भक्तपुर । नेपालकै अधिक सदस्य रहेको संस्थाको रुपमा रहेको सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले पहिलो पटक संस्थाबाहेकका अन्य व्यक्तिलाई अतिथि नबनाईकन साधारणसभा गरेको छ । १७ हजार आठ सय सदस्य रहेको भक्तपुरको सिद्धि गणेशले अजिमा पार्टी महल, स्टार बैंक्वेट र महेश्वरी बैंक्वेटमा गरी तीन ठाउँमा एकैदिन एकै समयमा शनिबार क्षेत्रगतरुपमा साधारणसभा गरेको हो । संस्थाको ३१औँ साधारणसभाले कोषाध्यक्ष जयराम गोर्खालीद्वारा प्रस्तुत आव २०८१/०८२को स्रोत तथा उपयोगतर्फ तीन अर्ब २६ करोड ३१ लाख ४३ हजार एक सय नौ रुपैयाँ र आय तथा व्यय तर्फ २५ करोड ४० लाख ९७ हजार आठ सय ५५ रुपैयाँको यथार्थ आर्थिक प्रगति प्रतिवेदन पारित गरेको थियो । आव २०८२/०८३को स्रोत तथा उपयोगतर्फ तीन अर्व ३६ करोड रुपैयाँ र आय तथा व्यय तर्फ २१ करोड ७८ लाख १२ हजार रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रमहरू पारित गरेको थियो ।
सभाले सञ्चालक समितिको तर्फबाट सचिव विष्णुप्रसाद दुमरुद्वारा प्रस्तुत आव २०८१/०८२को प्रगति प्रतिवेदन तथा आव २०८२/०८३को प्रस्तावित कार्यक्रमहरू पनि सर्वसम्मतले पारित गरेको छ । सभाले लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक रामप्रसाद लाखाजुद्वारा प्रस्तुत आव २०८१/०८२को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गर्ने निर्णय गरेको थियो । संस्थाको सञ्चालक समितिको निर्णयअनुसार आव २०८१/८२को सेयर पुँजीमा ६ प्रतिशत करकट्टीसहितको दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी संस्थाका सञ्चालक समितिको निर्णयअनुसार आव २०८१/८२ को संरक्षित पुँजी फिर्ता कोषमा रहेको रकममध्ये ५० लाख रुपैयाँ रकम नियमानुसार वितरण गर्ने प्रस्ताव पारित गर्ने निर्णय पनि साधारणसभाले गरेको छ । साधारणसभाअन्तर्गत अजिमा पार्टी महलमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले ३१ जनाबाट सुरु भएको सिद्धि गणेशमा हाल १७ हजार ६ सय सदस्य पुगेकोमा खुशी प्रकट गरे । विगतमा साधारणसभामा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणीलाई सम्मान गर्दै आएकोमा अहिले राष्ट्रिय सहकारी प्राधिकरणले कुनै पनि किसिमको उपहार, सम्मान, भोजभतेर र परिवहन खर्च नदिनु भनेकाले सोहीअनुरुप साधारणसभा मितव्ययितापूर्वक सम्पन्न गरेको जानकारी दिए ।
सहकारीका कोषाध्यक्ष जयराम गोर्खालीले बदलिंदो परिस्थिति र लगानीमा भएको कमीले गर्दा सात करोड ८७ लाख नाफा कमाउने लक्ष्य राखिएकोमा आर्थिक वर्ष २०८१/८२मा चार करोड ६४ लाख ३२ हजार रुपैयाँ मात्र नाफा आर्जन भएको जानकारी दिए । यस वर्ष खुद नाफा लक्ष्यभन्दा धेरै कम हुनुमा ऋण नोक्सानी व्यवस्था राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन बमोजिम ऋण नोक्सानी व्यवस्थामा १ करोड ६९ लाख ७ हजार व्यवस्था गर्नुपरेका कारणले पनि भएको स्पष्ट पारे ।
संस्थाका सञ्चालक रत्नश्वरी चवालले सचिवको प्रतिवेदन पेस गर्दै संस्थाको सेयर पुँजी २६ करोड २५ लाख ४५ हजार रुपैयाँ बचत तथा निक्षेप दुई अर्ब ६४ करोड २० लाख ५६ हजार, जगेडा कोष २७ करोड ५८ लाख ४५ हजार, संरक्षित पुँजी फिर्ता कोष ८२ लाख ४९ हजार छ सय १३, सहकारी प्रवद्र्धन कोष एक लाख ६४ हजार, अन्य कोषहरू दुई करोड ४५ लाख, सदस्य ऋण लगानी १ अर्ब ८२ करोड ६८ लाख २३ हजार गरी कुल तीन अर्ब २६ करोड ३१ लाख ४३ हजारको सम्पत्ति रहेको विवरण पेस गरे । संस्थाका व्यवस्थापक शिला गोसाईँले नियमनकारी निकायबाट विभिन्न समयमा जारी भएका निर्देशन र मापदण्डको परिपालना गरेकै कारण सिद्धि गणेश सहकारी सुरक्षित रहेको र जनताको मनमनमा बस्न सफल भएको बताए ।
कार्यक्रममा लेखा समितिका संयोजक रामप्रसाद लाखाजुले सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सो कार्यक्रममा सञ्चालक राजन लाखाले तीनवटा क्षेत्रगत साधारणसभाले १०–१० जना सदस्यहरूलाई निर्णय प्रमाणीकरण गर्ने व्यक्तिको रुपमा चयन गरेको जानकारी दिए । सिद्धि गणेश सहकारी संस्थाको ३१औँ वार्षिक साधारणसभाअन्तर्गत कमलविनायक स्टार बैंक्वेटमा संस्थाका सचिव विष्णु प्रसाद दुमरुको सभापतित्वमा कार्यक्रम सम्पन्न गरी १० बुँदे निर्णयसमेत पारित गरेको छ ।
कार्यक्रममा पूर्वअध्यक्ष तथा बचत उपसमितिका संयोजक कृष्ण गोविन्द लाखाजुले आव २०८१/८२को आर्थिक प्रगति प्रतिवेदन र आव २०८२/८३को अनुमानित बजेट प्रस्तुत गरेका थिए । उनले गत आवमा सेयरअन्तर्गत ७२ लाख १५ हजार पाँच सय रुपैयाँ कमी आएको उल्लेख गर्दै, उपयोग सम्पत्तितर्फ १३ करोड ५० लाख रुपैयाँ छुट्याइएको जानकारी दिए । साथै, १७ हजार सेयर बाँकी रहेकाले आवश्यक परे थप सेयर निकाल्न सकिने जानकारी दिए । संचालक समितिका सदस्य तुल्सिदास दुमरुले आव २०८१/८२को प्रगति प्रतिवेदन र आव २०८२/८३का प्रस्तावित कार्यक्रम प्रस्तुत गरे । उनले सम्पत्ति शुद्धीकरण निवारण निर्देशिकाको पालना, नीतिगत संशोधन तथा आगामी गतिविधिहरूबारे स्पष्ट पारे ।
कार्यक्रममा लेखा समितिका सदस्य हेरा ख्याजुले सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सभापति एवं सचिव विष्णुप्रसाद दुमरुले सिद्धि गणेश सहकारी संस्थाले अन्य सहकारीभन्दा बढी भरपर्दो र पारदर्शी ढंगले काम गर्दै आएको बताए । कार्यक्रममा सदस्य रमेश दुमरु, रञ्जन प्रजापति, चिरीमैया लाखाजु, सुन्दर मानन्धरसहितका बचतकर्ताको उपस्थिति थियो ।
यसैबीच संस्थाको क्षेत्र नं ५ र ६ को साधारणसभा महेश्वरी बैक्वेट थुसाचामा सम्पन्न भयो । साधारणसभामा उपाध्यक्ष विष्णुराम दुमरुले सरकारमा बसेकाहरूको राम्रो सुझबुझ नभएका कारण सहकारी संस्थाहरू समस्यामा पर्दै आएको बताए । सहकारी संस्थाहरूलाई व्यवस्थित गर्ने नाममा देशभरका सहकारी संस्थाहरूलाई एउटा नियम लागू गर्न खोज्नु उपयुक्त नभएको उनको भनाइ थियो । उनले खर्च कटौतीको नाममा हालसालै सहकारीबाहिरका अतिथिहरू ल्याएर साधारणसभा गर्न नपाउने बन्दोबस्त गर्नु पनि उचित नभएको बताए । यसो हुँंदा विज्ञका कुराहरू सुन्न नपाउने भई ज्ञानको दायरा खुम्चित गएको उनले बताए ।
साधारणसभामा संस्थाका पूर्वअध्यक्ष एवं सञ्चालक सदस्य हरिरत्न गोर्खालीले स्थानीयले चलाएको सहकारी भाग्न सक्दैन भन्दै त्यस्ता सहकारीमा रकम जम्मा गर्न डराउनु नपर्ने बताए । साधारणसभामा सञ्चालकहरू रामचन्द्र दुमरु, राधेश्याम सैंजू, सपना कवांलगायतले पनि बोलेका थिए ।