भित्री सजावटको काम मात्रै बाँकी छ,’ उनले भने ।
त्यस्तै, बिचपानी क्षेत्रमा २० बेड क्षमताको अर्को गेस्ट हाउस पनि निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेको छ । आगामी आर्थिक वर्षभित्र थप एक सय बेडको गेस्ट हाउस निर्माण गरिने योजना रहेको जोशीले बताए । ‘एक सय ५० जना क्षमताको गेस्ट हाउस सञ्चालन भएपछि खप्तडमा आउने पर्यटकलाई खानबस्नलगायतको समस्या समाधान हुन्छ,’ उनले भने, ‘अहिले पर्यटक आगमन कम भएकाले ५० बेडकै गेस्ट हाउसले धानिरहेको छ । दशहरा मेलामा एकैपटक हजारौँ पर्यटक आउँदा मात्रै बासको समस्या छ ।’
यसैगरी, खप्तडमा पानीको भरपर्दो व्यवस्था गर्न लिफ्ट खानेपानी योजनाको सर्भे अन्तिम चरणमा रहेको जनाइएको छ । ‘तीन सय मिटर लिफ्ट गरेर खानेपानी ल्याउने योजना बनाइएको छ,’ जोशीले भने, ‘सर्भे र लागत अनुमान सकिएपछि निर्माण सुरु हुनेछ ।’
सडक पहुँचले पर्यटक आगमनमा सहजता ल्याउने आशा
डोटीबाट खप्तड निकुञ्जको गेटसम्म कालोपत्रे सडक पुगिसकेको छ । गेटबाट करिब तीन घण्टाको उकालो हिँडेपछि खप्तड पुगिन्छ । बिचपानीसम्म सडक विस्तार भएमा पर्यटक आवागमन थप सहज हुने होटल सञ्चालक हेमन्त बिष्टले बताए ।